एमालेभित्र ‘अपरिहार्य’ मानिँदै आएका ओलीले पहिलो पटक आफ्नो घमण्डले हारको स्वाद चाख्ने अवस्था बन्न सक्छ
माघ १५, २०८२, बिहीबार | दिउँसो १२:५९ बजे | 610
नवीनकुमार महत
यसपटकको चुनावले देशभर धेरै राजनीतिक बहस जन्माएको छ । तर तीमध्ये दुई क्षेत्र विशेष रूपमा रोचक बनेका छन्—झापा–५ र सर्लाही । यी दुई क्षेत्र केवल उम्मेदवारको प्रतिस्पर्धा होइनन्, समग्र नेपाली राजनीतिमा जोखिम, अहंकार, साहस र नागरिक चेतनाको परीक्षा हुन् ।
झापा–५ मा केपी ओली पराजित भए भने त्यो केवल एक सिटको हार हुने छैन । एमालेभित्र ‘अपरिहार्य’ मानिँदै आएका ओलीले पहिलो पटक आफ्नो घमण्डले हारको स्वाद चाख्ने अवस्था बन्न सक्छ । पार्टीभित्र उनलाई विस्थापित गर्न नसकिएको यथार्थबीच चुनावी पराजयले नेतृत्वको सीमितता उजागर गर्नेछ । त्यसैगरी, बालेन साह पराजित भए पनि उनको राजनीतिक करिअर समाप्त हुँदैन । दुई–चार वर्षपछि पुनः उदाउने सम्भावना उनमा छ । त्यसैले, ओली र बालेनको भिडन्तलाई ठूलो ऐतिहासिक टकरावभन्दा चुनावी प्रक्रिया भित्रको हार–जितको सामान्य मापनका रूपमा हेर्नु उपयुक्त हुन्छ । तर सर्लाहीमा गगन थापा र अमरेश कुमार सिंहबीचको भिडन्त भने साँच्चिकै गम्भीर र अर्थपूर्ण छ । अमरेश कुमार कांग्रेसभित्रै राजनीति गरेर स्वतन्त्र रूपमा चुनाव जितिसकेका नेता हुन् । मधेसमा उनको पकड, प्रभाव र जनसमर्थन सामान्य छैन । यही पृष्ठभूमिमा गगन थापाले सर्लाही रोज्नु भनेको कल्पनाभन्दा बाहिरको रिस्क जोनमा प्रवेश गर्नु हो ।
गगन अहिले दोहोरो जोखिममा छन्—
एकातिर, कांग्रेसभित्र देउवालाई चुनौती दिँदै आफ्नै राजनीतिक करिअर दाउमा लगाएका छन् ।
अर्कोतिर, मधेसमा अमरेशजस्ता शक्तिशाली स्वतन्त्र नेतासँग प्रत्यक्ष भिडन्तमा उत्रिएका छन् ।
यथार्थ के हो भने, अहिले कांग्रेसलाई गगन थापाको आवश्यकता छ । देउवालाई अहिलेसम्म कसैले विस्थापित गर्न नसकेको पार्टीभित्र गगनले सरसफाइको राजनीति थालेका छन् । त्यस अर्थमा, उनी केही समय पार्टीभित्र टिक्नु र चुनाव जित्नु अत्यन्तै जरुरी छ ।
गगनको निर्णय साहसी छ, तर त्यत्तिकै जोखिमपूर्ण पनि । मधेसमा अमरेश कुमारलाई अन्डरएस्टिमेट गर्नु सामान्य गल्ती होइन—यो लगभग ‘डेन्जर जोन’मा हाम फाल्नु बराबर हो ।
आजको नेपाली राजनीतिमा सबैभन्दा बढी आफ्नो राजनीतिक भविष्य डबल दाउमा राख्ने नेता गगन थापा नै देखिन्छन् । पार्टीभित्र पनि जोखिम, चुनावमा पनि जोखिम—यो निर्णय सजिलो थिएन ।
यही सन्दर्भमा अब प्रश्न दलको मात्र होइन, नागरिक चेतनाको हो ।
राजनीतिक दलहरू चुनावमा एजेन्डा बेच्न व्यस्त हुन्छन्, जितेपछि सरकार गठन र आन्तरिक झगडामा अल्झिन्छन् । जनताको पीडा, सास्ती र दैनिकी बुझ्न उनीहरू असफल भइरहेका छन् ।
जब नागरिकले सास्तीबाट मुक्ति पाउँदैनन्, तब देशले पनि निकास पाउँदैन ।
त्यसकारण, देशभर स्वतन्त्र उम्मेदवारी दिने नागरिकको जित अपरिहार्य छ । स्वतन्त्र उम्मेदवारहरूले देशको निकास बुझ्छन्, जनताको पीडा बुझ्छन् र दलको बन्दी राजनीति तोड्ने साहस राख्छन् ।
यही सोच, यही चेतना र यही आवश्यकतालाई आत्मसात गर्दै
भक्तपुर क्षेत्र नं. २ बाट क्यामेरा चुनाव चिन्हमा मतदान गर्न सबै सचेत नागरिकलाई आग्रह गर्दछु ।
जनताको सेवक बन्ने स्पष्ट दृष्टिकोण, इमानदार प्रतिबद्धता र नागरिक हितलाई प्राथमिकतामा राख्ने विचारका आधारमा
स्वतन्त्र उम्मेदवार नवीन कुमार महतलाई समर्थन गर्नु आजको समयको माग हो ।
अब निर्णय जनताकै हातमा छ—
दलको पुरानो घेराभित्रै घुमिरहने कि
नयाँ सोच, नयाँ बाटो र नागरिक चेतनाको राजनीतिलाई जिताउने
