विनायकमा विश्व वातावरण दिवस मनाइयो
जेठ २३, २०८३, शनिबार | राति ०९:४३ बजे | 55
ठिमी भक्तपुर हाम्रो वातावरण हामी संरक्षक, सफा वातावरण हामी रक्षक भन्ने नारालाई मूर्त रूप दिन लागि परेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा वातावरण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण दिवसको अवसर पारेर यही जेष्ठ २२ गते विश्व वातावरण दिवस मनाइयो। फोहोरलाई मोहोर बनाआै वातावरण संरक्षणमा चेतना जगाआै भन्दै विद्यार्थीहरुले विद्यालय परिसर र आसपासका क्षेत्रहरु भुलाखेल ,कसमा तुथी र चपाचाेस्थित विश्वविनायक मन्दिर परिसर सरसफाई गरेका थिए। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले फोहोरलाई कम्पोस्ट मल बनाउने विधिबाट उद्घाटन गर्नुभएको सो कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र कुमार भट्टराईले कुचो डस्टप्याड र डस्टबिनहरू विद्यालयका हरेक कक्षाका क्लास प्रेसिडेन्टहरुलाई प्रदान गर्नुभएको थियो। कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले हरियो पोशाक लगाएर धिमे बाजा सहित वातावरण सम्बन्धी चेतना जगाउने र्यालीको आयोजना गरी आफैंले घरबाट ल्याएका बिरुवाहरू विद्यालय परिसरमा रोपेका थिए।। सो अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले कार्यक्रम भव्य र सभ्य रुपमा सफल रहोस् वातावरण संरक्षण तथा चेतना जागृत गर्ने पवित्र कार्यमा विद्यार्थीहरूको सक्रियता अझ बढेर जाओस् भन्ने शुभकामना सन्देश दिनुभयो ।कार्यक्रम विनायक इको क्लबको संयोजकत्वमा तथा विनायक प्रेसिडेन्ट क्लबको व्यवस्थापनमा आयोजना गरिएको थियो।
