‘रेखा- पवन स्रष्टा सम्मान’द्धारा शर्मा र घिमिरे सम्मानित


फाल्गुन २५, २०८२, सोमबार | राति ०७:५१ बजे | 65


‘रेखा- पवन स्रष्टा सम्मान’द्धारा शर्मा र घिमिरे सम्मानित

काठमाडौं । रेखा पवन स्रष्टा सम्मान-२०८२  द्धारा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरे संयुक्त रुपमा सम्मानित भएका छन् ।

नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आईतबार आयोजित एक समारोहमा श्रीओम श्रेष्ठ रोदन,पवन आलोक,रेखा कंडेल लगायतले दोसल्ला,सम्मानपत्र,माला र नगदराशि सहित  शर्मा र घिमिरेलाई संयुक्त रुपमा सम्मान अर्पण गरे ।

नगदराशी रु.१ लाख १ सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान अग्रज नियाात्राकार एवं साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कंडेलको नाममा स्थापना भएको हो ।  उहाँका छोरीहरु बिमला कंडेल थापा,रीता कंडेल बस्नेत,अनिता कंडेल, छोरा सुनिल कंडेल तथा बुहारी माला कटुवाल कंडेलले मातापिता रेखा -पवन बैवाहिक वर्षगाँठको अवसरमा कोष स्थापना गरिदिएको आयोजकले बताएका छन् ।

 

सम्मानित स्रष्टाहरुको बारेमा अग्रज समालोचक प्रमोद प्रधानले नगेन्द्रराज शर्मा र रोचक घिमिरे नेपाली भाषा साहित्यमा थुप्रै लेखक,साहित्यकारहरु जन्माउने व्यक्ति भएको बताए ।

वि.सं.२०२७ सालदेखि प्रकाशित अभिव्यक्तिका पर्यायका रुपमा सबैले शर्मालाई लिने गरेको बताउँदै उनले भने- दुई उपन्यास र दुई कथासङ्ग्रह नेपाली साहित्यलाई दिइसकेका शर्माको नेपाली साहित्यिक पत्रकारीतामा अतुलनीय योगदान रहेको छ । नेपाली भाषा,साहित्यमा पछिल्ला पुस्ताका साहित्यकारहरुका निम्ति मानसपिता रहेका शर्मा र घिमिरे व्यवहारमा हार्दिक,सरल,शिष्ट र शालिन हुनुहुन्छ ।  उहाँहरुको अरुसँग तुलना गर्न नसकिने कुरामा प्रधानले जोड दिए ।

शुभकामना मन्तव्य दिंदै नेपाल स्रष्टा समाजका सल्लाहकार समेत रहेका प्रा.डा.गोविन्दराज भट्टराई,अशेष मल्ल तथा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तिहरु आफैं इतिहास भएको बताए । उनीहरुले सात दशकभन्दा लामो समय साधना गर्नु आफैंमा अतुलनीय भएको बताए । आफ्नो पुस्ताको असल अभिभावकको रुपमा सम्मानित व्यक्तिहरुलाई पाएको समेत उनीहरुले बताए ।

सम्मानित व्यक्तित्व घिमिरेले आफुलाई साहित्यिक पत्रकारीतामा लाग्न प्रेरित गर्ने भैरव अर्याल र रमेश विकललाई सम्झिए । उनले लेखनीमा तारिणीप्रसाद कोइरालाले आफुलाई ल्याएको बताउँदै सम्मानित भएकोमा खुशी व्यक्त गरे ।

 

अर्का सम्मानित व्यक्तित्व शर्माले सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै भने मेरो पूजा अभिव्यक्तिको काम हो मेरा भगवान मेरा साथीभाईहरु हुन् ।

 

पुरस्कार संस्थापक मध्येबाट रिता के.सी.कंडेलले सम्मान कसरी स्थापना गरियो भन्ने बारेमा बताइन् ।

अग्रज साहित्यकार पवन आलोकले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए । कार्यक्रमको सहजीकरण मधु पाठक तथा स्वागत प्रकाश घायलले गरेका थिए ।

नेपाली साहित्यमा ६० वर्ष उमेर पुगेका ,उत्कृष्ट लेखनीमा निरन्तरता दिइरहेका स्रष्टालाई उक्त सम्मान प्रदान गरिने गरिएको समाजका अध्यक्ष  रोदनले जानकारी दिए ।

वि.सं.२०८० मा स्थापना गरिएको उक्त सम्मानबाट,अग्रज कवि एवं गीतकार कालीप्रसाद रिजाल २०८१ मा सम्मानित भैसकेका छन् ।

 

Comments