गङ्गाप्रसाद भेटवालकृत उपन्यास ‘विश्वकर्मा भोजनालय’ सार्वजनिक


बैशाख ३, २०८३, बिहीबार | राति १०:५० बजे | 170


गङ्गाप्रसाद भेटवालकृत उपन्यास ‘विश्वकर्मा भोजनालय’ सार्वजनिक

जयराम बिडारी

काठमाडौं

'पर्दाभित्र' उपन्यास मार्फत साहित्यिक क्षेत्रमा परिचर्चा कमाउन सफल स्रष्टा गङ्गाप्रसाद भेटवालको दोस्रो उपन्यास ‘विश्वकर्मा भोजनालय’ सार्वजनिक गरिएको छ । बुधवार बागबजारस्थित प्राज्ञिक बुक्सबाट उक्त कृतिलाई हालै बजारमा ल्याइएको हो । जातीय समानताको आवाजलाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस उपन्यासले नेपाली समाजमा विद्यमान विभेद र सामाजिक न्यायको मुद्दालाई सशक्त रूपमा उठान गरेको छ । स्रष्टा भेटवाल पेसाले कानुन व्यवसायी हुन् भने पदयात्रा नेपालका महासचिवका रूपमा सामाजिक अभियानमा समेत उत्तिकै सक्रिय छन् । नेपाली भाषा साहित्यमा विशेषगरी लोक-साहित्य, कविता र कथा विधामा लामो समयदेखि कलम चलाउँदै आएका भेटवालले यसपटक उपन्यास मार्फत समसामयिक सामाजिक यथार्थलाई पाठकमाझ ल्याएका छन् । एउटा कुशल सामाजिक अभियन्ता र स्रष्टाका रूपमा चिनिने उनले आफ्ना सिर्जनामा सधैँ समाजको वास्तविक तस्बिर उतार्ने प्रयास गर्दै आएका छन् । सार्वजनिक भएको यस नवीन कृति ‘विश्वकर्मा भोजनालय’ को सफलताको कामना गर्दै साहित्य अनुरागीहरूले भेटवालको लेखनीको प्रशंसा गरेका छन् । पुस्तक सार्वजनिक गरिने परम्परागत शैली भन्दा भिन्न रुपमा सार्वजनिक गरिएको सो समारोहमा अभ्यागतहरु सवैले सामूहिक रुपम पुस्तकको सार्वजनिकीकरण गरेका थिए । पुस्तकमा भूमिका लेखनको जिम्मेवारी समेत निभाएका दलित अध्येता एवं लेखक मेघेन्द्र विश्वकर्माले समतामूलक समावेशी र पारस्परिक सम्मानयुक्त समाजको सन्देशलाई भेटवालले उठाएको बताए । उनले आर्थिक सामाजिक सांस्कृतिक र धार्मिक विभेदको परम्परावादी संरचनालाई विनाश गरी समतामूलक समाजको निर्माणका लागि सशक्त आवाज मुखरित गरेको बताए । सिमान्तकृत जातीका रुपमा आफूले पनि भोग्नुपरेको अनेकौं हण्डर र ठक्करको प्रसंग उल्लेख गर्दै विश्वकर्मा भोजनालय जस्ता कृतिले समाज बदल्नका लागि मार्गदर्शन गर्ने कुरा बताए । यसैगरी राजाराम बर्तौलाले मानवीय आत्मसम्मानको अनिवार्यतालाई शक्तिशाली सन्देश प्रवाह गरेको बताउँदै गैर दलित वर्गले कथित दलितहरुको मुक्तिका लागि मुखरित गरिएको सन्देश आफैंमा ठूलो योगदानका रुपमा इतिहमा अंकित रहने धारणा व्यक्त गर्दै कृति सफलताको शुभकामना व्यक्त गरे । उक्त अवसरमा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीले पाठकको रुचि र चाहनानुसारको सामग्री पस्कन सक्नु नै लेखकको उत्कृष्ट कौशल रहेको बताउँदै कृति सफलताको शुभकामना व्यक्त गरे । यसैगरी साहित्यकार कृष्ण बाउसे, स्रष्टा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्याल कार्य समिति सदस्य मन्दिरा मधुश्रीले हराउँदै गएको पठन संस्कृतिलाई नयाँ उर्जा प्रदान गर्न सघाउ पुर्याउने कृति सफलता प्राप्त होस् भनि शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा कृष्ण बाउसे, डिल्लीरमण सुवेदी, शरद प्रधान, राजाराम बर्तौला, रामकृष्ण कुँवर, एनबी जनकपुरी, दीपक भेटुवाल, तेजविलास अधिकारी, जय छाङ्छा, माधव नेपाल, रुबि सत्याल, गङ्गाप्रसाद खतिवडा, नवराज रिजाल, विमल अर्याल, प्रतीक घिमिरे, मेघेन्द्र विश्वकर्मा, हरि गौतम, बद्रीप्रसाद ढकाल, शीतल गिरी, बबिता राउत, हिमाल गिरी, श्रीराम पौडेल, अन्तरिक्ष अधिकारी, माधव घिमिरे 'अटल', चिरञ्जीवी देवकोटा लगायतले कृति एकसाथ सार्वजनिकीकरण गरेका थिए । अनौपचारिक रुपमा सार्वजनिक गरिएको कार्यक्रममा कृतिकार गङ्गाप्रसाद भेटवालले समाजमा व्याप्त उच नीचको प्रवृत्तिलाई समूल नष्ट गरिनुपर्ने उद्देश्यका साथ समाजिक बहशको संखघोष कृति मार्फत गरिएकोले समाजको सम्पत्तिको रुपमा हस्तान्तरण गरिएको विषयबाट प्राप्त हुने समूचित प्रतिक्रियाको अपेक्षित रहेको बताउँदै कार्यक्रमको शोभा बढाउन उपस्थित अभ्यागतहरुलाई आभार व्यक्त गरे ।

फाेटाेमा हेर्नुहाेस्...

गङ्गाप्रसाद भेटवालकृत उपन्यास ‘विश्वकर्मा भोजनालय’ सार्वजनिक

Comments