महाकाव्यकार माधव वियोगीलाई स्रष्टा सम्मान/पुरस्कार प्रदान
चैत २८, २०८२, शनिबार | राति ०८:०८ बजे | 120
२०८२ साल चैत्र २८ गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौंको आयोजनामा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कार कार्यक्रम सम्पन्न भयो। उक्त समारोहमा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्यमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका महाकाव्यकार माधव वियोगी (माधवप्रसाद घिमिरे) लाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान तथा नगद रु. १०,००० (दश हजार रुपैयाँ) पुरस्कार’ प्रदान गर्नुभयो। नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको प्रतिष्ठानका तर्फबाट उक्त सम्मान प्रदान गरिएको हो। महाकाव्यकार वियोगीले नेपाली साहित्यमा ८ वटा महाकाव्य, ८ वटा खण्डकाव्य, ७ वटा समालोचना कृति, २ वटा कविता संग्रहका साथै कविता, कथा, निबन्ध, जीवनी, गजल तथा गीत विधाका पुस्तकहरू प्रकाशन गर्नुभएको छ। अर्घौ कालिका, झाँझरमारे (कास्की) मा जन्मिनुभएका वियोगी हाल पोखरा महानगरपालिका–२६ मा बसोबास गर्दै आउनुभएको छ। उहाँले एम.ए., बी.ए. तथा बी.एड. अध्ययन पूरा गर्नुभएको छ। जनप्रिय बहुमुखी क्याम्पसको प्रमुखका रूपमा कार्य गर्दै उहाँले शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। उहाँ छन्द बचाउ अभियान, महाकाव्य लेखन अभियान, गृह पुस्तकालय अभियान तथा छन्द प्रशिक्षण जस्ता गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। साथै पत्रकारिता, कानूनी परामर्श सेवा र शिक्षण पेशासँग आबद्ध रहँदै ३ दर्जनभन्दा बढी साहित्यिक तथा सामाजिक संस्थामा संलग्न हुनुहुन्छ। उहाँले अन्तर्राष्ट्रिय नेपाल–भारत साहित्यरत्न लगायत चार दर्जनभन्दा बढी साहित्यिक तथा सामाजिक संघ–संस्थाबाट पुरस्कार, सम्मानपत्र, कदरपत्र तथा अभिनन्दनपत्र प्राप्त गरिसक्नुभएको छ। हाल उहाँ छन्द विश्वविद्यालय स्थापनाका लागि सरकारसमक्ष प्रस्ताव पेश गरी सक्रिय रूपमा प्रयत्नरत हुनुहुन्छ। सम्मान ग्रहण गर्दै स्रष्टा वियोगीले २०४१ सालतिर “छन्द मरिसक्यो, अब छन्द लेख्नु हास्यास्पद हो” भन्ने धारणा सुनेपछि आफूले “छन्द कसरी मर्छ?” भन्ने प्रश्न उठाउँदै छन्द बचाउ अभियान सुरु गरेको बताउनुभयो। उहाँका अनुसार हाल प्रत्येक वर्ष वैशाख ८ गते ‘छन्द दिवस’ का रूपमा मनाइँदै आएको छ। साथै उहाँले सम्मानका लागि प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रा. डा. गोविन्दमान सिंह कार्की, प्रा. डा. भागवत ढकाल, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, मदनराज थापा, बमबहादुर थापा जिताली तथा रामप्रसाद पन्त लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले वियोगीको साहित्यिक योगदानको चर्चा गर्दै प्रतिष्ठान तथा अध्यक्ष विजयध्वज थापाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा कुमार नेपाल, विजयध्वज थापा, प्रा. डा. गोविन्दमान सिंह कार्की, डा. बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी, बद्री उप्रेती, नम्रता उप्रेती, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, वीरबहादुर लोहनी, मदनराज थापा, प्रार्थना खनाल जोशी, प्रदीप नेपाल, तारा दुवेदी, सुभाषचन्द्र पौडेल ‘भिम्फेदिया’, गंगा खड्का, मानन्धर अभसगी, ध्रुवराज थापा ‘पुरुष’, प्रार्थना खनाल, रामचन्द्र नेउपाने ‘वनबासी’, उत्तम विचार, धनमाया राई, भागवत ढकाल, द्वारिका कुईँकेल, श्यामप्रसाद श्रेष्ठ, नीरा श्रेष्ठ, अरुण खड्का, प्रमोद भण्डारी, सुन्दर खड्का, पुष्पा धमला, खेमराज शर्मा, रणबहादुर बुढाथोकी, नरेश श्रेष्ठ, अमर किर्तीमानी तथा वि.के.एन. खडेरी लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो। कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै सम्मानित स्रष्टाबारे प्रकाश पार्नुभएको थियो भने स्रष्टा उत्तम विचारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष विजयध्वज थापाले महाकाव्यकार वियोगीको योगदानको चर्चा गर्दै सम्मान गर्न पाउनु स्वयं संस्था र आफ्नो लागि पनि गौरवको विषय भएको धारणा व्यक्त गर्नुभयो। हालसम्म प्रतिष्ठानले ८४ जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मान, ८ जनालाई साहित्य सम्मान तथा ५०० भन्दा बढीलाई कदरपत्र प्रदान गरिसकेको जानकारी गराउँदै कविता प्रतियोगिता तथा पुस्तक प्रकाशनमार्फत साहित्य सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो। साथै उहाँले उपस्थित सम्पूर्ण स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
.jpg)