नव अरुणिमा माध्यमिक विद्यालयको अभिभावक दिवस सम्पन्न


माघ २५, २०८२, आइतबार | साँझ ०६:५७ बजे | 55


नव अरुणिमा माध्यमिक विद्यालयको अभिभावक दिवस सम्पन्न

माघ २५, काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित नव अरुणिमा माध्यमिक विद्यालय आरुबारीको अभिभावक दिवस २०८२ सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीको प्रमुख आतिथ्यमा विशिष्ट अतिथिद्वय गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल उप–मेयर सान्नानी लामा तथा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा लगायत विभिन्न क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूको सहभागितामा विद्यालय प्राङ्गणमा अभिभावक दिवस आयोजना गरिएको हो । कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका छात्र–छात्राहरूले विविध लोक तथा आधुनिक नृत्य एवम् गायन, अर्केस्ट्रा, योग, तेक्वान्दो, सचेतनामूलक नाटक लगायतका प्रस्तुतिहरू देखाएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद दंगालले विद्यालयमा भएका प्रशासनिक, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी गतिविधिहरूको समग्र पक्षका बारेमा प्रकाश पार्नुभयो । अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गानाले विद्यालय स्थापनाकालमा स्थानीयहरूले पु¥याउनु भएको योगदानको स्मरण गर्दै रमेश विकल, बुद्धि बहादुर थापा, विजय चालिसे, सनत कुमार रिसाल, पृथ्वीमान सिंह बस्नेत लगायतका ब्यक्तिहरु प्रति आभार ब्यक्त गर्दै निजी शैक्षिक गुठीको अवधारणाबारे प्रकास पार्नुभयो । नगर प्रमुख दिपक कुमार रिसालले नव अरुणिमाले उपत्यकाको पूर्वी भेगमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको धारणा राख्नुभयो । नगर उपप्रमुख सान्नानी लामाले नव अरुणिमा नगरपालिका कै एक नमुना विद्यालयका रुपमा रहेको जानकारी गराउनुभयो । पूर्वविद्यार्थीहरूको तर्फबाट मन्तव्य राख्दै सञ्जिता चालिसेले नवअरुणिमाको विद्यार्थी हुनु गर्वको विषय भएको बताउनुभयो । सोही अवसरमा क्रिकेटमा विशेष रुचि तथा क्षमता भएका विद्यार्थीहरू मध्येबाट उत्कृष्ट विद्यार्थीहरूलाई अरुणिमा परोपकार प्रतिष्ठान अन्तर्गतको अमोद स्मृति क्रिकेट पुरस्कार कोषबाट नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि ठाकुर शर्मा भण्डारीले विद्यार्थी भाइबहिनीहरूलाई विद्यालयले अत्यन्तै आवश्यकीय कुराहरू अध्यात्म, संस्कृति, चालचलन, परम्परा आदि सिकाएको उनीहरूले देखाएको प्रस्तुतिबाट झल्किएको कुरा उल्लेख गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष नव अरुणिमा मा.वि.का अध्यक्ष गोपाल प्रसाद बरालले गुणस्तरीय शिक्षामा विद्यालयले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै तर्फबाट विद्यार्थी, अभिभावक र स्थानीयको हातेमालोका साथ संस्था अघि बढिरहेको बताउनुभयो ।

Comments