जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा सामुदायिक वनको सक्रियताः चाँगुनारायणमा मौसम सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण
बैशाख २७, २०८३, आइतबार | साँझ ०४:५६ बजे | 75
भक्तपुर, २७ वैशाख २०८३ विश्वव्यापी चुनौतीको रूपमा रहेको जलवायु परिवर्तन र यसले निम्त्याउने अनपेक्षित प्राकृतिक विपद्को सामना गर्न पूर्वसूचना प्रणालीको भूमिका निर्णायक बन्दै गएको छ । यसै संवेदनशीलतालाई आत्मसात गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) जिल्ला महासंघ भक्तपुरको आयोजनामा चाँगुनारायणमा ‘मौसम तथा जलवायु सूचना सेवा प्रणाली सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल चाँगुनारायण मन्दिरको सान्निध्यमा आयोजित उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका भित्रका २७ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो । जलवायु परिवर्तनको वर्तमान प्रभावले वन, वन्यजन्तु र स्थानीय जनजीवनमा गम्भीर असर पारिरहेको परिप्रेक्ष्यमा आयोजित यस कार्यक्रममा मौसम पूर्वानुमान र पूर्वसूचनालाई कसरी वन व्यवस्थापनसँग जोड्ने भन्ने विषयमा केन्द्रित छलफल भएको थियो । कार्यक्रमका प्रशिक्षक एवं फेकोफन भक्तपुरका कोषाध्यक्ष अञ्जना नेपालीले सहजीकरण गर्दै मोबाइल एप र डिजिटल माध्यमबाट प्राप्त हुने मौसम सम्बन्धी जानकारीले डढेलो नियन्त्रण र कृषि प्रणालीमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने प्राविधिक पक्षबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो,"अबको समय केवल अनुमानको भरमा वन जोगाउने होइन, वैज्ञानिक सूचनाको आधारमा पूर्वतयारी गर्ने हो ।" कार्यक्रमका प्रमुख अतिथि एवं चाँगुनारायण नगरपालिकाको वन तथा वातावरण समिति प्रमुख सोम प्रसाद प्रधानले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न स्थानीय सरकार र उपभोक्ता समूह बीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "मौसम सम्बन्धी सही सूचनाले विपदबाट हुने क्षतिलाई ८० प्रतिशतसम्म कम गर्न सक्छ । नगरपालिकाले यस्ता सूचना प्रणालीलाई वडा तहसम्म पुर्याउन प्रतिबद्धता जनाउँछ ।" अतिथिको रूपमा बोल्दै वातावरण क्षेत्रमा एकदशकदेखी भक्तपुर जिल्ला र जिल्ला बाहिर कार्य गर्दै आएको सामाजिक संस्था 'राष्ट्रको लागि २ घण्टा अभियान'का महासचिव नबराज काफ्लेले वातावरण संरक्षण केवल सरकारी दायित्व मात्र नभएर हरेक नागरिकको अभियान हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी चाँगुनारायण नगरपालिका भित्रका २७ वटा वन समूहका प्रतिनिधिहरूले मौसम सम्बन्धी सूचना प्रणालीको प्रयोग र जलवायु परिवर्तनका सूचकहरू पहिचान गर्ने तरिकाबारे प्रयोगात्मक ज्ञान प्राप्त गरेका थिए । बढ्दो तापक्रम, अनियन्त्रित वर्षा र लामो खडेरी जस्ता मौसमी परिवर्तनले वनका प्रजातिहरूमा पारेको प्रभावबारे सहभागीहरूले आ-आफ्ना अनुभव सुनाएका थिए । फेकोफन भक्तपुरका उपाध्यक्ष मन्जु थापा, सचिव रमिला कार्की र सदस्यद्वय हरिशरण बस्नेत एवं पवित्रा तिम्सिनाको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रममा वन डढेलोको जोखिम कम गर्न सूचना संयन्त्रको विकास गर्ने प्रतिबद्धता समेत जनाइएको थियो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवं फेकोफन भक्तपुरका अध्यक्ष पार्वती नगरकोटीले सामुदायिक वनहरूलाई केवल काठ-दाउराको स्रोतका रूपमा मात्र नहेरी जलवायु अनुकूलनको 'प्रयोगशाला'का रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "हाम्रा उपभोक्ताहरू अब मौसमको सूचना पाएपछि मात्र वनको कार्ययोजना बनाउने स्तरमा पुग्नुभएको छ, यो नै यस अभिमुखीकरणको ठूलो उपलब्धि हो ।" यस कार्यक्रमले चाँगुनारायण क्षेत्रका सामुदायिक वन उपभोक्ताहरूलाई मौसमको पूर्वानुमान बुझ्न र सम्भावित जलवायुजन्य जोखिम विरुद्ध ढाल बनेर उभिन नयाँ उर्जा प्रदान गरेको छ ।
