गरुन् आश नौलो झरुन् दिब्य तारा
चैत ५, २०८२, बिहीबार | साँझ ०६:३९ बजे | 410
सरला पोखरेल सरु
सबैको भलोमा फुलुन् कीर्ति हाम्रा
महाज्ञानको ज्योति झल्केर राम्रा ।
कतै छैन बाधा कतै छैन नारा
गरुन् आस नौलो झरुन् दिब्य तारा ।। १ ।।
उघार्दै सबैका लुकेका कहानी
खुलेको छ तारा झरेका सिरानी ।
यही सृष्टि चल्दै उनैका सहारा
गरुन् आस नौलो झरुन् दिब्य तारा ।। २ ।।
पलाए नयाँ पालुवा ती वनैमा
गरे शान्त बाचा सजायो मनैमा ।
बगेका नदीझैँ सुसाएर पारा
गरुन् आस नौलो झरुन् दिब्य तारा ।। ३ ।।
गरूँ के म सेवा सबैमा विधाता
तिमी नै दयाका सबै भाग्यदाता ।
दयाले भरेका कतै छन् इसारा
गरुन् आस नौलो झरुन् दिब्य तारा ।। ४ ।।
मिठो भाव बोल्दा सबै दङ्ग पर्छन्
नराम्रा समस्या झरेका ठहर्छन् ।
खुसीले उडाए पखेटा पुकारा
गरुन् आस नौलो झरुन् दिब्य तारा ।। ५ ।।
गठ्ठाघर, भक्तपुर
