ललितपुरको शैक्षिक धरोहरमा नयाँ अध्याय: डिलाईट किन्डरगार्डेन हाईस्कुलको रजतजयन्ती भव्य सम्पन्न


फाल्गुन ९, २०८२, शनिबार | साँझ ०४:५७ बजे | 110


ललितपुरको शैक्षिक धरोहरमा नयाँ अध्याय: डिलाईट किन्डरगार्डेन हाईस्कुलको रजतजयन्ती भव्य सम्पन्न

ललितपुर महानगरपालिका–२६, ढोलास्थित डिलाईट किन्डरगार्डेन हाईस्कुलले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजतजयन्ती महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजित समारोहमा शिक्षा, संस्कृति र उत्सवको अनुपम संगम देखिएको थियो। हास्य कलाकार मदनकृष्ण श्रेष्ठद्वारा उद्घाटन कार्यक्रमको उद्घाटन वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गर्नुभएको थियो।

उद्घाटन मन्तव्यका क्रममा उहाँले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पठनपाठनसँगै उनीहरूभित्र निहित ज्ञान, सिप र प्रतिभालाई निखार्ने वातावरण आवश्यक रहेकोमा जोड दिनुभयो। “विद्यालय, शिक्षक र अभिभावकले मिलेर बालबालिकाको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो। १३ विद्यार्थीबाट २५ वर्षको गौरवमय यात्रा विद्यालयकी प्रधानाध्यापिका रश्मिरा शाक्यले भावुक मन्तव्य दिँदै विद्यालयको यात्रालाई स्मरण गर्नुभयो। “२०५६ सालमा विद्यालय अध्यक्ष सुनील लामा र मेरो संयुक्त लगानीमा मात्र १३ जना विद्यार्थीबाट सुरु भएको यो विद्यालयले आज २५ वर्षको गौरवमय इतिहास पूरा गरेको छ। यो हामी सबैको सोच, संघर्ष र अथक मिहिनेतको उत्सव हो,” उहाँले भन्नुभयो।

उहाँका अनुसार विद्यालयले सुरुदेखि नै बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शिक्षा प्रदान गर्दै आएको छ। परीक्षाको अंक मात्र नभई लेखन, वाचन, सिर्जना र खेलकुदजस्ता पक्षलाई पनि मूल्यांकनको आधार बनाइएको छ। सिकाइलाई रमाइलो र प्रभावकारी बनाउन ‘कुमन गणित’ (जापानी विधि) जस्ता नवीन शैक्षिक पद्धति अपनाइएको जानकारी समेत उहाँले दिनुभयो। २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका कठिन समयमा विद्यालयले समाजसेवा र राहत कार्यमा सक्रिय भूमिका निर्वाह गरेको प्रसंगले कार्यक्रमलाई थप भावुक बनाएको थियो। प्रविधिमैत्री र उत्पादनमूलक शिक्षामा जोड विद्यालयका अध्यक्ष सुनील लामाले समसामयिक शिक्षा प्रणालीमा प्रविधिको उपयोग अनिवार्य बन्दै गएको उल्लेख गर्दै सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा उत्पादनमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो। “शिक्षालाई जीवन पद्धतिसँग जोड्न सके मात्र विद्यार्थी भविष्यका सक्षम नागरिक बन्न सक्छन्,” उहाँले बताउनुभयो। सम्मान र सांगीतिक प्रस्तुति कार्यक्रममा लामो समयदेखि विद्यालयमा योगदान पुर्याएका शिक्षक तथा कर्मचारीलाई मञ्जरी शाक्यद्वारा सम्मानपत्र प्रदान गरिएको थियो। उपमेयर शाक्यले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो। सांस्कृतिक कार्यक्रमतर्फ ‘श्रुतिभधुर धुन’ शीर्षकमा विशेष सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। वरिष्ठ संगीतकार तथा गायक जुजुकाजी रञ्जित र वरिष्ठ संगीतकार मनराजा नकर्मीको मनमोहक प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको थियो। विद्यार्थीहरूले पनि विविध नृत्य तथा गीतमार्फत आफ्ना प्रतिभा प्रस्तुत गर्दै उपस्थित सबैको मन जिते। उत्सवमय विद्यालय परिसर रजतजयन्ती महोत्सवका अवसरमा विद्यालय परिसरलाई उत्सवमय बनाउँदै विभिन्न खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, मनोरञ्जनात्मक खेल तथा खाद्य स्टलहरू सञ्चालन गरिएको थियो। यसले कार्यक्रमलाई थप जीवन्तता र रौनक प्रदान गरेको थियो। २५ वर्षको यात्रा पूरा गरेको यस ऐतिहासिक अवसरले विद्यार्थी, अभिभावक र शिक्षकका लागि अविस्मरणीय क्षण सिर्जना गरेको छ। डिलाईट किन्डरगार्डेन हाईस्कुलले आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

Comments