दुई दिन विदा
बैशाख ६, २०८३, आइतबार | दिउँसो ०३:३६ बजे | 60
आर.के. विद्राही
भोकै पेटले सपना बोके,
आशा राखे शिक्षा माथि,
आफ्नै छाक काटेर पनि
भविष्य खोजे नानी माथि ।
युद्ध समयले साथ नदिँदा,
अर्थतन्त्रले थिच्दा भारी,
दुई दिन विदाको निर्णयले
अभिभावकलाई बढायो पीडा सारी ।
दुई दिनको स्कुल बिदा,
बालमन भयो अलमल,
मोबाइल, टिभीको छायाँमा
हराउँदैछ उज्यालो पल ।
पढाइ घट्दै, समय टर्दै,
भविष्य हुन्छ अनिश्चित,
लामो कक्षाले थाक्छ मन,
सपना बन्छन् अलिकति क्षीणित ।
अभिभावकको एउटै चाहना—
सुनियोस् तिनको आवाज,
छलफल, समझदारीसँग
बनोस् नीतिको नयाँ साज ।
बालमैत्री शिक्षा फुलोस्,
मन, मस्तिष्क होस् सबल,
भोलिको देश उज्यालो बनाउन
आजको निर्णय होस् सफल ।
भोकै पेटले सपना सिँच्ने,
शिक्षामा आशा बोकेका बुबाआमा,
तर नीतिको हतारो चालले
झन् बढायो चिन्ताको छाया ँ।
दुई दिनको लामो बिदाले
पढाइ टाढा, कुलत नजिक,
बाल मन, भविष्य र सपना
अल्झिन्छन् अनिश्चित दिशातिर ।
हाम्रो चाहना सरल छ —
सुनियोस् अभिभावकको आवाज,
बालमैत्री शिक्षा बनोस्,
उज्यालो होस् भोलिको आज ।
धन्यवाद !
