भजन भक्तिमाला एक परिचर्चा
फाल्गुन १३, २०८२, बुधबार | दिउँसो ०२:०७ बजे | 225
डा इन्दुल केसी
शुभारम्भ–परिचय
रचनाकार श्री ढुण्डिराज पोखरेलज्यूले रचना गर्नुभएको एउटा पुस्तकको नाम हो ‘भजन भक्तिमाला’ । साहित्य, सङ्गीत र आध्यात्मिक त्रिवेणीमा पौडी खेल्नु हुने वहाँ एक कुशल लेखक हुनुहुन्छ । शब्दयात्रा संस्थालगायत् विभिन्न १५ वटा सङ्घ संस्थाहरूमा वहाँ आवद्ध हुनुहुन्छ । ढुण्डिराजजीले नेपालका विभिन्न जिल्लाहरू तथा विदेशका चीन, उत्तरकोरिया, भारत र थाइल्याण्डमा भ्रमण गरी थुप्रै अनुभव हासिल गरिसक्नुभएको छ । वहाँले कविता, कथा, भजनलगायतका विविध विधामा एक दर्जन पुस्तकहरू लेखी प्रकाशित गरी सक्नुभएको छ । यो हो, रचनाकारको अत्यन्त सङ्क्षिप्त परिचय ।
२. सन्दर्भ–भजन
भजनको शब्दार्थ परमात्मा परब्रह्मको गुनगान हो । विभिन्न नामले पुकारिने देव–देवीहरूको रूप लीला, धाम आदि उतारिएको बखान हो । शब्दमा उतारिएकोलाई सङ्गीत सिङ्गारिएर श्रद्धा विश्वासकासाथ ईश्वरलाई पुकार्ने कार्यलाई नै भजन मानिन्छ । हिन्दुहरूको पवित्र ग्रन्थहरू ः वेद, उपनिषद्, पुराण, गीता आदिमा उल्लेख भएअनुसार यस कलियुगमा भगवत् प्राप्तिको लागि एउटै सरल, सरज, सुगम, सुलभ उपाय भनेकै भजन हो । भजनको मार्गबाट ब्रह्मज्ञान, नीतिज्ञान, शास्त्रहरूको रहस्यमय ज्ञान आदि भजनबाट नै प्राप्त हुन्छ । सभक्ति सङ्गीत रसास्वादनले मानवमा हुने विभिन्न शारीरिक, मानसिक रोगहरू निको पार्न समेत सहयोग मिल्छ । अन्तर्मनको आन्तरिक सुख र शान्ति मात्र होइन, भुक्ति र मुक्तिको साधन भजन हो भन्ने पनि गरिन्छ ।
३. यो पुस्तकका सम्बन्धमा
भगवानको भजन गुणानुवादमा संलग्न हुनुहुने सम्पूर्ण भक्तजनहरुमा समर्पण गरिएको यो पुस्तक आध्यात्मिक परोपकार संस्था भावहिलले प्रकाशित गरेको हो । २०८० सालमा, मात्र ३०१ प्रति छापिएको यो पुस्तक १ प्रतिको मूल्य रू. २२५।– रहेको छ । रचनाकार श्री ढुण्डिराज पोखरेलज्यूले स्वहस्ताक्षरमा श्रद्धेय व्यक्तित्व ‘डा. श्री इन्दुल केसीज्यू ! हजुरलाई यो पुस्तक उपहार प्रदान’ लेखी मलाई दिनुभएको हो । म स्वयम् भजनप्रेमी एक भक्त भएको नाताले यो उपहारलाई अमूल्य रत्नको रूपमा लिएर मैले पढ्न थालेँ । यसमा मेरो आँखाले जे देखेँ, मैले जे बुझँे, त्यसलाई निम्नअनुसार शब्दमा उत्तार्ने प्रयत्न गरेको छु ।
क) पुस्तकको सुन्दर रङ्गीन आवरण पृष्ठको केन्द्रमा ठूलो ॐ अङ्कित छ साथै लेखिएको छ “ॐ श्री परमात्मने नमः भजन भक्तिमाला – ढुण्डिराज पोखरेल”
ख) रचनाकारले आफ्नो लेखकीयमा एउटा श्लोक प्रस्तुत गर्नुभएको छ ः
हरेर्नामैव नामैव नामैव मम जीवनम् । कलौनास्त्यैव नास्त्यैव नास्त्यैव गतिरन्यथा ।।
यस श्लोकलाई आफ्नै शब्दमा अथ्र्याउनुको साथै यस भजन सङ्गैहमा सङ्ग्रह गरिएका भजनहरूले जिज्ञासु भक्तजनहरूलाई धार्मिक आस्थाको दियो बाल्ने काम गर्नेछ भन्ने रचनाकारले विश्वास व्यक्त गर्नुभएको छ ।
ग) स्वामी जगदीश प्रपन्नाचार्यज्यूको शुभकामना मन्तव्यमा लेख्नुभएको छ भगवन्नाम सङ्कीर्तन भन्दा महत्वपूर्ण अरू केही छैन । यो भजनभक्ति माला अध्ययन गर्दा सबै भजनहरू महत्वपूर्ण छन् ।
घ) डा. मधुसूदन लामिछानेज्यूको अग्रलेखमा ‘भजन भक्तिमालामा रमाउँदा’मा लेखकले लेख्नुभएको छ ः–
कलौतु हरिकिर्तनात् अर्थात् कलियुगमा हरिको किर्तन वा भजन नै सबैभन्दा ठूलो यज्ञ हो भन्ने मान्यतालाई व्यवहारमा उतार्नु र जीवन सार्थक बनाउन सक्रिय भूमिका खेल्नु आवश्यक छ भन्ने सन्देश यो पुस्तकले दिएको कुरामा प्रकाश पार्नुभएको छ ।
केही धर्मभिरूहरू सङ्कुचित भई विभिन्न मतमतान्तरमा विभाजित भइरहेका छन् । एक अर्कालाई हेलाको दृष्टिले हेर्ने गर्दछन् । धर्मको नाममा अधर्म काम गर्न पनि तमतयार छन् । यो समस्यालाई समाधान गर्न हाम्रो मानव धर्म शीर्षकको ज्यादै गहन कुरालाई अति सरल रूपमा एउटा भजन यस पुस्तकमा रहेको छ । उक्त पुस्तकको पृष्ठ ४१ मा रहेको “हाम्रो मानव धर्म” शीर्षकको भजन ४÷४ हरफको चार पाउ यस भजनमा छन् । श्रीकृष्ण, बुद्ध, यशु, अल्लाह, महावीर सबैको एउटै सन्देश हो – ‘कुनै कुरा आपसमा भेदभाव त्यागी मिलेर बाँच्नु नै मानव धर्म हो । ’
अन्तमा
‘एक सद विप्रा वहुधा वदन्ति’ भन्ने वेद बचनको अनुशीलनको नमूना प्रस्तुत यस भजन सङ्ग्रह रहेको छ । प्रस्तुत भजनमालामा डुबुल्की मार्दा गणेश वन्दना, विष्णु वन्दना, शिव स्तुति, भगवती स्तुति, सूर्यदेव स्तुतिलाई शुरूमै समेटेर पाञ्चायन देवताप्रतिको निष्ठा दर्शाएर सनातन धर्मका मूल मर्मलाई प्रस्तुत गरेर यो भजनमालाले अरू भजनमाला तयार गर्न चाहने रचनाकारहरूलाई पनि भजनमाला तयार गर्ने नमूनाको रूपमा प्रस्तुत गर्नु ढुण्डिराजजीको वैशिष्ट्य रहेकोले श्री ढुण्डिराज पोखरेललाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।
भवतु सर्व मङ्गलम् । किम अधिकम् ?
०००
साभार ः गगन मण्डलका ताराहरु पुस्तकबाट
फाेटाेमा हेर्नुहाेस्...
