ख्वप स्कुल देशभरका २८ औं उत्कृष्टमा


बैशाख २७, २०८३, आइतबार | दिउँसो ०३:२५ बजे | 230


ख्वप स्कुल देशभरका २८ औं उत्कृष्टमा

एजुकेशन समाचार नामक अनलाइन मिडियाले भक्तपुरका ख्वप सेकेण्डरी स्कुललाई देशभरका सर्वोत्कृष्ट २८ औ दस जोड दुई कक्षा पढाई हुने स्कुल रहेको सार्वजनिक गरेको छ । नेपालका उत्कृष्ट ३० माविहरु २०८३ शीर्षकमा उसले यो समाचार प्रकाशित गरेको हो । यो नामावलीमा परेको भक्तपुर जिल्लाको ख्वप मात्रै एउटै रहेको समाचारमा उल्लेख छ । 
बाँकी अनलाइनबाटै 
देशभर कक्षा ११ र १२ अध्यापन गराउने ४ हजार ९ सय २४ माविहरु छन् । तीमध्ये सबैभन्दा अब्बल मावि कुन होला ? यही प्रश्नको उत्तर खोज्दै एजुकेशन समाचार डटकमले यस वर्ष पनि देशभरका अब्बल माविहरुको छनोट गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशित गर्दै आएको छ । बोर्डले वि.सं. २०७९ सालबाट रिजल्टमा ‘नन ग्रेडिङ (एनजी)’ प्रणाली लागु गरेको हो । कक्षा ११ को परीक्षा माविहरुलाई ‘होम सेन्टर’का रुपमा आफ्नै माविमा सञ्चालन गर्ने अधिकार दिइएको छ । कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्छ ।
राष्ट्रिय परीक्षा बोर्डले ‘नन ग्रेडिङ’ प्रणाली लागु गरेपछिका पछिल्ला तीन वर्षको कक्षा १२ को नतिजालाई हामीले अब्बल माविहरु छनोटको प्रमुख आधार बनाएका छौं । रिजल्टसँगै लगातार पछिल्ला तीन वर्षमा ४ सय ८० विद्यार्थी बोर्ड परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, स्थापना वर्ष र पब्लिक पर्सेप्सनका आधारमा अब्बल माविहरु छनोट गरिएको हो ।
कक्षा ११ को परीक्षा आफ्नै विद्यालयमा सञ्चालन हुने भएकाले त्यसलाई अब्बल मावि छनोटको मापदण्ड बनाइएको छैन । अब्बल माविहरु छनोट गर्ने क्रममा सुरुमा पछिल्ला तीन वर्षमा लगातार ४ सय ८० भन्दा बढी विद्यार्थीलाई कक्षा १२ को बोर्डको परीक्षामा सहभागी गराउने माविहरुलाई छनोट गरियो । त्यसबाट सर्टलिष्ट भएर वि.सं. २०८० सालमा ११९ मावि, २०८१ सालमा ९४ मावि र २०८२ सालमा १०१ माविहरु छनोट भए । तर, ती माविहरुबाट केही माविहरु तीन वर्ष लगातार ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी नगराएका कारण प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
लगातार पछिल्ला तीन वर्ष नै राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ४ सय ८० विद्यार्थी सहभागी गराउने ७६ वटा माविहरुबाट उत्कृष्ट रिजल्टका आधारमा टप ३० माविहरु छनोट गरियो । उत्कृष्ट ३० मा परेका माविहरुलाई भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, स्थापना वर्ष र पिपुल्स पर्सेप्सनका आधारमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४–४ प्रतिशतमा मार्किङ गरेर सबै जोडेर कुल अंकमा आधारमा वि.सं. २०८३ का उत्कृष्ट ३० माविहरु निकालिएको हो ।

From educationsamachar.com.np

एजुकेशन समाचारबाट 

सामुदायिक विद्यालय भएर उत्कृष्ट नतिजाका कारण अब्बल माविमा पर्छ भक्तपुरस्थित ख्वप सेकेण्डरी स्कुल । वि.सं. २०५६ सालबाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायको पढाइ हुन्छ । सामुदायिक विद्यालय भएकाले यहाँका सबै शिक्षक तथा कर्मचारीले सामुदायिक भावना राख्छन् ।

त्यसैले पनि ख्वप अब्बल मावि बन्न बल पु¥याएको प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘अब्बल नतिजाको कारण टिमवर्क, शिक्षकको मेहनत र डेडिकेशन हो,’ उनी भन्छन्, ‘हामीले इभालुएसन सिष्टम बनाएका छौं ।’ त्यसबाहेक प्रवेश परीक्षाबाट उत्कृष्ट विद्यार्थीहरु छनोट, विद्यार्थी तथा अभिभावकको मेहनतका कारण पनि निरन्तर अब्बल नतिजा ल्याउन सकिएको उनको भनाइ छ ।

सिट संख्या
विज्ञानः ७ सय
व्यवस्थापनः ६ सय ५०
मानविकीः ९०
शिक्षाः ४०
कानूनः ५०

वार्षिक शुल्क
विज्ञान : ७२ हजार रुपैयाँ
व्यवस्थापन : ४६ हजार रुपैयाँ
मानविकी : ४६ हजार रुपैयाँ
कानून : ४६ हजार रुपैयाँ
शिक्षा : ३५ हजार रुपैयाँ

Comments