ग्वंगःको बैबाहिक स्वर्ण महोत्सवमा व्यथा लिएर जन्मेका कथाका मान्छेहरू सार्वजनिक
फाल्गुन २५, २०८२, सोमबार | राति ०९:१६ बजे | 25
भक्तपुर । लेखक माणिकबाबु ग्वंगःको नयाँ कविता संग्रह “व्यथा लिएर जन्मेका कथाका मान्छेहरू” सोमबार भक्तपुरमा एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ । भक्तपुर खौमाका मणिकबाबु ग्वंगः र सुवर्णकेशरी मनंकर्मी ग्वंगको विवाह भएको स्वर्ण (५० वर्ष) पुगेको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । कविता संग्रहको वरिष्ठ साहित्यकार तिलकप्रकाश कायष्ठले विमोचन गरेका हुन् । कार्यक्रममा साहित्यकार धु्रब मधिकर्मी, भक्तपुर विकास समितिका पूर्व अध्यक्ष कृष्णलाल प्रधान, साहित्यकार अगिब बनेपालीलगायले प्रकाशित कविता संग्रहबारे चर्चा गरेका थिए ।
९४ पृष्ठको उक्त कृति समकालीन सामाजिक यथार्थ, मानवीय पीडा र जीवनका विविध अनुभूतिहरूलाई समेटेर तयार पारिएको छ । संग्रहमा समावेश कविताहरूमा समय र परिस्थितिले मानिसको जीवनमा पार्ने प्रभाव, समाजका विभिन्न पाटाहरू तथा मानवीय संवेदनाका आयामहरूलाई अभिव्यक्त गरिएको साहित्यकारहरूले बताएका छन् । लेखक ग्वंगःले आफ्ना अनुभूति र समयले निर्माण गरेको परिवेशलाई कवितामार्फत सशक्त ढंगले प्रस्तुत गरेका छन् ।
पुस्तकको समीक्षा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले गरे । उनका अनुसार कविता युगीन समयअनुसार भावनाको तर्कना र कल्पनाबाट जन्मिने साहित्यिक अभिव्यक्ति हो, जसले मन र मस्तिष्कमा तरंग उत्पन्न गर्छ । उक्त संग्रहमा लेखकका अनुभूति र समाजका यथार्थपरक चित्रण प्रभावकारी रूपमा अभिव्यक्त भएको उल्लेख उनले गरे ।
“व्यथा लिएर जन्मेका कथाका मान्छेहरू” कविता संग्रहले समकालीन समाजका विविध पीडा, संघर्ष र अनुभूतिलाई साहित्यिक ढंगले प्रस्तुत गर्दै पाठकलाई सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
