समाज,दर्शन र विद्रोहको सेतुको रुपमा त्रिकुटी विमोचन
बैशाख २७, २०८३, आइतबार | दिउँसो ०२:४४ बजे | 15
बैशाख २६,काठमाडौं । जयराम बिडारी शब्दार्थ प्रकाशनको आयोजनामा तीन स्रष्टाहरू विश्वराज अधिकारी, डा. कुसुमाकार शर्मा गौतम र खेमराज पोखरेलद्वारा संयुक्त रूपमा लेखिएका लघुकथासङ्ग्रह ‘त्रिकुटी’ शनिबार काठमाडौंमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित एक विशेष समारोहका बीच उक्त कृतिको लोकार्पण गरिएको हो । अग्रज तथा पाका स्रष्टा एवं छन्दकवि प्राध्यापक पीताम्बर दाहालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिका रुपमा नेपाली साहित्य नारीरत्न’ पुरस्कारबाट पुरस्कृत भागीरथी श्रेष्ठले कृतिको घूँघट उघार्दै लघुकथाले थोरै शब्दमा समाजको ठुलो यथार्थ बोल्नुपर्नेमा जोड दिनुभयो । वहाँले स्रष्टाहरूको कथा बुनोटको नवीन शैली र कौशललले कृतिमा प्राण दिएको भन्दै विषयवस्तुको प्रशंसा गर्दै कृति सफलताको शुभकामना व्यक्त गर्नुभयो । कृतिभित्रको पहिलो खण्ड ‘युद्ध’ लघुकथा सङ्ग्रहमाथि बोल्दै सुप्रसिद्ध समीक्षक महेश पौडेलले विश्वराज अधिकारीका कथाहरूलाई ‘मितव्ययी लेखनको नमुना’ संज्ञा दिनुभयो। पौडेलका अनुसार अधिकारीका कथाहरूमा राष्ट्रभक्तिको भावना र विसङ्गतिप्रति कडा प्रहार पाइन्छ। विशेष गरी ‘यौनहडताल’ जस्ता विषयलाई उठान गरेर लेखकले समाजको एउटा छोपिएको पाटोलाई बेजोड रूपमा प्रस्तुत गरेका छन्। पौडेलले भन्नुभयो, “लेखक शब्द खर्च गर्नमा लोभी देखिनुहुन्छ, तर त्यसको भाव भने निकै उदार र क्रान्तिकारी छ । यसैगरी समीक्षक डा. दीनबन्धु शर्माले खेमराज पोखरेलद्वारा लिखित ‘आवृत्ति’ खण्डको अत्यन्तै सूक्ष्म एवं ‘परमाणु समीक्षा’ गर्नुभयो। सङ्ग्रहका २५ वटा कथाहरूको चिरफार गर्दै शर्माले भन्नुभयो, “यी केवल कथाहरू होइनन्, बरु गुनासो र क्रन्दनले भरिएको जीवनमा नयाँ सपना देख्न सिकाउने आँखाहरू हुन्।” उहाँले कृतिको एक प्रसङ्गलाई जोड दिँदै भन्नुभयो— भेष बदलेर बलात्कार गर्ने देवताहरू भन्दा आपसी सहमतिमा सहवास गर्ने मानिसहरू कसरी अनैतिक हुन सक्छन्? यस्ता दार्शनिक र नैतिक प्रश्नहरूले पोखरेलका कथालाई ओजिलो बनाएको उहाँको ठम्याइ थियो । सोही क्रममा नियात्राकार एवं समीक्षक डा. नवराज खतिवडाले डा. कुसुमाकार शर्मा गौतमको ‘प्रत्ययी’ खण्डमाथि आफ्नो धारणा राख्नुभयो । खतिवडाका अनुसार डा. गौतमका कथाहरूमा ‘हाइब्रिड’ शैलीको प्रयोग गरिएको छ, जसले कथामा नाटकीय स्वाद भर्छ। समाजका साना लाग्ने तर गम्भीर प्रभाव पार्ने घटनाहरूलाई लेखकले व्यङ्ग्यात्मक शैलीमा उतारेका छन्। कथाहरू छोटो वाक्य संरचनामा भए तापनि तिनले दिने चोट भने निकै गहिरो रहेको डा. खतिवडाले उल्लेख गर्नुभयो । लघुकथालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले डा. कुसुमाकार शर्मा गौतमको कृति ‘अविश्रान्त’ माथि डियर वाक स्कुल, सिफलका विद्यार्थीहरूबीच समीक्षा प्रतियोगिता गराइएको थियो । सो प्रतियोगितामा प्रथम हुने सुविज्ञराज खरेल, द्वितीय अमु शाक्य र तृतीय अनुश्री आचार्य त्यस्तै, अनुज दवाडी, अग्रज रिजाल, सम्मान सेढाईँ, आकाङ्क्षा खरेल, कृश पोखरेल, कुशल ढुङ्गाना र समीहा नेपाललाई सान्त्वना पुरस्कार प्रमुख अतिथिको हातबाट प्रदान गरिएको थियो । सोही अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति एवं भूमिकाकार प्रा.डा. यादवप्रकाश लामिछानेले ‘त्रिकुटी’ ले नेपाली लघुकथाको भण्डारमा एउटा इँटा थपेको बताउँदै शुभकामना व्यक्त गर्नुभयो। लेखक कुसुमाकार शर्मा गौतमले अभ्यागतहरूलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो भने अर्का लेखक खेमराज पोखरेलले कार्यक्रमा उपस्थित सबैप्रति आभार प्रकट गर्नुभयो । अन्तमा, सभापति प्रा.पीताम्बर दाहालले साहित्यले समाजलाई जहिल्यै सचेत गराउने र ‘त्रिकुटी’ भित्रका कथाहरूले मानिसलाई सोच्न बाध्य बनाउने विचार राख्दै सभा विसर्जन गर्नुभयो । विमुन्स पौडेलद्वारा काव्यिक रुपमा सञ्चालन गरिएको सो समारोह एउटा कृतिको विमोचन मात्र नभएर वैचारिक बहसको थलो समेत बनेको थियो ।
