पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन


चैत ४, २०८२, बुधबार | दिउँसो ०२:१८ बजे | 180


पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन

जीवनाथ अधिकारी

.फुल्दै केश तुषार श्वेत रङमा लेख्तै नयाँ पुस्तक
नौलो सृष्टि रचाउँदै गगनको गन्तव्यका उद्भव ।
सारङ्गीसँग स्वच्छ जीवनकला अन्तर्य सुन्ने धुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।।१।।

आफ्नै पौरखभित्र बग्छ पसिना सौगन्धका विन्दु भै
सारा वेदपुराण झङ्कृत भए संज्ञानका सिन्धु भै ।
जे जे खोज सकिन्छ भेट्न यिनमा, सामथ्र्य तारा छुन
 पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।।२।।

भोग्छन् दुःख अनेक कर्मपथमा खिप्तै नयाँ सिर्जना
रोप्छन् वृक्ष भविष्यका रहरमा छोडी सबै तिर्सना ।
सच्चा सन्तति बुझ्छ मर्म उनको, पर्दैन सस्तो रुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। ३।।

पाकाका अनुभूतिका गह्वरमा संसारको सार छ
फ्याँक्तै दुर्बलता सुकर्मपथमा उद्देश्य साकार छ ।
आफ्नो भोलि सपार्न लौ युवक हो आधार राम्रो चुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। ४ ।।

माटाका कणभित्र उर्वरकला जो देख्छ नौलो छवि
झुल्किन्छन् नवपालुवा रससँगै पाका बनेका कवि ।
राख्छन् रे अभिलेखमा अनुभवी औदार्य सच्चा गुण
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। ५।।
सिर्जनाकुञ्ज, बालबोट, भक्तपुर

Comments

ताजा खबर