सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण कार्यक्रम सम्पन्न


चैत १५, २०८२, आइतबार | राति ०७:४५ बजे | 105


सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा यही चैत १४ गते शनिबार सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा विभिन्न सात विधाका सम्मान सातजना राष्ट्रिय प्रतिभामा समर्पण गरियो भने एउटा पुस्तक र एउटा गान सार्वजनिक गरियो । कार्यक्रमको सञ्चालन हरि मञ्जुश्रीबाट र समापन प्रा. डा. हेमाङ्गराज अधिकारीबाट गरिएको थियो । कालिका त्रिपाठी पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सरस्वती सापकोटाले समुद्घाटन, केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला अर्पण, अमृत अधिकारीले छायाङ्कन तथा स्वराङ्गन र निर्मला श्रेष्ठले सम्मान सामग्रीको व्यवस्थापन गर्नुभएको थियो । गोपाल पराजुली, जयदेव अधिकारी, पद्मकला–भीमप्रसाद सुवेदी र रुद्रलाल शर्मा धितालको तस्बिरमा पुष्पार्पण गरिएको उक्त कार्यक्रममा चयन समितिका सदस्यहरूलाई लोकेन्द्र ढकालले उपहार समर्पण गर्नुभएको थियो । नवराज दाहाल ‘उत्साही’ ले सार्वजनिक गरिएको कृतिको व्यवस्थापन गर्नुभएको थियो भने शैलेन्द्र सिम्खडाले हास्यव्यङ्ग्य कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा डा. नारायणप्रसाद खनाल, चन्द्रप्रसाद न्यौपाने, लक्ष्मी उप्रेती, बालिका गिरी, जीतबहादुर श्रेष्ठ, उर्मिला ढुङ्गाना सुवेदी र अकुर शाहले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो र पुस्तकालयका तर्फबाट हरिगोपाल प्रधान, शिव बन्जारा र प्रजापति तिमिल्सिनाले ती पुस्तकहरू ग्रहण गर्नुभएको थियो ।

Comments