बलिदान चलचित्रको पात्र सुनिता म...
बैशाख ५, २०८३, शनिबार | राति ०७:०० बजे | 220
अर्जुन कोन्दा
बलिदान चलचित्रको पात्र सुनिता म बौरिएको छु, रोशीको बगरमा ।
मेरा हातका औँलाहरु विस्तारै चलमलाउन थालेका छन् । रोशीको बगरमा पुरिएको मेरो आत्मा नजिकको क्रसरले ब्युिँझन पुग्यो । हुन त मेरो शरीर उहिल्यै मरिसकेको थियो ।
मेरो लुटिसकेको अस्मिता म सम्झन चाहन्नँ । मेरो लुछिएको शरीरलाई दुष्टहरुले रोशीको बगरमा उहिल्यै मिल्काइसकेका थिए । धन्न गाउँलेहरुले देखे, र त अग्निमा मिलाए । केको न्याय? केको अनुसन्धान? अनुसन्धान गर्नेहरुले नै मलाई लुछे र बगरमा मिल्काएका थिए । मेरो लुछिएको शरीरलाई मेरी प्यारो आमाले कति उठाउन खोजेका थिए, तर मेरो आत्मा खेतको दिल हुँदै रोशीको बगरमै अड्किन पुग्यो ।
कति दिन बिते, कति रात हराए, मेरो आत्मा चैँ रोशीको बगरमा अझै कैद थियो ।
वर्षौसम्म बालुवामुनि मेरो अभौतिक शरीर दबिएको थियो ।
हिजोजस्तै लाग्छ, गाउँले दाजुले अदम्य क्रान्ति रोक्दैन, गोलीले जनताको आवाज दब्दैन भनेको। तर भन्नेहरु नै मरिसकेका थिए । जो बाँचे, सिहंदरबार पुगे । कोहि बालुवाटारमै रम्न थाले । कसैलाई मेरो याद नै आएन ।
रक्त क्रान्तिको ज्वालामुखी भन्दै उफ्रिनेहरु नै देशी सराबमा भुल्न लागेपछि मजस्तो निर्दोष चेलीको आँसु पुछोस् पनि कसरी ?मेरो चिताको खरानीबाट महल चुम्नेहरुले नै सिंहदरबारलाई बन्धकीमा राख्दा पनि म केहि गर्न सक्दिनथे ।
क्याप्टेन साप, तपाईले अरु देशको लागि लड्नु भो, अब आफ्नो देशको लागि लड्नुस् भन्ने अर्जुनले सहादत प्राप्त गरेको पनि धेरै भयो । व्यवस्था ढल्यो, सिंहदरबारमा जम्मा हुने जमात बदलियो, तर जनताको अवस्था कहिल्यै बदलिएन ।
रोशीको बगरमा निसासिएको आत्माले जुन् सपना देख्यो, त्यो कहिल्यै पूरा भएन ।
हिजो एकाएक मुटुको धडकन बढ्न थाल्यो । रोशी बगरमा रहेको क्रसर मिलमा एउटा गीत बज्यो,
गाइ त बाँध्यो , ढुङ्ग्रोमा मोहि छैन, गरीबको चमेली बोल्दिने कोहि छैन...............रातो भाले ढुरीमा करायो....गरीबको चमेली, निद सबै हरायो.....
धनीलाई धनमा धनै छ, गरीबलाइए चमेली ऋणमाथि ऋणै छ.... धनीलाई चैनमाथि चैन, गरीबलाई सधैँ ऐनमाथि ऐन......................हुनुपर्छ सबैलाई बराबर ।
गीतको धूनसँगै मेरो आत्मा फेरि बौरियो । गीतको बीचमा के के भन्यो, भन्या,े मैले टिप्न सकिनँ, बुझ्न सकिनँ । तैपनि एकचोटि काठमाण्डौ घुम्ने इच्छा बन्न थाल्यो ।
मेरो अभौतिक शरीरलाई गाडी भाडा तिर्नै परेन, डिजेलको मूल्य र गाडी भाडा वृद्धिले पनि खासै असर गरेन । राजमार्गको छेउछाउमा रहेका केहि सटरहरु सडकको धूलोले सुनौला देखिए ।
बिग्रेको बिपी राजमार्ग हुँदै म काठमाण्डौँ हानिएँ ।
धुलिखेलदेखि जगातीसम्म बाटो बन्दै रहेछ । धुलो र हिलोसँग मितेरी लाउँदै जसोतसो माइतीघर पुगेँ । दायाँ लाग्दा सर्वोच्च अदालत देखेँ, कालो न कालो थियो, वकिलको कोटजस्तै । अलिपर सिंहदरबारको सेतोपन हराइसकेको रहेछ । भत्केको धरहरासँगै झिल्के टावर बनिसकेको रहेछ । पैसा नतिरी सुनधारामा सर्वसाधारण छिर्न नमिल्ने रहेछ । टावर चढ्ने मन भएन ।
रत्नपार्कमा एकक्षण अलमलिएँ, फुटपाथमा एकजना व्यक्ति अखबार पढ्दै थिए, अखबारमा सिंहदरबारको मालिक फेरिएको खबर पाएँ । अर्का भाइ मोबाइलमा चल्दै रहेछ, मोबाइलमा उही गीत बज्दै थियो, जुन् क्रसरमा बज्दै थियो । अलि पर अर्को मोबाइलमा सिहंदरबारका मालिकहरुको फोटो थियो । ती सबै स्वर्णीम थिए । किलोका किलो सुनका मालिकले गरीबको चमेली गाएर सिंहदरबार छिरेको सत्य उजागर भयो र त सिहंदरबारसँगै मालिकहरुको कोट पनि कालो नै रहेछ । अरु अन्दाज गर्नै परेन ।
गरीबको चमेली भनेर मलाई बौराउने सुनको थालमा खानेहरु पो रहेछन्, गरीबको चमेली ऋणमाथि ऋणै छ भन्नेहरु त धनको भकारीमा हो कि सहकारीमा रम्ने पो परेछन् । मन बेस्सरी पोल्यो । हिजो कसैले जनतालाई सपना उन्न लगाएर सिंहदरबार कजे, आज त जलाइछाडे । आज पनि कथा उही छ, बजार भाउले आकाश छोएको छ । म सुनिता व्यर्थैमा ब्युँझिएछु । घण्टाघरमा बाह्र बजेको घण्टी बज्यो । जमलबाट महाराजगञ्जतिर सार्वजनिक गाडी गुड्यो । म त हेरेको हेरै भएँ ।
गाउँ गाउँबाट, बस्ती बस्तीबाट यो देशको मुहार फेर्न भनी उठेकाहरु, हातमा कलम लिएकाहरु, बाजा बजाउन जान्नेहरु, बाजा लिएर उठेकाहरु जेन्जीको नाम भजाउँदै सिंहदरबार पो जलाउन पुगेछन् । गणतन्त्र हो कि गण तन्त्र थाहा भएन । गोली लागी ढलेका विद्यार्थी र म कोशी बगरमा रुमलिएकी सुनितामा केहि अन्तर रहेन । सत्ता सिंहदरबारबाट महाराजगञ्जतिर सरेको हो कि महाराजगञ्ज सिंहदरबारमा सरेको अन्यौलमा छु । सर्वोच्चको कालो भित्ता र कालो कोट आपसमा मिलेको छ । त्यो कालो रङ्ग सिंहदरबार, सर्वोच्च हुँदै राज्यको हरेक सार्वजनिक सम्पतिमा पुगेको छ । र त देशको प्रधानमन्त्री कालो कोट र कालो चस्मामा ह्यान्डसम देखिएका छन् । कालो रङ्गको रहस्य अदभूत छ, सडकमा हिड्ने अघोरी बाबाको कालो पहिरन र कथित कालो जादूजस्तै ।
मेरो सपनाको अब मूल्य रहेन । अरुले देखेको सपना कहिल्यै आप्mनो नहुने रहेछ । मेरो सपना पञ्चायत कालमै रोशीको पानीमा मिली सकेको थियो । बहुदल आयो, गणतन्त्र आयो । तर जनताको दिन कहिल्यै आएन । मेरो सपना अधूरो नै रह्यो । गरीब भएर जन्मिएँ, गरीबीमै मरेँँ । यो भन्दा ठूलो पाप अरु गर्न सक्दिनँ । मलाई माफ गर्नुहोस्, म अब यो स्वर्ण अलंकापुरी नगरीमा रहन सक्दिनँ ।
फगत इच्छा थियो, मेरो बलिदानमा टेकेर सपना उन्नेहरुले के गरे भनेर हेर्नु थियो । यतिको लागि म सुनिता दिदी बाँचिएकी रहेछु ।
म फेरि रोशीको बगरमा अचेत अवस्थामा फर्र्किएँ । कमसेकम रोशीको बगरमा रम्न सक्छु्र्र्र्र्र्र्र्र्र्र्र ।
