अमर अधिकारीः एकाएक चर्चामा आएका स्रष्टा
फाल्गुन ८, २०८२, शुक्रबार | राति ०९:५२ बजे | 1345
अरुण खत्री ‘नदी’
२०८१ साउन १८ गते अनलाइनखबरमा ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको लेख सर्वाधिक लोकप्रिय बनेपछि त्यसका लेखक अमर अधिकारी एकाएक चर्चामा आए । सो लेख प्रकाशन भएपछि पूर्व इलामदेखि पश्चिम डडेलधुरासम्मका विभिन्न सञ्चार माध्यमहरुले साभार गरेर महत्वका साथ प्रकाशन पनि गरे । यतिले नपुगेर अभिभावकहरुको नजर परोस् भनेर सो लेख विद्यालयका सूचना पाटीमा पनि टाँसियो । सो लेख प्रकाशन गर्ने पहिलो आधिकारिक प्रकाशनगृह अनलाइनखबरले आफ्नो वेबस्टोरीमा पनि महत्वका साथ सो लेख राख्यो । त्यसपछि अमरको सो लेखको शीर्षकसँग मिल्दोजुल्दो शीर्षक राखेर अरुहरुका पनि लेखहरु प्रकाशन हुथाले । सो लेखबाट उनले आर्थिक लाभ लिन नसके पनि र नचाहे पनि लेखले प्रसिद्धि पाएका कारण नै उनी धेरै सन्तुष्ट छन् । त्यसै लेखले हौस्याएपछि उनले आफू संलग्न सानो समूह भएर ‘बालसंस्कार डटकम’ नामको अनलाइन बालपत्रिकाको शुरुआत पनि गरे । उनले उक्त अनलाइनको सम्पादक भएर कार्य गर्दैआएका छन् । सो अनलाइनमा देश विदेशबाट प्राप्त बाल सामग्रीहरु प्रकाशन भैरहेका छन् ।
२०२१ साल असार १९ गते माता रामकुमारी तथा पिता तेज प्रसादका द्वीतिय सुपुत्रका रुपमा तत्कालीन प्यूठान र हालको रोल्पाको खुंग्रीमा पर्ने धारापानीमा जन्मिएका अमरले सानैदेखि घरायसी कामहरु समेत गर्दैआएका रहेछन् भन्ने कुरा उनकै आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ मा उल्लेख छ । साथै बेलाबेलामा प्रकाशन हुने उनका आत्मवृतान्त लेखहरुबाट पनि उनका बखतबखतका तमाम क्रियाकलाप अनि संघर्षका कुराहरु पढ्न सकिन्छ । पछिल्लो समय उनी मुक्तक विधामा बढी पोख्त र सक्रिय देखिन्छन् । एकैछिनमा लेख–रचनाहरु रचना गर्ने सायद उनी नै पहिलो होलान् । एउटा लेख तयार गर्न अरुलाई हप्ता दिन लाग्छ भने उनले बाह्र सय शब्दको लेख दुई घन्टामै तयार गर्छन् । कम्प्युटर अपरेटर, भाषाविद्, व्याकरणविद् उनलाई आवश्यक पर्दैन, सबैमा आफै पोख्त छन् । त्यति बोल्न नरुचाउने अमर साहत्यि–लेखन कार्यमा भने माहिर नै देखिन्छन् । उनी जादुगर सर्जक भनेर पनि चिनिन्छन् ।
२०३६ सालसम्म रोल्पाको खुंग्रीस्थित त्रिपुरेश्वरी निमाविमा अध्ययन गरेका उनले २०३६ देखि २०३९ सालसम्म प्यूठानको भिंग्रीस्थित अमर माविमा अध्ययन गरेका रहेछन् । २०३९ सालको एसएलसी परीक्षा उत्तीर्ण भएपछि २०४० साल भदौमा उनी उच्चशिक्षा अध्ययनका लागि काठमाडौँ प्रवेश गरेका थिए । २०४० साल असोज ९ गते ललितपुरको लगनखेलस्थित नमूना मच्छिन्द्र क्याम्पसमा बिहानी कक्षाको आइ.कम. को पढाइ शुरु गरेर त्यसैदिन १० बजे पुतलीसडकस्थित वीरगंज चिनी कारखाना लि. को सम्पर्क कार्यालयमा जागिर शुरु गरेका थिए । २०४६ मा शंकरदेव क्याम्पसमा बि.कम. मा भर्ना भए पनि उनी दोस्रो वर्षमा खासै क्याम्पस गएनछन् । अर्थशास्त्रमा एम. ए. सम्म अध्ययन गरे तापनि अर्थात् साहित्यको विद्यार्थी नभए तापनि पछिल्लो समयसम्म साहित्य–लेखनमा निकै सक्रिय छन् अमर ।
मैले अमर अधिकारीको नाम सुनेको २०४२।४३ सालतिर हो । उनको नाम पत्रपत्रिकाहरुमा प्रकाशित पत्रमित्रतामा देखिन्थ्यो भने उनी पेनफ्रेण्डमा पनि सक्रिय थिए । तर मैले उनलाई पहिलोचोटी प्रत्यक्ष देखेको र चिनेको भने २०५६ सालपछि हो कुनै एक साहित्यिक कार्यक्रममा । २०५३ सालमा गोरखापत्रमा उनको पहिलो कथा ‘भाग्य र कर्म’ प्रकाशन भएपछि उनको साहित्यिक यात्रा शुरु भएको रहेछ । त्यसपछि गोरखापत्र र त्यसका सहप्रकाशन मधुपर्क, युवामञ्च, मुनामा समेत लेख–रचनाहरु प्रकाशन हुदैगए भने कान्तिपुर र त्यसका सहप्रकाशनहरुमा समेत अमरका लेख–रचनाहरु निरन्तर प्रकाशन हुँदैगए । २०६१ सालमा उनको पहिलो कृतिको रुपमा बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ प्रकाशन भयो । त्यसपछि उनका लेख–रचनाहरुले केही वर्षसम्म सुस्तता लिन थाल्यो, सरकारी जागिरको दौरानमा सायद समय मिलाउन कठिन भएर नै होला । २०७९ असार २३ गतेदेखि सरकारी सेवाबाट अनिवार्य अवकाश लिएपछि भने उनी पुनः साहित्य–लेखनका क्षेत्रमा होमिए । २०७९ मै उनको एउटा गीत रेकर्ड भएर बजारमा आइसकेको छ भने थप दुई गीत र एक भजन रेकर्डिङका लागि कुरा भैरहेको छ । २०८० मा उनको आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ प्रकाशन भयो । जुन पुस्तकले चर्चा पनि पायो र अमरको थप उचाइ बढाइदियो । लगत्तै उनको ‘रापतीका अलग शब्दहरु’ (भाषिका) पनि प्रकाशन भयो, सो भाषिकाको दोस्रो संस्करणको रुपमा हाल प्रकाशन हुने क्रममा छ । अमरका आगामी दिनहरुमा आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशनका लागि लाइनमा रहेका छन् । ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ डा. घनश्याम पुडासैनीले लेखिसक्नुभएको छ र एकवर्षअघि नै सो विमोचन भैसकेको छ ।
धेरै स्रष्टा वा सर्जकहरुले फेसबुकमा अमरको शैली अपनाउन थालेपछि उनी दङ्ग नपर्ने कुरै भएन । कतिपयले उनको क्याप्सन नै कपि पेस्ट गरिहाल्छन् । आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित उनको पहिलो लेखले सिंहदरबारमा तरङ्ग नै पैदा गरेको थियो । सो लेख प्रकाशन भएको भोलिपल्टै सिंहदरबारभित्र सुरक्षा सम्बन्धी तत्काल सुधारका कामहरु भएका थिए । उनको एउटा लेखका कारण एक महानगरका मेयरलाई गृहिणीहरुले घेर्नपुगेका थिए । ‘गुणस्तर विभागको सेरोफेरो नै गुणस्तरहीन’ शिर्षकको उनको अर्को लेखले गुणस्तर विभागमा व्यापक सुधार भएको देखियो । उनका लेखहरुका कारण प्रशासनिक क्षेत्रमा पनि सुधारहरु हुँदैआएको पाइन्छ । यसरी राष्ट्रियस्तरमै प्रभाव पर्ने गरी लेख्ने लेखक विरलै होलान् । कतिपय सञ्चार माध्यमले लेख–रचनाहरु माग्ने गरेको बताउदै उनले आफूलाई भ्याइनभ्याइ हुनुपरेको पनि बताउछन् । उनले एक मिनेट पनि खेर फाल्दैनन् ।
देशकै चल्तीका सञ्चारगृह भनेर चिनिने अनलाइनखबर मात्र होइन सेतोपाटी, लोकान्तर, बाह्रखरी, साहित्यपोस्ट जस्ता अनलाइन पत्रिकाहरुमा उनका लेख–रचनाहरु महत्वका साथ प्रकाशन हुनेगर्छन् । देशमा व्याप्त भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्धमा आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित लेखहरु प्रभावकारी देखिदैआएको पाइन्छ । उनका त्यस्तै किसिमका लेख–रचनाहरु व्यङ्ग्यात्मक रुपमा फित्कौलीमा पनि निरन्तर प्रकाशन हुँदैआएको छ । उनका लेखहरु पठकहरुबाट अरुका लेखहरुभन्दा कैयन गुणा बढी सेयर भएको वा फैलाइएको पाइन्छ । अनलाइनखबर र सेतोपाटीमा एकैदिन दुई फरकफरक लेख प्रकाशन भएको पनि छ अमरका । त्यस्तै साहित्यपोस्ट र बाह्रखरीमा साहित्यिक रचना एकैदिन प्रकाशन भएको पनि छ । इमेल गरेर पठाएको दश मिनेटभित्रमा उनका लेख–रचनाहरु प्रकाशन भएको पनि देखिएको छ । जुम्लादेखि दोलखासम्मका पत्रपत्रिकाहरुमा उनका लेख–रचनाहरुले स्थान पाउदै आएको देखिन्छ । सञ्चार माध्यमहरु, साहित्यिक संस्थाहरु, प्राज्ञहरुसँग नजिकिदै गरेका अमरले साहित्य–लेखनका क्षेत्रमा आफ्नो गहिरो छाप छोडिसकेका छन् । कुनै कार्यक्रम चलिरहँदा वा कार्यक्रम सकिएपछि अमरसँग फोटो खिचाउनेहरु पनि हुन्छन्। उनीसँग कोही सेल्फी लिइरहेका हुन्छन् त कोही सामुहिक फोटो लिइरहेका हुन्छन् । एक किसिमले भन्नुपर्दा अमरले साहित्य–लेखनका क्षेत्रमा छोटो अवधिमै ख्याति कमाइसकेका छन् । तर उनी आफूलाई सामान्य नै ठान्छन् ।
विश्वमा सबैभन्दा छोटो लघुकथाका कथाकार अर्नेष्ट हेमिङ वे हुन् जसले छ शब्दमै लघुकथा टुंग्याएका थिए भने अमरले चौबिस शब्दमै लघुकथा टुंग्याएका थिए । उनको सो लघुकथा गोरखापत्रको सहप्रकाशन मधुपर्कमा प्रकाशन भएको थियो । लेखन गति अझ तीब्र बनोस् भनेर उनले अमेरिकाबाट स्वर्णाभ कलम पनि प्राप्त गरिसकेका छन् । उनले छोटो अवधिमै सम्मान र पुरस्कारहरु पनि पाउदैआएका छन् । ‘प्रेमकुमार सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार २०८१’ बाट समेत सम्मानित अधिकारी समाज उत्थानका लागि नै साहित्य–लेखनमा सक्रिय रहनुपरेको बताउछन् । सिर्जनशिल टोल सुधार समितिको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोपीन्द्र पौडेलले उनलाई ‘सुपरराइटर’ को उपाधि प्रदान गर्नुभएको छ भने उहाँले सोही कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा अमरलाई ‘तुफानी लेखक’ को संज्ञा पनि दिनुभएको छ । ‘अमर अधिकारी व्यक्तित्व र कृतित्व’ का लेखक तथा सम्पादक डा. घनश्याम पुडासैनीले त्यतिबेलै अमरलाई ‘आसुसाहित्यकार’ को उपनाम दिनुभएको छ । त्यस्तै वरिष्ठ गीतकार तथा पूर्वप्रशासक डा. दामोदर रेग्मीले उनलाई ‘देशभक्त’ र ‘प्रकृतिप्रेमी’ को उपाधि दिनुभएको छ भने लोकसेवा आयोगका पूर्व सहसचिव अर्जुनमणि दीक्षितले अमरलाई ‘ब्राण्ड एम्बेसडर अफ रोल्पा’ को उपनाम दिइसक्नुभएको छ । त्यस्तै पूर्व प्रमुख जिल्ला अधिकारी दानध्वज बस्नेतले उनलाई ‘मल्टिडाइमेन्सनल पर्सनालिटी’ को उपनाम दिनुभएको छ भने नेपाल खाद्य संस्थानका पूर्व विभागीय प्रवन्धक तथा वरिष्ठ गायक रण बहादुर बुढाथोकीले उनलाई ‘मेमोरी किङ’ को संज्ञा दिनुभएको छ । रोल्पाका एक राजनीतिज्ञले उनलाई ‘रोल्पाका हस्ती’ र कतिपयले अमरलाई ‘रापतीका गौरव’, ‘खुंग्रीका गहन’ जस्ता उपनाम दिएका छन् । अमरका कुनै बखत इस्माली माइला, अमर रोल्पालीको नामबाट समेत लेख–रचनाहरु प्रकाशित हुँदैआएका थिए । साहित्य–लेखनतर्फ विभिन्न कीर्तिमानहरु रचेका कारण उनी अमर कीर्तिमानीको नामले पनि चिनिन्छन् । उनी आफ्नै जन्मथलो रोल्पाको खुंग्रीमा त्रिपुरा पुस्तकालय तथा वाचनालय स्थापना गर्ने सुरसारमा छन् । सोका लागि विभिन्न स्रष्टाहरु तथा संस्थाहरुबाट पुस्तकहरु सङ्कलन भैरहेका छन् ।
उनका दुबै फेसबुक एकाउन्ट मनिटाइज भएर पनि आम्दानीको रुपमा डलर आउनथालेको पाइएको छ । साथै युट्युब च्यानल पनि मनिटाइजको नजिक पुगेको छ । अमर टिकटकमा पनि रमाइरहेको पाइन्छन् । उनले फेसबुकमा पस्किने सामग्रीहरु ज्ञानवर्धक, रमाइला र नागरिकलाई सचेत गराउने खालका हुने हुँदा उनका पोस्टहरु धेरेले रुचाउने र उनले उल्लेख गरेका कुराहरु अरुले हुबहु कपी गरेर पोस्ट गरेको पनि पाइन्छ । आफूले अपनाएको शैली अरुले अनुशरण गर्दा पनि उनी दङ्ग नै पर्छन् । कान्तिपुरमा प्रकाशित उनको कविता ‘हाम्रा बाजे’ एक स्कुले विद्यार्थीले अन्नपूर्णपोस्टमा प्रकाशन गराएपछि अमर त झन् खुशी पो भएछन् । उनी बाटोमा हिँड्दाहिँड्दै सम्झेका कुराहरु मोबाइलमा टिपोट गरिहाल्छन् । बस स्टेशनमा गाडी कुरिरहेका बेला पनि मोबाइलमा केही न केही कोरिरहेका हुन्छन् उनी । अस्पतालको लाइनमा होस् वा अन्य कुनै निकाय वा संस्थामा सेवाग्राही बनेर होस् लाइनमा उभिइरहेको बेला उनले मोबाइलको सहारामा लघुकथा, मुक्तक लेख्न भ्याइहाल्छन् । लेखहरुका लागि मुख्यमुख्य बुँदाहरु टिपोट गरेर घरमा आएर लेख तयार गरिहाल्छन् उनी । उनको यो अलौकिक क्षमता हो भन्दा पनि फरक पर्दैन । लेखहरु लेखे बापत कुनैकुनै सञ्चार माध्यमहरुबाट उनले पारिश्रमिक पनि पाउँछन् । नेपालमा सबैभन्दा कम पेन्सन बुझ्ने सरकारी अधिकृत सायद उनी नै होलान् । किन कि उमेरले ३५ वर्ष पार गरेपछि मात्र उनले निजामती सेवाको जागिरमा नियुक्ति पाएका रहेछन् । लोकसेवा आयोगको परीक्षाका लागि फाराम भर्दाका बखत उनी ३५ कटेका थिएनन् । आफू कार्यरत रहेको वीरगंज चिनी कारखाना लि. डुब्दै गएर तलब–भत्ता खुवाउन नसक्ने अवस्थामा पुगेपछि उनले लोकसेवा परीक्षा उत्तिर्ण गर्नु नै उनका लागि ठूलो शौभाग्यको कुरा ठानिन्छ । किन कि उनले लोकसेवा पास नगरेको भए उनी कहाँ हुनेथिए, सायद मसँग भेटघाट पनि हुने थिएन होला । उनी मालपोतको हाकिममो कुर्सीलाई समेत अप्रिय ठानेर तत्काल सरुवा गराएर आकर्षक नठानिने खेलकूद मन्त्रालयमा हाजिर भए । उनी नैतिकतामा बस्न चाह्न्छन् र इमानदारिता उनको लक्ष्य पनि हो ।
अमरलाई ‘बैसठ्ठी वर्षीय युवा’ भनेर समाचार पनि प्रकाशन भैसकेको छ । सरकारी सेवाबाट अवकाश भएको चार वर्ष हुनलाग्दा समेत उनमा उर्जा देखिन्छ, उनी युुवा झैँ सक्रिय देखिन्छन् । बिहानै तीन–चार बजे नै उठेर पुस्तक, पत्रिका तथा स्मारिका सम्पादका काममा लागिरहन्छन् । अवकाशपछि तीनगुणा बढी व्यस्त रहने पनि सायद उनी मात्र होलान् भन्न सकिन्छ । अमर अधिकारी अर्थात् अमर कीर्तिमानी सम्बन्धी समाचारहरु मात्र संकलन गरेर प्रकाशन गर्ने हो भने दुई सय पृष्ठको पुस्तक बन्छ । त्यस्तै उनका लेखहरुको संगालो संकलन गरेर प्रकाशन गर्ने हो भने पुस्तकका दर्जन शृंखलाहरु बन्छन् ।
सम्पत्ति सकिदै गएपछि उनी रमाउदै आएका छन् । मान्छेहरु रमाउनका लागि सम्पत्ति थुपार्ने गरेको पाइन्छ । तर अमर त्यसको ठीक विपरित देखिन्छन् । काठमाडौँमा बासको व्यवस्था गर्नुपर्दा उनले गाउँमा रहेको पिचबाटो छेउँको अर्थात् हाइवेसँग जोडिएको किमती जग्गा कहिले पेट्रोलपम्पका लागि त कहिले विद्युत प्राधिकरणलाई विक्री गरे र प्राप्त नगद कर्मचारी सञ्चयकोषमा व्याज तथा किस्ताको रुपमा बुझाए । उनको लालपूर्जा हेरेमा सम्पत्ति सून्यप्रायः देखिन्छ । सम्पत्ति नभए पनि उनका एक मात्र छोरा अमेरिकामा वैज्ञानिकको रुपमा अध्यययन र अनुसन्धानमा संलग्न छन् । छोराले अमेरिकाको नर्थ इल्लिनोइ राज्यको सिकागो सहरस्थित युआइसीबाट पिएचडि सकेर हाल पेन्सिलभानियाको फिलाडेल्फिया सहरस्थित टेम्पल युनिभर्सिटीबाट पोस्ट–पिएचडि गर्दैछन् ।
प्रकाशितरप्रशारित अन्तर्वार्ताहरुः
१. जय वागमती टेलिभिजन
२. बोधी सञ्चार टेलिभिजन
३. नेपाल बोर्डर टेलिभिजन
४. रेडियो नेपाल सुर्खेत प्रशारण केन्द्र
५. रेडियो सभ्यता, रोल्पा
६. कुटिरो डटकम, जुम्ला
७. सुसन्देश, काभ्रे
८. अनलाइन साझा, रोल्पा
९. जनआकांक्षा साप्ताहिक, रोल्पा
जीवनी प्रकाशन गर्ने पत्रिकाहरुः
१. संसाक अंक १५०– कल्पना मरासिनी
२. नेपालीमाला डटकम– गंगा खतिवडा
३. शिवपुरी सन्देश अंक १०९– गंगा खतिवडा
४. नेपाली सरोकार– सुनिता अधिकारी
५. फित्कौली अनलाइन– रेहित सैँजु
समीक्षाः कल्पतरु अंक ११२
समालोचनाः शिवपुरी सन्देश अंक १०५
