भक्तपुरबाट ६० जना पक्राउ
जेठ १५, २०८३, शुक्रबार | राति ०९:०० बजे | 135
भक्तपुर प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन सञ्चालन गरेको विशेष अभियानअन्तर्गत १५ दिनको अवधिमा विभिन्न मुद्दाका ६० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले मिति २०८३ जेठ १ गतेदेखि १५ गतेसम्म सूक्ष्म सूचना संकलन, खोजी तथा अनुसन्धानका आधारमा फैसला कार्यान्वयनतर्फ ४४ जना तथा पेण्डिङ मुद्दातर्फ १६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार फैसला कार्यान्वयनतर्फ पक्राउ परेकामध्ये बैंकिङ कसुरका १३ जना, चेक अनादरका १८ जना, लागूऔषधका २ जना, अभद्र व्यवहारका ४ जना तथा सार्वजनिक शान्तिविरुद्धका कसुरका ४ जना रहेका छन्। यस्तै चोरी, सवारी ज्यान र लेनदेन मुद्दाका प्रतिवादी पनि पक्राउ परेका छन्। पक्राउ परेकामध्ये केहीलाई ५ वर्ष २७ दिनसम्म कैद सजाय तथा ८४ लाख ४५ हजार ८२५ रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।
त्यसैगरी पेण्डिङ मुद्दाका फरार प्रतिवादीमध्ये ठगीका ७ जना, बैंकिङ कसुरका ६ जना, चोरीका १ जना, सवारी अंगभंगका १ जना तथा जबरजस्ती करणी मुद्दाका १ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीले पक्राउ परेका प्रतिवादीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
