नयाँ सबै राम्रो हुँदैन
बैशाख २७, २०८३, आइतबार | दिउँसो ०१:५३ बजे | 270
विश्वास ग्वाछा
परिवर्तन खोज्छन् सबै, म पनि खोज्छु यो देशमा,
तर भोट हाल्दा किन बग्छौ, भेडाझैँ भीडको हुलमा?
यो विरोध होइन साथी, मेरो सानो जिज्ञासा हो,
परिवर्तनको नाममा, आखिर के भइरहेको छ?
कपाल सेतो देख्दैमा, विचार बुढो हुँदैन,
उमेर कम हुँदैमा, मान्छे असल हुँदैन।
समयअनुसार फेरिनु पर्छ, मलाई यो थाहा छ,
तर योग्यता नहेरी भोट दिनु, ठूलो सास्ती छ।
नयाँ हुँदैमा सब राम्रो, पुरानो सब खराब हैन,
उम्मेदवार नचिनिकन भोट दिनु, भलो कहिल्यै हुँदैन।
देशको माया नबोकी, सस्तो प्रचारमा रमाउने,
के हामी साँच्चै परिवर्तन, तिनैबाट पाउने?
युवा भनेको उमेर हैन, जोश र जाँगर हो,
देशको हित सोच्ने मान्छे, साँच्चैको युवा हो।
भ्रष्टाचार नबोक्ने अनि सिद्धान्तमा अडिने,
त्यो हो साँचो नेता, जनताको सेवा गर्ने।
खोई कालापानी, लिपुलेक, लिम्पियाधुराको अडान?
निशुल्क स्वास्थ्य–शिक्षामा किन छैन यहाँ ध्यान?
सार्वभौमिकता साटेर खोज्छौ सस्तो लोकप्रियता,
देशभक्त युवा हौ भने, फालिदेऊ विदेशीको प्रावधान।
माननीय बन्छौ यदि, जनमुखी कानुन बनाऊ,
देशघाती सम्झौता तोडी, विदेशी हस्तक्षेप हटाऊ।
जनताको पिरमर्कामा संसदभित्र बुलन्द गर आवाज,
नत्र कठपुतली बनेर, इशारामा ननाच– विवेक जगाऊ।
सांसद बन्न योग्यता र अनुभवको खाँचो पर्दछ,
प्रचारबाजीको भेलमा, विवेक किन मर्दछ?
देश विकास गर्ने हो भने, सिद्धान्तनिष्ठ युवा चाहिन्छ,
स्वार्थभन्दा माथि उठ्ने, कर्मठ यो देशलाई चाहिन्छ।
