गरौँ आस नौलो झरुन् दिव्य तारा।
चैत ४, २०८२, बुधबार | विहान १०:३६ बजे | 270
नयाँ राज्य सत्ता, नयाँ होस् प्रणाली
उठोस् देश हाम्रो खराबी पखाली
सबै नाश हुन्छन् ठगी भातमारा
गरौँ आस नौलो झरुन् दिव्य तारा।
विदेशी धरामा नपोखोस् लगानी
बनोस् देशमा नै सुनौलो बिहानी
हटाएर बाधा रमुन् सर्वहारा
गरौँ आस नौलो झरुन् दिव्य तारा।
रुवाएर नानी विदेशी धरामा
गएको नदेखुन् लगातार आमा
बनोस् राज्य स्वामी दुखीको सहारा
गरौँ आस नौलो झरुन् दिव्य तारा ।
युवा दूर देशी र स्वदेश खाली
बुढा बा र आमा लथालिङ्ग पाली
रसाएर आँखा नखोजुन् अहारा
गरौँ आस नौलो झरुन् दिव्य तारा ।
भरी अन्न बाली झुलोस् खेतबारी
खुलोस् यन्त्र राम्रो विकासे सवारी
चलोस् पाखुरीले दुखीको गुजारा
गरौँ आस नौलो झरुन् दिव्य तारा ।
– निर्मला देवी तिम्सिना कान्छी
