मौलिक संकथनका समालोचनाहरु


माघ २०, २०८२, मङ्गलबार | साँझ ०६:२४ बजे | 110


मौलिक संकथनका समालोचनाहरु

बलराम प्रजापति
अध्यक्ष, जरोकिलो प्रतिष्ठान
प्रारम्भ
डा. इन्दुल केसीको समीक्षासङ्ग्रह शब्दसागरका मोती पुस्तक पढेर उहाँको व्यक्तित्वको थप आयाम नियाल्ने अवसर जुर्याे । डा. केसीका विविध आयामहरु छन् । जसमध्ये नेपाली मौलिकताको संरक्षण, प्रवर्धन र यसको संकथन निर्माण गरी नेपाली मौलिकताको मूलप्रवाहीकरण पनि एक महत्वपूर्ण आयम रहँदै आएको छ । यसका लागि हामीलाई उहाँले निरन्तर मार्ग निर्देशन गर्दै आउनु भएको छ । म स्वयं संस्थापक अध्यक्ष भएर क्रियाशील रहँदै गर्दा उहाँ सहृदयता समाज नेपालका सल्लाहकारका रुपमा रहनु भएको छ । समग्रमा जरोकिलो महाअभियानमा उहाँको योगदान उहाँको व्यक्तित्वको अविच्छिन्न पाटो रहेको छ । निरन्तर लेखनी मार्फत आफ्ना विचार र विवेचनाहरु प्रस्तुत गर्ने उहाँको व्यक्तित्व र कृतित्वलाई उहाँको यो समीक्षा संग्रहले थप उजागर गरेको छ ।
शब्दसागरका मोती
    प्रस्तुत पुस्तकमा डा. केसीले २२ वटा विभिन्न पुस्तकहरुको समीक्षा समेट्नु भएको छ । यहाँले वेद, उपनिषद्, दर्शन, साधना, साहित्य तथा संगीतलगायतका विविध विषयका पुस्तकहरुको अध्ययनहरु पश्चात आफ्ना भावनाहरुलाई समालोचनात्मक रुपमा अभिव्यक्त गर्नु भएको छ । पुस्तकमा उहाँका फराकिलो अध्ययन र ती विषयहरुप्रतिको रुचिका साथै विज्ञताको पनि झलक देख्न सकिन्छ । पुस्तकमा वेदको प्रादुर्भाव, वेद मन्त्रको परिचर्चा, यसको आध्यात्मिक सन्देश, अधिदैविक चेतनालाई प्रबलतम् उजागर गरेको  नुगः घाः को मानसिक अवस्थादेखि अभाव र समाजको निर्मम भौतिक आयाम समेटिएको धनियाः पुस्तकको समीक्षाहरु समेटिएका छन् । समग्र ताप त्रयका आयामहरु समेटेर पुस्तक समीक्षा संग्रह तयार भएकोले उहाँको जीवन भोगाईको सानो दर्पणको रुपमा यो पुस्तक प्रकाशित भएको देखिन्छ । 
    वेद उपनिषद्को ज्ञानले उहाँलाई आलोकित गरेकै कारणले उहाँ मौलिक संकथनका अनुयायी तथा प्रवर्धक हुुनुहुन्छ । यस कुरालाई महत्वका साथ उहाँले पुस्तकको प्रारम्भमा समेट्नु भएको छ । वेद उपनिषद योगका कुराहरुलाई उहाँले दिनुभएको प्राथमिकताले यी विषयहरुको सघनलार्ई दर्शाएको छ । उहाँ आफैमा एकजना योगको प्रशिक्षक हुनु भएको नाताले पनि उहाँले योगको गहन अध्ययन गर्नु स्वाभाविक भइहाल्यो । त्यसलाई लेखनी मार्फत प्रकाशित गर्नुले उहाँले साहित्यक व्यक्तित्वलाई पनि उजागर गरेको छ । आफै योगको अभ्यासकर्ता तथा प्रशिक्षक हुनु, अध्ययन गर्नु र योगका पुस्तकहरुको समीक्षा गर्नेजस्तो क्षमता एकै व्यक्तिमा विरलै मात्र प्राप्त हुने गुण हुन् । 
    सत्यमोहन जोशीको नाटक याज्ञवल्क्य नाटकको समीक्षामा नेपाली भूगोल, इतिहास र मौलिक दार्शनिक चेतनाका साथै लोकव्यवहार उजागर गरेको कुरा डा. केसीले महङ्खवका साथ उल्लेख गर्नुभएको छ । वास्तवमै नेपालको जरो खोज्ने हो भने, नेपालको मौलिकतालाई केलाउने हो भने हाम्रो इतिहास अति प्राचीन कालसम्म जान्छ । नेपालको इतिहासलाई २५० वर्ष वरको वर्तमान इतिहास र यसमा सीमित दृष्टिकोण राखेर नेपालको इतिहास, भूगोल यसको मौलिकताको यथार्थलाई पहिल्याउन सक्दैनौँ । कतिपय नेपाली राजनीतिकर्मी तथा सामाजिक अभियानकर्ताहरुले यस प्रकारको सिमित दृष्टिकोण राख्ने र समाजमा पनि यसलाई दुष्प्रचार गरेको पाइन्छ । कतिपयले नजानेर नबुझेर यस प्रकारको अभिव्यक्ति दिइरहेका पनि हुन सक्छन् तर नेपाली समाजलाई विशृङ्खलित पार्न नेपालको इतिहासलाई, भूगोललाई यहाँको समाजिक संरचना र यहाँको मौलिक लोकव्यवहारलाई बंग्याएर प्रस्तुत गर्न उद्दत रहेकोमा हामी सचेत हुनुपर्ने कुरालाई समीक्षकले प्रकाश पार्नुभएको छ । 
दर्शन
    विविधताले भरिपूर्ण हुनु नेपालको अर्काे यथार्थ हो । नेपाल वैदिक हिन्दू, बौद्ध, जैन, वोन, किरातलगायत प्रकृतिपूजकहरुको उद्गम स्थल पनि हो । यस समीक्षा संग्रहमा बौद्ध दर्शनको पुस्तकको बारे परिचार्च गर्नुभएर समीक्षाले आफ्नो बौद्धिकताको फराकिलो दायरा उजागर गर्नुका साथै नेपालको दर्शनिक विविधता बीचको सहृदयता पनि प्रकाश पार्नु भएको छ । नेपाल ऋषिमुनिका साथै, बुद्ध, तिर्थंकर, मुहिगुम आंसिमाङ, तोन्पा लगायतका गुरू आचार्यहरुको साधना, अनुष्ठान र अनुसन्धानको केन्द्र रहिआएको छ । यसको उत्तराधिकारीको रुपमा नेपाललाई अग्रणी बनाउनु पर्ने चेतना समीक्षकमा रहेको पाइन्छ । 
    गुरू वचनका अनुसार शान्तशीलको लागि साङ्खिवक भोेजन आवश्यक पर्दछ । हाम्रो रैथाने परम्परामा भोजनलाई तीन प्रकारमा विभाजन गरिएको छ । तामसिक, राजसिक र साङ्खिवक । हामीेले जे खाने हो हामी त्यही बन्ने हो । हामीले साङ्खिवक भोजन गरेर मात्रै हामी आफू सात्विक बन्ने हो । त्यसैले भोजन चर्या निकै महत्व पूर्ण छ । जीवनका गहनतम् पक्षहरुमा हेर्दा सामान्य लाग्ने भान्छाको निर्णयक प्रभाव रहेको हुन्छ । त्यसैले भोजनको प्रवर्धन गरी समाजलाई नै सात्विक र प्रकृतिमैत्री बनाउने समालोचनात्मक विचार पनि लेखकले आफ्नो संग्रहमा समेट्नुभएको छ ।
कला
    संगीत, गायनका पुस्तक समीक्षाहरु पनि डा. केसीले समेट्नु भएको छ । सामवेददेखिको संगीत परम्परालाई स्थितिगत्यात्मक रुपले अंगाल्दै आएको पूर्वीय सभ्यतामा यसको आफ्नै शास्त्रीय महङ्खव रहँदै आएको छ । अझ लोकबाजामा कहलिएको भक्तपुरका रैथाने सांगीतिक माहौलको प्रभाव लेखकमा स्पष्ट झल्किन्छ । शब्दसागरका मोतीमा उनिएका उहाँका भजन सम्बद्ध अध्ययन, अनुसान्धानात्मक लेख तथा अन्य कृतित्व त छँदैछन् । भजन संगीतका रचना, वाद्यवादक, गायक हुनका साथै यसको  संरक्षण र प्रवर्धनमा पनि उहाँले कम मिहिनेत गर्नुभएको छैन । संगीत सम्बद्ध पुस्तकहरुमा उहाँले दिनुभएका समालोचनात्मक दृष्टिकोणले यस क्षेत्रमा उहाँको लगावको व्यावहारिक पक्षलाई सैद्धान्तिक अनुमोदन गरेको छ । यसलाई पुस्तकको अन्त्यमा समेटिएको सगुन भजनको सिर्जनाले परिपुष्ट गरेको छ ।
अन्तमा
    सारमा शब्दसागरका मोती पुस्तक डा. इन्दुल केसीले डुबुल्की मार्नुभएका शब्दसागरमा टिप्नुभएका केही चुनिन्दा मोतीहरुको माला रहेछन् । यी मोतीहरुमा अझै पनि उहाँका व्यक्तित्व टल्काउने जवाहरातहरु छुटिरहेको मैले अनुभव गरेँ । हुन त यस पुस्तकले नै उहाँका व्यक्तित्वका विभिन्न आयामहरुका आयामहरु उजागर गर्ने होइन पनि र यस पुस्तकको उद्देश्यमा त्यो होइन तर उहाँले नेपाली मौलिकताको पुनर्जागरणको लागि जुन अथक सत्प्रयास अनवरत रुपमा गर्नुभएको छ त्यसमा पनि उहाँका समालोचनात्मक विचार विमर्शहरु प्रस्फुटित हुने सहृदयी भाव छ । अस्तु ।
 

फाेटाेमा हेर्नुहाेस्...

मौलिक संकथनका समालोचनाहरु

Comments