‘यल नेवाः महोत्सव’ सुरु


जेठ १५, २०८३, शुक्रबार | साँझ ०६:५५ बजे | 120


‘यल नेवाः महोत्सव’ सुरु

नेवाः कला, संस्कृति र परम्परागत पेशाको भव्य प्रदर्शनी

ललितपुर । नेवाः समुदायको परम्परागत पेशा, मौलिक कला–संस्कृति तथा संस्कारलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाटन दरबार क्षेत्रमा ‘यल नेवाः महोत्सव’ सुरु भएको छ। यल नेवाः समाजले ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको सहयोगमा आयोजना गरेको महोत्सवमा नेवाः समुदायको सांस्कृतिक पहिचान झल्काउने करिब १५ वटा स्टल राखिएका छन्।

महोत्सवमा हस्तकला, खाद्य परिकार, धार्मिक तथा सांस्कृतिक सामग्रीसहित विभिन्न जातीय समुदायका परम्परागत सीप र पेशा प्रस्तुत गरिएको छ। महोत्सवमा बौद्ध विहार संघद्वारा विभिन्न संस्कारमा प्रयोग हुने सामग्री, ताम्रकार समाजद्वारा तामा–पित्तलका भाँडाकुँडा, नकर्मी समाजद्वारा फलामका औजार, स्यस्यः समाजद्वारा खाद्य सामग्री तथा सिकमी समाजद्वारा काष्ठकलाका सामग्री प्रदर्शन गरिएको छ। महोत्सव उद्घाटन गर्दै वडा अध्यक्ष निर्मलरत्न शाक्यले नेवाः समुदायको एकता, सामूहिकता र सहकार्यको भावनाले कला–संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले संस्कृति, सम्पदा, नेपाल भाषा तथा मौलिक कला संरक्षणका लागि नेवाः समुदायबीच एकता र सहअस्तित्वको भावना अझ बलियो बनाउन आवश्यक रहेको बताउनुभयो। यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्यले ललितपुरका २१ जातीय समाज, खलः र पुचलाई एकीकृत गरी स्थापित समाजले समन्वय, सहकार्य र सामूहिकताको भावनासहित काम गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले साझा लक्ष्य हासिल गर्न एउटै समाजको प्रयास पर्याप्त नहुने भएकाले सबै समुदायलाई जोड्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको स्पष्ट पार्नुभयो। त्यसैगरी, महासचिव सञ्जयशर्मा राजोपाध्यायले स्थानीय तहले ललितपुरका सबै समाजलाई बजेट तथा नीतिगत छलफलमा अनिवार्य सहभागी गराउनुपर्ने धारणा राख्नुभयो। शनिबारसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत जेठ १६ गते बिहान वाग्मती प्रदेशमा नेपाल भाषाको प्रयोग सम्बन्धी विशेष छलफल कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय महासचिव श्रीकृष्ण महर्जन र नेपाल भाषा मंका खलःका पूर्वअध्यक्ष किरण शाक्यले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सव अवधिभर प्रत्येक साँझ नयाँ तथा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। महोत्सव सुरु हुनुअघि पाटन क्षेत्रमा सांस्कृतिक र्‍यालीसमेत आयोजना गरिएको थियो

फाेटाेमा हेर्नुहाेस्...

‘यल नेवाः महोत्सव’ सुरु

Comments