डा. इन्दुलको ‘शब्दसागरका मोती’ टिप्न पस्ता
माघ २१, २०८२, बुधबार | साँझ ०५:४४ बजे | 125
टिप्पणीकार
पदम दाहाल
लोकन्थली
व्यक्तित्व र कृतित्व
समालोचक डा. इन्दुल केसीद्वारा समीक्षासङ्ग्रहका रुपमा प्रकाशित ‘शब्दसागरका मोती’ नामक ९० पृष्ठमा लेखिएको कृतिको प्रकाशक अनुशीलन नेपाल रहेको छ । कृतिको सुरुमा उनकी धर्मपत्नी र छोरी दुईजनाकोसंयुक्त शुभेच्छा रहेको छ । उक्त कृतिउपर प्रा. डा. कृष्णप्रसाद दाहालद्वारा आफ्नो गहन समालोचकीय भूमिका लेखिएको छ । उनी लेख्छन्, ‘शब्दसागरका मोती स्वयम्मा विषयगत विविधताको मौजीमसला हो ।’ अर्काे एक ठाउँमा डा. दाहाल भन्छन्, ‘मोतीराम भट्टले नेपाली साहित्यको इतिहासमा आफूलाई मात्रै नचिनाएर आफूभन्दा पूर्ववर्ती र समवर्ती साहित्यकारहरुलाई चिनाउने काम गरेजस्तै डा.इन्दुलले पनि अरुलाई चिनाएर साहित्यिक सन्तुष्टि लिने काम गरेका छन् । यो कृतिको मूल प्राप्ति भन्नु यही नै हो ।’ यसो भनिरहँदा के अवगत हुन्छ भने ८२ वर्षीय डा. इन्दुलले उक्त पुस्तकभित्र २२ जना लेखकका विविध विधा र विषय क्षेत्रका कृतिउपर सङ्क्षिप्त रुपमा समीक्षात्मक विश्लेषण गर्न पुगेकाछन् । २२ मोतीका दानालाई एउटै मालामा उनेका छन् । अनेकन विविधता र विशेषता बोकेको मालाको हार बनेको छ यो चीज । यसमा विधागत विविधतालगायत विभिन्न समावेशिता पाइन्छ जसलाई यसरी प्रकाश पार्ने प्रयत्न गरिएको छ ः
१) धर्म र दर्शनमा आधारित भै शब्दसागरको गहिराइमा पसी मोती बटुल्न गरिएको विश्लेषण हो यो ।
२) आध्यात्मिक जगत्का होनहार लेखकका एक से एकग्रन्थमाथि पसेर त्यसभित्रबाट मन्थन गरी निकालिएको नौनीको मिठास छ यसभित्र ।
३) ओतबहादुर खड्काको ‘वेद के भन्छ?,’ ‘ईशावास्योपनिषद्’, टीकाराम अर्यालको ‘जीवन दर्शन’, शताब्दी पुरुष सत्यमोहन जोशीको ‘महर्षि याज्ञवल्क्य’(नाटक) देखि लिएर राहुल सांकृत्यायनको ‘दर्शन– दिग्दर्शन’भित्र समेत डुबुल्की मारेर निकालिएको अमृतपान हो यो ।
४) २२ मध्ये नौवटा कृति धर्म र दर्शनसँग सम्बध्द हुनाले विश्लेषक इन्दुलजी अधिकाधिक रुपमा धर्म र दर्शनभित्र पौडिएर आध्यात्मिक रसास्वादन गर्न अभिरुचि राख्ने व्यक्ति हुन् भन्न अन्कनाइरहनु पर्दैन। अरुलाई धर्म र दर्शनको स्वाद चखाउने चाहना छ उनमा ।
५) साहित्य क्षेत्रका आख्यान विधा अन्तर्गत चल्दाबल्दा अहिलेका उपन्यासकार प्रजापति तिमिल्सिनाको ‘कालो पहाड’ देखि लिएर यौनफ्रायडेली कथाकार परशु प्रधान र नेपाल भाषाका कथाकारहरु पशुपतिमान पःमा र तेजकृष्ण ताम्राकार जस्ताका कथा विधामाथि विश्लेषण गर्न सहजै भ्याएकाछन् उनले ।
६) कविता विधामाथि विवेचना गर्ने क्रममा मुक्तककार विष्णु ओलीजीको ‘मेरी परी’ भित्रका मुक्तकदेखि लिएर कवि पदम दाहालको छन्द कविताहरुको सँगालो ‘आँसुको दह’ भित्रका आठवटा बेग्लाबेग्लै छन्दका कविताभित्र डुबेर दृष्टिपात गर्न भ्याएको देखिन्छ ।
७) निबन्ध विधाअन्तर्गत् वासुदेव ढकालको ‘उत्तरी ध्रुव प्रदेशको यात्रा साथै लेखन्तेको जीवनयात्रा’ भित्र पसी नियात्रा वर्णनलाई पनि खोतलखातल पार्न कम्मर कसेका छन् भने चूडाप्रसाद चौलागाईंको ‘विषय र विवेचना’, निर्मला श्रेष्ठको ‘आफू अरुका लागि’, प्रकाशप्रसाद उपाध्यायको ‘छेउ न टुप्पो’ सम्मका निबन्धउपर गहिरिएर तिनको रसास्वादन गरी पाठक समक्ष प्रसाद बाँडचुँड गर्न पनि सफल छन् ।
८) सहलेखनको ‘सङ्गीत मन्थनाञ्जली’ को गुदी निकालेर सङ्गीतको सिप चाख्न चाहनेहरुका लागि पनि विश्लेषणात्मक खुराक बाँड्न चाहेका छन् । उता साधुराम गिरीको ‘मान्छे, प्रकृति र भेगन’ बिरौलासङ्ग्रह अध्ययन गरी भेगनहारी हुनका लागि प्रोत्साहन गर्न उत्तिकै आतुर छन् ।
९) इतिहासकार जीवनाथ अधिकारीको ‘प्राचीन विश्व इतिहासको सङ्क्षिप्त चर्चा’ पुस्तकभित्र पसी विश्वको ऐतिहासिक घटनाक्रम चखाउन पनि इन्दुलजी लालायित छन् ।
१०) नेपाल भाषामा लेखक प्रेमकृष्ण ताम्राकारद्वारा लिखित ‘मतिनाया सः’ को भने उनले नेपाली भाषामा विवेचना नगरी नेपाल भाषालाई नै पछ्याएका छन् । तर, नेपाल भाषा नबुझ्नेका लागि चाहिं उक्त विश्लेषण थोतेलाई ठेट्ना मकैको खाजा हुनजाला कि भन्ने लागेको छ ।
२२ कृतिमाथिको अध्ययनविश्लेषण पश्चात् अन्त्यतिर पहिल्याउँदा रचनाकारकै ‘शब्दचित्रमा म’ भन्ने कविता,इन्दुलकै जीवनी, उनैको पछिल्लो रचना, ‘सगुन भजन’ सहित लेखक र सङ्गीतकार सत्यनारायण मानन्धरको फोटो पाइन्छ । भजनले मर्यादापुरुष रामचन्द्रका आदर्श पालना गरौँ, अवतारी कृष्ण भगवान्को गीताज्ञान आर्जन गरौँ, महामानव बुध्दको शान्तिमार्गमा लागौँ र समाजसेवामा संलग्न होऔँ भन्ने सन्देशमूलक विचार प्रवाह गर्दछ ।
हार्दिक शुभकामना
यस पुस्तकको अघिल्लो आवरणमा बाईस मोतीका गोटी उनिएर २२ जना सर्जक एउटै मालामा उनिएको प्रतीकात्मक चित्र झल्किन्छ । पछिल्लो आवरण पृष्ठमा समालोचकीय भूमिकाकार प्रा.डा. कृष्णप्रसाद दाहालको इन्दुलप्रतिको दृष्टिकोणसहित सन्तभेष र पहिरनमा रहेका समीक्षक इन्दुलको महात्माझैं लाग्ने शालीन तस्बिर उभिएकोअवस्थामा छ । समग्रमा इन्दुलको यो पुस्तक ‘शब्दसागरका मोती’ विविधताको कसीमा गुजुल्टिएको एक समीक्षात्मक सँगालो हो । जीवनको यस उत्तरार्ध्दमा उनी जसरी कस्सिएर साहित्य साधनामा र समालोचनात्मक रचना जन्माउनमा लागेका छन्, त्यसमाथि पटक्कै मन्दी नआइदेओस्, जाँगर र खटाइ उत्तिकै अघि बढिरहोस् । यस्ता २÷४ कृति अझै पनि ‘मित्र पदम दाहालज्यूमा सप्रेम उपहार !’ भनेर पाइरहनसकूँ, हार्दिक शुभकामना छ लेखकलाई ।
फाेटाेमा हेर्नुहाेस्...
