परम्परादेखि नवप्रवर्ध्दन बिषयक सम्वाद कार्यक्रम सम्पन्न
जेठ १५, २०८३, शुक्रबार | साँझ ०६:३६ बजे | 150
भक्तपुर
भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले संयुक्त अभियानको रूपमा सञ्चालन गरिरहेको ‘गो लोकल अन्तर्गत “परम्परादेखि नवप्रवर्ध्दन सम्वाद” कार्यक्रम सम्पन्न भएको छ। भक्तपुरको मौलिक कला, संस्कृति र स्थानीय उत्पादनहरूलाई आधुनिक बजारसँग जोड्ने उद्देश्यका साथ उक्त विचारगोष्ठी एवं प्यानल छलफल आयोजना गरिएको हो।
कार्यक्रममा आयोजित विशेष प्यानल छलफलमा सरोकारवालाहरूले भक्तपुरको सांस्कृतिक पहिचान जोगाउँदै आर्थिक समृद्धि हासिल गर्न परम्परागत सीपलाई आधुनिक प्रविधिसँग मिसाउनुपर्नेमा जोड दिएका छन्।भक्तपुर नगरपालिकाका प्रशासकिय अधिकृत बसन्त भट्टराईले स्थानीय सरकारले नगरभित्रका मौलिक अमूर्त सम्पदा, परम्परागत सीप र सांस्कृतिक पेशा संरक्षणका लागि प्राथमिकताका साथ काम गरिरहेको र उद्यमशीलताका लागि युवाहरूलाई प्रोत्साहन गरिने स्पष्ट पार्नुभयो।साथै उहाँले परम्परागत सीप हस्तान्तरणमा परिवार र समाजले अहम भूमिका खेल्ने बताउँदै नीति निर्माण गर्दा परम्परागत सीपलाई मूल्य अभिबृद्धि गर्न सके परम्परागत सीपको संरक्षण र मौलिकताको प्रवर्ध्दन हुने बताउनु भयो । उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरका कार्यालय प्रमुख, रामप्रसाद कुस्माले घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धनका लागि सरकारी स्तरबाट भइरहेका नीतिगत प्रयास, अनुदान र सीप विकासका कार्यक्रमहरूबारे जानकारी दिँदै स्थानीय उत्पादनको गुणस्तर सुधारमा जोड दिनुभयो।साथै उद्योग तथा बाणिज्य कार्यालयको सहयोगमा संचालित गो लोकल कार्यक्रमले विभिन्न मेला अन्तरक्रिया तथा छलफल कार्यक्रमबाट रैथाने उत्पादनलाई प्रोत्साहन गरिरहेको बताए ।यो कार्यक्रम देशभरका जिल्लाले पनि संचालन गर्न सके रैथाने मौलिक घरेलु तथा साना उद्योगको दिगोपन हुने बताउनु भयो ।
त्यसैगरी उद्यमी तथा भक्तपुर पर्यटन विकास समितिका संस्थापक अध्यक्ष निलकृष्ण ताम्राकारले
भक्तपुरको पर्यटन र यहाँका रैथाने उत्पादनहरू एकअर्काका पूरक रहेको चर्चा गर्दै उहाँले हस्तकला, काष्ठकला र परम्परागत उद्योगहरू नै पर्यटक आकर्षित गर्ने मुख्य माध्यम भएको बताउनुभयो।पर्यटकले नयाँ स्वाद र नयाँ अनुभवका पारखी हुने भएकोले परम्परागत उद्योगलाई प्रविधिमैत्री बनाउन नसके यहाँका हस्तकला लगायत घरेलु उद्योगहरु संकटमा पर्नसक्ने विचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले परम्परागत उद्योगलाई प्रोत्साहन गर्न ती उद्योग तथा उद्यमीहरुको कथाहरु संघर्षहरु सन्चार माध्यमबाट उपभोक्ता तथा आन्तरिक एव बाह्य पर्यटक सम्म पुर्याउन महत्वपुर्ण भूमिका खेल्ने बताउनु हुन्दै आफुले पत्रकारीता गर्दा भक्तपुरको माटाका भाँडा बनाउने (प्रजापति) पेशा संकटमा पर्न सक्ने र बिस्तारै लोप हुन सक्ने अवस्था देखिएको थियो। कच्चा पदार्थ (कालो माटो) को अभाव र आधुनिक प्लास्टिक जन्य सामग्रीहरूको बढ्दो प्रयोगले यो पेशा चुनौतीपूर्ण बनेको थियो। यो पेशालाई बचाउन युवापुस्तालाई आकर्षण गर्न प्रविधिको विकास गर्नु पर्छ भनी गरेको समाचार तयार गरेको थिए र अहिले सोही स्थानमा युवाहरु आधुनिक प्रविधि प्रयोग गरी बजारको मागअनुसार परिमार्जन र ब्रान्डिङ गर्न गरिरहेको देख्दा परम्प खुशी लागेको बताउनु हुन्दै समाज परिवर्तनको सवाहक पत्रिका रहेको बताउनु भयो ।
कार्यक्रमको सहजीकरण प्रख्यात सामाजिक अभियन्ता अनिल चित्रकारले गर्नुभएको थियो। उहाँले 'इन्नोभेसन' (नवीनतम् प्रयोग) को महत्त्वमाथि प्रकाश पार्दै परम्परागत पहिचानलाई नगुमाई कसरी नयाँ पुस्तालाई व्यवसायिक रूपमा आकर्षण गर्न सकिन्छ र 'गो लोकल' अभियानलाई व्यवहारमा उतार्न सकिन्छ भन्ने विषयमा संवादलाई अगाडि बढाउनुभएको थियो।साथै उहाँले परम्परागत उद्योगको पक्षमा सिंगो सचेत समाज जुट्नु पर्नेमा जोड दिन्दै भक्तपुरका हरेक व्यक्ति नै परम्परागत उद्योगको ब्रान्ड एम्वस्डोर बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय उद्यमी, बुद्धिजीवी तथा संस्कृतिविद्हरूको विद्यार्थीहरु उपस्थिति रहेको थियो। सहभागीहरूले भक्तपुरको मौलिकता, कला र संस्कृतिलाई जोगाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न यस्ता अभियान र संवादहरू निरन्तर भइरहनुपर्ने धारणा राखेका थिए।
