भक्तपुर अवलोकन भ्रमण : इतिहास, संस्कृति र आत्मीयताको समन्वित यात्रा
चैत ५, २०८२, बिहीबार | दिउँसो ०३:३० बजे | 220
जीवनाथ अधिकारी
वि.सं. २०८२ साल चैत ४ गतेको दिन हाम्रो लागि स्मरणीय र अर्थपूर्ण बन्यो । “अनुशीलन नेपाल” को आयोजनामा सम्पन्न भएको भक्तपुर अवलोकन भ्रमणले केवल एक दिनको यात्रा मात्र होइन, नेपाली कला, संस्कृति, इतिहास र परम्पराको जीवित पाठशाला नै प्रस्तुत गर्यो । यस विशेष कार्यक्रमका निमन्त्रक अनुशीलन नेपालका सल्लाहकार डा इन्दुल केसी हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष जीवनाथ अधिकारी, सचिव नेत्र घिमिरे तथा कोषाध्यक्ष वीरजा घिमिरेको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।
सूर्यविनायकबाट यात्राको सुरुवात
बिहान ठीक १० बजे सूर्यविनायक चोकमा हामी सबै भेला भयौँ । चोकमा भेट हुँदा सहभागीहरूबिचको आत्मीयता र उत्साह देख्नलायक थियो । क्षमकुशल आदानप्रदानसँगै हामी यात्राको उद्देश्य—अवलोकन, अध्ययन र अनुभूतिलाई मनमा राख्तै अगाडि बढ्यौं ।
बाराही पीठको दर्शन
सबैभन्दा पहिले हामी बाराही पीठ पुग्यौँ । यहाँकी बाराही भगवती हिन्दू धर्ममा भगवान् विष्णुको वराह अवतारसँग सम्बन्धित शक्तिरूपा देवीका रूपमा पूजिन्छिन् । उनलाई पृथ्वीको रक्षा गर्ने तथा दुष्ट शक्तिहरूको नाश गर्ने देवी मानिन्छ । भक्तपुर क्षेत्रमा बाराही भगवतीलाई संङ्टनिवारण गर्ने देवीका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्परा प्रचलित छ । मन्दिर परिसरमा केही समय बिताउँदा आध्यात्मिक शान्ति र सकारात्मक ऊर्जा अनुभव भयो । बाराही पीठ भक्तपुर नगरको दक्षिणपश्चिम भागतिर, विशेष गरी अरनिको राजमार्गनजिक अवस्थित छ । मङ्गल तीर्थ (हनुमन्ते खोलाको भाग) सँग पनि यसको सम्बन्ध रहेको छ ।
धार्मिक महत्त्व
बाराही देवीलाई अष्टमातृका (आठ शक्तिहरू) मध्ये एक मानिन्छ । उनी सृष्टिको शक्ति, संरक्षण र उर्जाको प्रतीक मानिन्छिन् । भक्तपुरको नवरात्रि पूजामा पाँचौं दिन बाराही पीठमा विशेष पूजा तथा मेला लाग्ने परम्परा छ ।
सांस्कृतिक पक्ष
बाराही पीठ भक्तपुरका प्रमुख शक्तिपीठहरूमध्ये एक हो र स्थानीय नेवार समुदायमा “बाराही अजिमा” भनेर श्रद्धापूर्वक पूजा गरिन्छ । यहाँ धार्मिक पूजा मात्र होइन, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छन् ।
भक्तपुर सहर प्रवेश र स्थानीयसँग संवाद
बाराही दर्शनपछि हामी भक्तपुर सहरभित्र प्रवेश गर्यौँ । सहरका साँघुरा गल्ली, इँटाले बनेका घरहरू, काठका कुँदिएका झ्यालहरू र परम्परागत जीवनशैलीले हामीलाई पुरानो समयतर्फ फर्काएजस्तो अनुभूति गरायो । बाटोमा भेटिएका स्थानीय बासिन्दाहरूले सहरको इतिहास, संस्कृति र जीवनशैलीबारे रोचक जानकारी दिए । उनीहरूको सरलता र आतिथ्यले मन छोयो ।
दरबार स्क्वायर : जीवित इतिहास
हामी भक्तपुर दरबार स्क्वायर पुग्यौँ, जुन नेपालको एक प्रमुख ऐतिहासिक तथा सांस्कृतिक केन्द्र हो । मल्लकालीन राजाहरूको दरबार रहेको यो क्षेत्र आज विश्वसम्पदा सूचीमा सूचीकृत छ । यहाँका दरबार, मन्दिर, चौक र मूर्तिकलाहरू नेपाली वास्तुकला र शिल्पकलाका उत्कृष्ट नमुना हुन् ।
तलेजु भवानी र स्वर्णढोका
दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर मल्लकालीन राजाहरूकी कुलदेवीका रूपमा प्रसिद्ध छ । यहाँ हिन्दुबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ, जसले यसको धार्मिक पवित्रता झल्काउँछ ।
तलेजु भवानीको नेपाल प्रवेश
१४ औँ शताब्दी तिर मिथिला (सिम्रौंगढ) का राजा हरिसिंहदेव आफ्नो राज्यमा मुसलमान राजा गयासद्दिन तुगलकको आक्रमण भएपछि नेपालतर्फ आएका थिए । उनीसँगै आफ्नी कुलदेवी तलेजु भवानीको श्रीयन्त्र (पवित्र प्रतीक) पनि ल्याइएको थियो । नेपाल आउँदा उनको बाटैमा मृत्यु भयो भने उनकी पत्नी देवलदेवी (भक्तपुरका राजा रुद्र मल्लकी बिहनी) ले माइतीराज्य भक्तपुरमा तलेजुलाई दाजु राजा रुद्र मल्लको सहयोगमा स्थापित गरी मल्ल राजाको इष्टदेवीका रूपमा पूजा गर्न थालियो ।
मल्लकालसँग सम्बन्ध
त्यसपछि तलेजु भवानीलाई मल्ल राजाहरूको कुलदेवी (राजकीय देवी) मानियो । काठमाडौं, भक्तपुर र पाटन तीनै दरबार क्षेत्रमा तलेजुका मन्दिर निर्माण गरिए ।
धार्मिक अर्थ
तलेजु भवानीलाई शक्ति, विजय र राज्य संरक्षण दिने देवीका रूपमा मानिन्छ । नेपालमा कुमारी परम्परा पनि यही देवीसँग जोडिएको मानिन्छ ।
मन्दिर प्रवेशद्वारको रूपमा रहेको स्वर्णढोका अत्यन्त कलात्मक र ऐतिहासिक महत्त्वको धरोहर हो । यो ढोका राजा रणजीत मल्लको पालामा निर्माण गरिएको मानिन्छ र यसमा कुँदिएका आकृतिहरू धातुकलाको उत्कृष्ट नमुना हुन् । तलेजु मन्दिरको एउटा ढोकामा रहेको एउटा डोबले हाम्रो ध्यान खिच्यो— यो डोब नेपाल एकीकरण अभियानका क्रममा पृथ्वीनारायण शाहका सैनिकहरूले हानेको गोलीको निसानी हो, जसले इतिहासको सङ्घर्षपूर्ण अध्यायलाई जीवित राखेको छ । हामीलाई सहजीकरण गर्दै डा केसील हामीलाई यो कुरा बताउनुभयो ।
मूलचोक : परम्पराको केन्द्र
स्वर्णढोका पार गरेपछि हामी अलि भित्र मूलचोक पुग्यौं । यस क्षेत्रमा ९९ चोक रहेको तथ्य डा केसीले बताउनुभयो यहाँ थुप्रै मौला गाडिएका थिए, जुन दशैँको समयमा पशुबलि दिनका लागि प्रयोग गरिन्छन् । यसले प्राचीन धार्मिक परम्पराको निरन्तरता र सामाजिक विश्वासलाई प्रस्ट पार्छ ।
भूपतीन्द्र मल्लको सालिक र कविता वाचन
दरबार स्क्वायरमा रहेको भूपतीन्द्र मल्लको सालिकनजिकै पुग्दा कार्यक्रमको एउटा भावनात्मक क्षण आयो । अध्यक्ष जीवनाथ अधिकारीज्यूले त्यहीँ उभिएर आफूले रचेको “भक्तपुर” शीर्षकको छन्द कविता वाचन गर्नुभयो । वीरजा घिमिरेज्यूले त्यसको भिडियो खिच्नुभयो भने डा. इन्दुल केसी र नेत्र घिमिरेज्यूले ध्यानपूर्वक सुन्नुभयो । वरिपरि हिँडिरहेका पर्यटकहरू पनि केहीबेर रोकिने र कविता सुन्ने दृश्यले वातावरणलाई झनै जीवन्त बनायो । त्यहाँ प्रस्तुत गरिएको जीवनाथ अधिकारीको कविता :
भक्तपुर
घुमेर भक्तपुरमा नवदृश्य हेर्दै
असाध्य सुन्दर कलासँग प्रीत छर्दै ।
यो हो पुरातन सफा ख्वप नाम बोकी
गर्दै छ स्वागत अहो मुजरा नरोकी ॥१॥
मन्दिर भव्य, सुनका शिरमाथि ताज
संस्कारभित्र नवज्ञान फिँजाई आज ।
बोकी सुनिश्चित कथा छवि चम्चमाई
हाँसेर भक्तपुर नाच्छ सदा रमाई ॥२॥
बोक्तैन स्वार्थ परमार्थ समाउँदै छ
आफ्नै कला सुरसिलासँग गाउँदै छ ।
देवालयादि जति छन्, अझ पोखरी छन्
प्रसिद्ध विश्वभरमा यश - कीर्ति झन् झन् ॥३॥
चौतर्फका पथिक खोज्न नयाँ बिहानी
पीयूषतुल्य रसज्ञान लिई निसानी ।
सुसभ्यता सहज सुन्दर शिल्पशाला
उन्दै छ भक्तपुर सिर्जन पुष्पमाला ॥४॥
आएर आज म भएँ कृतकृत्य - धन्य
नेपालको शिर सुगन्ध भयौ प्रणम्य ।
अवर्णनीय महिमा अब आज गाऊँ
गर्दै प्रणाम मनले सँगमा रमाऊँ ॥५॥
२०८२ चैत ४
पोखरीहरूको अवलोकन
दरबार स्क्वाएरभित्र रहेका विभिन्न ऐतिहासिक ससाना पोखरीहरूको पनि हामीले अवलोकन गर्यौँ । यी पोखरीहरू पुराना समयमा पानी सङ्कलन, धार्मिक अनुष्ठान र सामाजिक जीवनको केन्द्रका रूपमा प्रयोग गरिन्थे । आज पनि ती संरचनाहरूले प्राचीन सभ्यताको झल्को दिन्छन् ।
पशुपतिनाथ मन्दिर
नजिकै रहेको पशुपतिनाथ मन्दिर (भक्तपुर) पनि हामीले अवलोकन गर्यौँ । यद्यपि मन्दिरको ढोका बन्द थियो, तर बाहिरबाट हेर्दा पनि यसको धार्मिक महत्त्व र शान्त वातावरण अनुभव गर्न सकिन्थ्यो । भक्तपुरमा पनि पशुपतिनाथको मन्दिर छ भन्ने कुरा कतिपयलाई थाहा नहुन पनि सक्छ । मल्लकालीन उपत्यकाका तीनै राज्यले कतिपय संरचना आफ्नै राज्यमा निर्माण गरेका थिए । काठमाडौँ र भक्तपुरबिच बेमल हुँदा भक्तपुरेहरूलाई काठमाडौँ राज्यमा रहेको वागमती किनारको विशषे पशुपतिमा जान असहज हुँदा त्यो समस्याबाट मुक्ति पाउन भक्तपुरे मल्ल राजाले यो पशुपतिको मन्दिर निर्माण गराएका थिए ।
तौमढी र पाँचतले मन्दिर
त्यसपछि हामी तौमढी टोलतर्फ लाग्या । यहाँ अवस्थित न्यातापोल मन्दिर (पाँच तले मन्दिर) नेपालको सबैभन्दा अग्ला मन्दिरमध्यको एक पगोडा शैलीको मन्दिर हो । यसको निर्माण १७०१ देखि १७०२ मा राजा भूपतीन्द्र मल्लले गरेका थिए । “ङ्यातपोल वा न्यातापोल” शब्दको अर्थ नै “पाँच तले” हो । यस मन्दिरलाई भूकम्पले समेत असर गर्न नसकेको ऐतिहासिक तथ्य छ, जसले यसको बलियो संरचना र प्राविधिक उत्कृष्टता प्रमाणित गर्छ ।
जनश्रुतिअनुसार यस मन्दिरका पाँच तहले पाँच तत्त्व (पृथ्वी, जल, तेज, वायु, आकाश) लाई प्रतिनिधित्व गर्छन् । यो मन्दिर निर्माणमा छालिङ, जितपुर, वागीश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्ती आदि ठाउँका बासिन्दाले पनि सहयोग गरेको कुरा उल्लेख गरिएको पाइन्छ । पाँचतले मन्दिर जम्मा सात महिनामा तयार गरिएको कुरा सुन्न पाइन्छ । भूपतीन्द्र मल्लको उपत्यकाका अन्य राजासित सम्बन्ध राम्रो नभएका कारण उनले यो मन्दिर निर्माण गरी बफ्नो शक्ति प्रदर्शन गर्न भक्तपुरका सबै जनता तथा छिमेकी राज्यका राजाहरूलाई समेत भोजमा निमन्त्रणा गरिएको थियो । यस भोजमा लगभग ३० हजार मानिस आमन्त्रित थिए, जुन सऽख्षा त्यसबेलाका भक्तपुरका बासिन्दाभन्दा झन्डै ४ दोब्बर बढी थियो भनिन्छ । मन्दिर जमिनबाट पाँच तला उठाएर त्यसमाथि निर्माण गरिएको छ । तलका प्रत्येक तलामा राखिएका मूर्तिहरू शक्तिशाली संरक्षकका रूपमा रहेका छन् । यी रक्षकहरू तल्लो तलाबाट माथितिर क्रमश: बढ्दो शक्तिका रूपमा रहेका छन् । जस्तै :
पहिलो तला (सबैभन्दा तल)– जयमल र फत्ते (मानववीर) । यी मल्लकालीन शक्तिशाली पहलमान मानिन्छन् । यी समान्य मानिसभन्दा १० गुणा शक्तिशली मानिन्छन् ।
दोस्रो तला– हात्ती (गज) विशालता र बलका प्रतीक । यी हात्ती मानवभन्दा कैयौँ गुणा शक्तिशाली मानिन्छन् ।
तेस्रो तला– सिंह– साहस, वीरता र राजसी शक्तिको प्रतीक । हात्तीभन्दा धेरै शक्तिशाली मानिने ।
चौथो तला– अर्धसिंह अर्धपक्षी– पौराणिक जीव– सिंहभन्दा धेरै शक्तिशाली मानिने ।
पाँचौँ तला– देवीहरू— सिंहिनी र ब्याघ्रिनी (शक्तिशाली देवीका रूप) । सबैभन्दा शक्तिशाली रक्षक मानिने ।
यस मन्दिरको उचाइ १०८ फिट (३३.२३ मिटर) रहेको छ । यहाँभित्र सिद्धिलक्ष्मीको कलात्मक मूर्ति प्रतिस्थापित छ ।
भैरवनाथ मन्दिर
नजिकै रहेको भैरवनाथ मन्दिर पनि अत्यन्त महत्त्वपूर्ण धार्मिक स्थल हो । भैरव भगवान् शिवको उग्र रूप मानिन्छन् । यो मन्दिर विशेष गरी बिस्का जात्रासँग सम्बन्धित छ । जनश्रुतिअनुसार भैरवनाथको मूर्ति अत्यन्त शक्तिशाली भएकाले यसलाई स्थिर राख्न विशेष विधि अपनाइएको थियो भन्ने मन्यता रहेको छ ।
ऐतिहासिक रूपमा पनि यो मन्दिर भक्तपुरको सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको छ । यहाँ हुने जात्रा, पूजा र परम्पराले सहरको सांस्कृतिक पहिचानलाई बलियो बनाएको छ ।
भैरवनाथ मन्दिर भक्तपुरको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक हो । यो मन्दिर तौमढी टोलमा अवस्थित छ र भगवान् भैरव (शिवको उग्र रूप) मानिन्छ ।
यस मन्दिरका मुख्य विशेषताहरू
यो मन्दिर पगोडा शैलीको तीनतले मन्दिर हो । प्रारम्भमा एकतले भए पनि पछि मल्लकालीन राजाहरूले विस्तार गर्दै अहिलेको स्वरूप दिएका हुन् । विशेषतः जगज्ज्योति मल्ल र भूपतिन्द्र मल्लको समयमा यसको विकास भएको पाइन्छ । मन्दिरभित्र भैरवको पूरा मूर्ति नभई टाउको मात्र पूजा गरिन्छ । यसलाई “कासी भैरव” वा “आकाश भैरव” पनि भनिन्छ, जसको सम्बन्ध वाराणसी (काशी) सँग जोडिन्छ ।
सांस्कृतिक महत्त्व
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा यही मन्दिरसँग सम्बन्धित छ । जात्रामा भैरवको रथ बनाई नगरपरिक्रमा गरिन्छ, जसमा दुई पक्षबीच रथ तान्ने प्रतिस्पर्धा हुन्छ ।
भैरवनाथ मन्दिरसँग सम्बन्धित किंवदन्ती
भैरवनाथ मन्दिरको उत्पत्तिसँग एउटा रोचक किंवदन्ती जोडिएको छ । भनिन्छ, काशीका भैरव देवता वा विश्वनाथ भक्तपुरमा बिस्का जात्रा हेर्न मानिसको भेषमा आएका थिए । त्यहाँका एक तान्त्रिक पुजारी (आचाजु) ले उनलाई चिनेर समात्ने प्रयास गरे । भैरवले खतरा महसुस गरी धरतीभित्र पस्दै भाग्न खोजे । तर पुजारीले तान्त्रिक शक्तिबाट उनलाई रोक्तै उनको टाउको काटिदिए । पछि पश्चाताप गर्दै उनले त्यो काटिएको टाउकोलाई मन्दिरमा स्थापना गरेर पूजा सुरु गरे । यही कारण आजसम्म पनि मन्दिरमा भैरवको टाउको मात्र पूजा गरिन्छ भन्ने विश्वास छ ।
धार्मिक अर्थ र प्रतीक
भैरवलाई संरक्षक देवता (क्षेत्रपाल) मानिन्छ । उनको उग्र रूपले दुष्ट शक्तिहरूलाई नियन्त्रण गर्ने विश्वास गरिन्छ । भक्तपुरको सांस्कृतिक जीवनमा भैरवनाथलाई शक्ति, सुरक्षा र परम्पराको प्रतीक मानिन्छ ।
अन्त्य : दहीचिउरासँग सम्झनाको समापन
यसरी दिनभरि इतिहास, संस्कृति र अनुभूतिले भरिएको यात्रा अन्त्यतिर पुग्यो । अन्त्यमा हामीले परम्परागत नेपाली परिकार दहीचिउरा खाएर कार्यक्रम सम्पन्न गर्यौँ । यसमा डा इन्दल केसी र नेत्र घिमिरेको विशेष सक्रियता रह्यो । दहीचिउराले यात्राको थकान मेटाउनुका साथै आत्मीयताको स्वाद पनि थप्यो ।
निष्कर्ष
यो भ्रमण केवल अवलोकन मात्र नभई एउटा अध्ययन, अनुभूति र आत्मसाक्षात्कारको यात्रा बन्यो । भक्तपुरले हामीलाई हाम्रो मौलिकता, परम्परा र इतिहासप्रति गर्व गर्न सिकायो । अनुशीलन नेपालको यो पहलले सहभागीहरूलाई ज्ञान र संस्कृतिसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेल्यो ।
यस यात्राले मनमा एउटा स्पष्ट सन्देश छोड्यो—भक्तपुर केवल एउटा सहर होइन, यो नेपालको जीवित सभ्यता हो ।
अन्त्यमा पुन: डा. इन्दुल केसीलाई धन्यवाद !
