रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, ३५० जनासम्मको सहभागिता
जेठ २३, २०८३, शनिबार | विहान ०९:३१ बजे | 225
भक्तपुर, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिको प्रथम जिल्ला अधिवेशन शनिबार सूर्यविनायक नगरपालिका–६ स्थित थापा पार्टी प्यालेसको सभाहलमा सुरु भएको छ।
रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेतको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले प्रमुख अतिथिका रूपमा गरेका हुन्।
अधिवेशनमा रास्वपाका केन्द्रीय सदस्य सूरज प्रधान, प्रतिनिधिसभा सदस्यहरू रुकेश रञ्जित, राजिव खत्री, प्रमिला कुलुजु र कुसुम महर्जनको उपस्थिति रहेको थियो। यस्तै, रास्वपा भक्तपुर संघीय निर्वाचन केन्द्रीय सम्पादन समिति सदस्य साजन विक, भक्तपुर RAT जिल्ला संयोजक रामकृष्ण देउजा, जिल्लाअन्तर्गतका नगर सभापतिहरू, वडा सभापतिहरू तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
करिब ३०० देखि ३५० जनासम्मको उपस्थितिमा सुरु भएको अधिवेशनलाई रास्वपा भक्तपुरको संगठन विस्तार, नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै जिल्लामा पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीतिका विषयमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
