डा. इन्दुलका फूलका फिलिङ्गामा आँखा लगाउँदा


माघ १२, २०८२, सोमबार | साँझ ०६:५८ बजे | 120


डा. इन्दुलका फूलका फिलिङ्गामा आँखा लगाउँदा

डा. चेतनाथ कणेल ‘हरित’
विद्यापति मार्ग, 
काठमाडौं ३१, शङ्खमूल
नेपाली साहित्यमा डा. इन्दुल केसीले आफ्नै पहिचान बनाउनुभएको छ । लामो समयदेखि उहाँ साहित्य सिर्जनामा लागिरहनुभएको छ । उहाँले चौरासी वसन्त पार गरिसक्नुभएको छ, तर पनि विभिन्न साहित्यिक, सास्कृतिक तथा विविध संस्थाहरूमा उहाँ अद्यापि सक्रिय हुनुहुन्छ । विश्वप्रसिद्ध चिन्तक तथा साहित्यकार जर्ज बर्नाड शाको भनाइजस्तै डा. साबको जीवनले पनि भनिरहेछ, ‘हामी उमेरले बूढो हुँदैनौँ, बरु नयाँ कुरा सोच्न छाडियो वा सिर्जनालाई बिर्सन थालियो भने हामी बूढो भएको पक्का हो ।’
साहित्य डा. इन्दुलकोे मूल पहिचान हो, तर पनि साहित्यका अतिरिक्त स्थानीय संस्कृति संरक्षणमा पनि उहाँ सचेत र क्रियाशील हुनुहुन्छ । उहाँको भजनप्रधान संलग्नताले नेपाली संस्कृति संरक्षण तथा प्रवद्र्धनमा पनि राम्रो योगदान पुगेको छ । उहाँ एक पत्रकार पनि हो । भक्तपुर क्षेत्रमा उहाँको पहिचान विशिष्ट बन्दै गएको छ, बहुआयामिकताको परिचायक पनि बनिरहेको छ । 
यस आलेखमा म हालै मेरो हातमा परेको डा. केसीको ‘इन्दुलका फूलका फिलिङ्गा’ शीर्षकको कविता–पुस्तकको बारेमा केही पर्यावलोकनीय टिप्पणी राख्दैछु । 
पुस्तकको संरचना
२०८२ साउनमा प्रकाशित यस पुस्तकको सम्पादन प्रा.डा. कृष्णप्रसाद दाहालले गर्नुभएको छ । प्रकाशन भने डा. केसीका सुपुत्र (उज्वल), सुपुत्रीहरू (रजनी तथा सजनी), र बुहारी (सिर्जना) ले संयुक्तरूपमा गर्नुभएको छ । त्यसैगरी पुस्तकको समर्पण उहाँकी चिरस्मरणीय (स्व.) धर्मपत्नी सावित्री राणा केसी एवम् सम्पूर्ण पाठकहरूमा गरिएको छ । 
यस पुस्तकमा आवरण, आमुखीय भूमिका तथा शुभकामनाहरू, र मूलतः कविताहरू गरी कुल ६८ पृष्ठ रहेका छन् । आकारका दृष्टिले पुस्तक सानै छ । र, साहित्यिक रचनाका अतिरिक्त विविध सूचनामूलक सामग्रीहरू समेत यसमा समेटिएका छन् । रङ्गीन आवरणमा रातो फूल, नेपालको चुच्चे नक्सा तथा राष्ट्रिय झण्डासमेत समेटेर अग्रआवरणीय झलक तयार भएको छ । र, पृष्ठ आवरणमा भने इन्दुल केसी (परिवार) कहिलेदेखि झाबाट केसी बन्न पुग्नुभएको हो भन्ने कुरा स्पष्ट पार्ने हेतुले एक रेखाचित्रीय ‘वंशावली तालिका’ प्रस्तुत गरी श्री चतुर्भुज झाका सन्तानहरू क्रमशः दोस्रो पुस्ताका सर्वश्री गंगाराम झा, तेस्रो पुस्ताका टीकाराम झा, चौथोे पुस्ताका गणेश झा, पाँचौँ पुस्ताका गौरीनाथ झा, छैटौँ पुस्ताका केदारनाथ झा हुँदै सातौँ पुस्ताका इन्दुल झा तथा बलराम झाले ‘केसी’ लेख्न थालेको प्रमाण खुल्दछ । 
वंशावली सन्दर्भको मूल आधार मैथिल ब्राह्मणको वंशावली पुस्तक हो भनेर पनि पाठकलाई सोही पृष्ठमा डा. केसीबाट जानकारी गराइएको छ । यो पुस्तक डा. इन्दुल केसीको आफ्नो पुस्तक भएको नाताले डा. इन्दुलकी धर्मपत्नी (स्व.) सावित्री राणा केसी, दुई छोरीहरू रजनी के.सी. (मानन्धर) तथा सजनी केसी (कार्की) र एक सुपुत्र उज्वल केसी, उज्वलकी धर्मपत्नी सिर्जना पौड्याल केसी तथा अन्त्यमा उज्वल र सिर्जनाका एकमात्र सुपुत्र श्रीजल केसीको पनि वंशावली तालिकामा नाम समावेश गरी आफ्नो परिवारका सदस्यलाई राम्रोसँग चिनाउने प्रयास गर्नुभएको छ । यस खालको कवितात्मक पुस्तकमा वंशावली समावेश गर्ने चलन नभए पनि डा. केसीलाई आफ्नो पारिवारिक–वृक्ष (फेमिली ट्री) पाठकहरूलाई जानकारी गराएरै छाड्छु भन्ने उहाँको अभियान र हुटहुटी अलि फरक खालकै मान्नुपर्छ । लेखकहरूका मन अनेक, चाहना अनेक, रीति र थिति पनि अनेक, डा. केसीले यही अनेकतामा थप रौनकता थप्ने प्रयास गर्नुभएको लाग्यो ।
डा. केसीको बहुआयामिकता
मैले माथि पनि एक किसिमको संकेत दिइसकेको छु, डा. इन्दुल केसी एक बहुआयामिक व्यक्तित्वका धनी व्यक्ति हुनुहुन्छ । यसै पुस्तकमा स्व. सत्यमोहन जोशीले केही वर्षअघि प्रकाशित ‘राष्ट्रसंरक्षण’ साप्ताहिक (वर्ष ९, अंक २६) मा डा. इन्दुलका बारेमा ‘दुई थुँगा फूल’ शीर्षकमा आकर्षक र मर्मस्पर्शी भावका दुई थुँगामा डा. केसीको व्यक्तित्व र कृतित्वका बारेमा यसरी भन्नुभएको छ ः
विविध भाषाका ज्ञाता, मातृभाषाका पुजारी
विविध उपचारका ज्ञाता, विकल्पका प्रयोगवादी
सच्चा समाजसेवी, बहुमुखी प्रतिभाका धनी, डा. इन्दुल केसी (१)

भजन–कीर्तनका गायक, कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक
सरल स्वभावका मृदुभाषी, क्रियाकर्ममा परोपकारी
व्यक्ति एक प्रतिभा अनेक, डा. इन्दुल केसी (२) ।।
शताब्दीपुरुष सत्यमोहन जोशीका यी शब्दले डा. केसीको पूर्णाङ्गी परिचय दिएजस्तो लाग्छ । सत्यमोहनका सत्य– वाणीका अगाडि अब हामीले थप बताइरहनु नै पर्दैन । मैन्टोलका अगाडि दियो वा मैनबत्ती जलाइरहनु नै पर्दैन । यस हिसाबबाट डा. केसीले नेपाली साहित्य तथा संस्कृतिमा मात्र होइन जनताको स्वास्थ्य उपचारमा समेत वैकल्पिक चिकित्सा पद्धतिको प्रयोग गर्न सक्ने विशेष क्षमता र दख्खल राख्नुहुन्छ भन्ने स्पष्ट हुन्छ ।
हो, डा. केसी सक्रिय हुनुहुन्छ, जागरुक हुनुहुन्छ, क्रियाशील हुनुहुन्छ र विविध क्षेत्र र आयामका व्यक्तिसँग घुलमिल गर्न पनि उत्तिकै रुचाउनुहुन्छ । साहित्यिक क्रियाशीलताको उदाहरण मैले नजिकबाट हेरेको सन्दर्भ के हो भने उहाँ २०६४ साल पुसमा स्थापित नेपाल स्रष्टा समाज स्थापना गर्ने काममा र सो संस्थाको विधान मस्यौदा तयार गर्ने काममा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँ संस्थाको कार्यसमिति सदस्य भएर पनि बस्नुभयो । संस्था अहिले निक्कै झाङ्गिएको छ, फराकिएको छ, विस्तारिएको छ । यसमा करिब ३०० सदस्य पुगेका छन् । सातै प्रदेशमा शाखा विस्तार गर्ने क्रम अघि बढिरहेको छ । हालसम्म यसले करिब साढे तीन दर्जन पुस्तक प्रकाशन गरिसकेको छ र ‘स्रष्टा दर्पण’ नामक विशेष साहित्यिक प्रकाशनको पनि ३२औं अंक प्रकाशित भइसकेको छ । संस्थाले ८ वटा विविध साहित्यिक पुरस्कार र सम्मान हरेक वर्ष अर्पण गर्ने गरेको छ । साथै देशका वरिष्ठ स्रष्टाहरूलाई अभिनन्दन गर्ने गरेको छ । 
यो समग्र कार्यप्रगति र नेपाल स्रष्टा समाजको उन्नयनमा डा. केसीको पनि अमूल्य योगदान छ भन्ने कुरा नेपाल स्रष्टा समाजका संस्थापक, पूर्व अध्यक्ष तथा हालका संरक्षक वरिष्ठ साहित्यकार पवन आलोकले विविध सन्दर्भमा उल्लेख गरिरहेको यस पंक्तिकारले सुन्ने गरेको छ । समाजको एक आजीवन विशिष्ट सदस्य, पूर्वउपाध्यक्ष तथा ‘स्रष्टा दर्पण’को पूर्व कार्यकारी सम्पादकको नाताले मैले पनि डा. केसीसँग २०६४ सालदेखि नै सान्निध्य बढाउँदै आएको छु, एक वरिष्ठ व्यक्तित्व उहाँ मेरो निकटमा हुनुहुन्छ भनेर भन्न पाउँदा मलाई पनि खुशी लाग्छ । व्यक्तित्व र कृतित्व अझ फैलिँदै जाओस् भन्ने निकटको शुभेच्छुकमा म पनि पर्ने गर्छु भन्ने आत्मबोध मलाई हुने गर्छ ।  म उहाँका लागि जागिहाल्छु । अब म पुस्तकका भित्री पाना पल्टाउँदै जान्छु । 
आमुखमा डा. दाहालको अभिव्यक्ति
यस पुस्तकको सम्पादन डा. दाहालले गरेको कुरा अघि नै चर्चा गरिसकियो । त्यति मात्र होइन, यस पुस्तकमा डा. दाहालकै आमुखीय अभिव्यक्ति अर्थात् १० पृष्ठको भूमिका रहेको छ । यो भूमिकालाई लामै मान्नुपर्छ । लामो लेख्न र लामो बोल्नमा नेपाली साहित्यिक फाँटमा डा. दाहाल अब्बल नै मानिनुहुन्छ । त्यसो त डा. इन्दुलजस्तै उहाँ पनि नेपाल स्रष्टा समाजको एक आजीवन विशिष्ट सदस्य हो । एक सदस्यले अर्को सदस्यका बारेमा यति पनि नलेखे के लेख्नु भन्ने भावना जागुत भएको पनि हुनसक्छ डा. दाहाल साबमा ! 
भूमिका पल्टाउँदा डा. दाहालको एक अभिव्यक्ति नै डा. केसीका लागि काफी लाग्छ । उहाँ लेख्नुहुन्छ, “कवि डा. इन्दुल केसीको ‘इन्दुलका फूलका फिलिङ्गा’ वर्तमान समाजका यथार्थ चित्रणमा आधारित कवितासंग्रह हो” । त्यसैगरी डा. केसीका परम मित्र साहित्यकार पदम दाहालले पनि यस पुस्तकमा दुई पृष्ठको भूमिका लेख्नुभएको छ । पदम दाहाल भन्नुहुन्छ, “यथार्थमा भन्नुपर्दा  एकजना कुनै पनि कविको राज्यसत्ताप्रति समर्थन भइरह्यो भने राज्यसत्ताधारीले सुध्रिने खुराक पाउँदै पाउँदैनन्, त्यसबेला तिनले सत्ताको अझ दुरूपयोग गर्न के बेर ? त्यस्ताहरूका निम्ति डा. केसी जस्ता लेखक, कवि, साहित्यकारहरू तिनलाई मार्गदर्शन गर्न अचूक औषधि बन्नसक्छन्” । हो यो कुरामा म पनि समर्थन गर्छु । लेखक कलाकारहरू जहिले पनि प्रतिपक्षी र जनपक्षीय भूमिकामा मात्र हुन्छन्, हुनुपर्छ ।
डा. केसीले यस पुस्तकमा आफूप्रति सदा सुभावना तथा शुभकामना राख्ने शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री, अनुशीलन नेपाल संस्थाका अध्यक्ष जीवनाथ अधिकारी, सहृदयता समाज नेपालका अध्यक्ष कृष्णराम प्रजापति, रामप्रसाद देवी ओली प्रतिष्ठानका अध्यक्ष देवी उप्रेती ओली तथा सहृदयी विष्णु ओली, नेपाल साहित्य मन्दिर ख्वपका सल्लाहकार पशुपति मान पःमाँ, र प्राध्यापक कृष्ण किसीका शुभाकाङ्क्षमय शब्दपुष्प राख्नुभएको छ । पुस्तकको सपना साकार बनाउन र आकार बढाउन पनि यी शुभभावनामय शब्द र पृष्ठहरूले राम्रो काम गरेका छन् । साहित्यकार मित्रलाई शुभकामना व्यक्त गर्न पाउँदा साहित्यानुरागी तथा शुभेच्छुक एवम् सहयोगी सबैको दिल प्रसन्न हुने हुँदा पुस्तकमा स्थान रहेसम्म ठाउँ दिऊँ भन्ने भावना धेरै लेखक तथा प्रकाशकलाई हुन्छ नै । डा. केसीले यस पुस्तकमा पनि मनग्ये हिसाबले दिल खोलेर त्यसो गरेको लाग्यो ।
यस पुस्तकको प्रकाशक रहनुभएका इन्दुल घरपरिवारका चार व्यक्तिको साझा ‘प्रकाशकीय’ पनि दुई पृष्ठको नै छ । आफ्ना बाबु सदा सक्रिय रहेको, क्रियाशील रहेको, सिर्जनशीलताको प्रकाश छर्दै हिँडेको र समाजको एक असल मार्गदर्शक बनिरहेको सन्दर्भ र प्रसङ्ग कुन छोरा÷छोरी वा बुहारी÷ज्वाइँलाई मन नपर्ला ? यी दुई पृष्ठमा पोखिएका प्रकाशकीय पङ्क्तिहरूले राम्रोसँग त्यो अभीष्ट र भावना मुखरित गरेका छन् । आमुखीय पृष्ठहरूको अन्त्यमा ८४ वर्षे कवि डा. इन्दुल केसीको आफ्नै ‘लेखकीय’ छ । दुई पृष्ठको ‘लेखकीय’ मा एकठाउँमा बडो स्पष्टताका साथ उहाँ भन्नुहुन्छ, “अहिले यो बुढ्यौली अवस्थामा पुग्दा आफ्नो परिवार, समाज, राष्ट्र र देशका सामाजिक, आर्थिक, राजनैतिक, विकास–निर्माण र आद्यात्मिक विषयहरूमा आफूले देखेका भोगेका सुखद् र दुःखद् पक्षका विभिन्न कुहाहरू मेरो मनमा उब्जिरहेका हुन्छन्, तिनै कुराहरूलाई मैले जानी नजानी रचेका केही रचनाहरूको सँगालो यो पुस्तक हो ।” हो, एक स्रष्टाका लागि तिनै परिवेश नै लेखकीय खुराक हुन्, अभिव्यक्तिका झिल्का र फिलिङ्गा हुन्, जसले सिर्जनाको आगो पार्न सक्छन्, सकारात्मक परिवर्तनको दृढ आह्वान गर्दै समाज रूपान्तरणको पाश्र्व–खेलाडी बन्न सक्छन् । उमेर चाहे किशोर होस्, जेनजी होस्, युवा होस्, अधवैँशे होस् वा वृद्धावस्थाको मार्गमा हिँडिरहेको व्यक्ति होस्, सबै स्रष्टाको कर्म र धर्म भनेको नै यथार्थमा यही हो । डा. इन्दुलले पनि दशकौंदेखि त्यही धर्म र कर्म निभाउँदै आउनुभएको छ । पछिल्लो पुस्तकमा राखिएका यी दृढ अभिव्यक्ति साँच्चै प्रतिनिधिमूलक अभिव्यक्ति हुन् ।
रचनाभित्र पस्दा भेटिएका दिलचस्पी अभिव्यक्ति
अब म भित्र पस्दै गर्छु, रचानाभित्र । ठाउँ मैले धेरै लिइसकेँ, तसर्थ हरेक रचनामा के छ, कस्तो छ भनेर लामो इतिवृत्तान्त बताएर पाठकहरूलाई ‘पुस्तक नै पढ्न पर्दैन, यो मेरो कुरा पढे पुग्छ’ भनेर म भन्न चाहन्नँ । तसर्थ डा. केसीले यहाँ प्रस्तुत गर्नुभएका ३० वटा रचनालाई प्रवत्तिगत र अभिव्यक्तिमय कसीमा राखेर मनमा लागेका केही कुरा संक्षेपमा भन्छु ।
लेखाइमा खास के छ ? लगभग सबै स्रष्टाका पंक्तिहरूमा खोजिने कुरा यही हो । डा. साबले लेखकीयमा भनेझैं परिवारका कुरा, समाजका कुरा, राष्ट्रका कुरा, जिन्दगीका निजी अनुभव र भोगाइका कुराहरू नै हरेक रचनामा कहीँ न कहीँ छचल्किएका छन् । ८४ वर्षे जीवनको सुगन्ध हरेक पंक्तिमा नभेटिए पनि त मजा भएन ! त्यो भेटिन्छ । कवितामा सामाजिक जीवन र परिवेश भेटिनु, भजनहरूमा आद्यात्मिक तथा सांस्कृतिक जीवनका राग र धुन भेटिनु साझा विशेषता हुन्, ती कुरा डा. इन्दुलमा पनि भेटिन्छन् । जिन्दगी एक आन्दोलन हो, संघर्ष हो, अभावको मार्गमा हिँड्दाहिँड्दै जिन्दगी बूढो हुन्छ भन्ने भाव पहिलो कविता (आन्दोलन) मा अभिव्यक्त भएको छ । सार्वजनीन यथार्थ र शाश्वततालाई सरल शब्दहरूमा उहाँ बडो इमानदार भई पोखिनुभएको छ ः 
अहिले बुढ्यौली शारीरिक कमजोर अवस्थामा पनि
अन्याय, अत्याचार, शोषण र दमनको विरोधमा
स्वतन्त्र पत्रकार भई पत्रकारी आन्दोलनमा । (पृ. १) 
हो उहाँ जीवनभर आन्दोलनमा हुनुहुन्छ । आन्दोलन भनेको जीवनको अभियान, जीवनको सार्थकता । उहाँको यो पोखाइ सबै कर्तव्यनिष्ट र कर्मशील व्यक्तिका लागि लागू हुन्छ ।
उहाँको राष्ट्रभाव र राष्ट्रियता प्रेम ‘नेपालको तस्बिर’ शीर्षकको कवितामा स्पष्ट झल्केको छ । उहाँलाई सीमा मिचिएकोमा चिन्ता छ, सीमावरिपरि हुने हेपाइ प्रवृत्तिमाथि आक्रोश पनि छ । उहाँ भन्नुहुन्छः
मित्र राष्ट्र भनाउँदाहरू नाना सहयोगको नाममा
झुक्याउने दाउपेच गर्दैछन्
नेपालको भौगोलिक सिमाना जताततै खुम्चिँदैछन् । (पृ. ४) 
डा. केसीले वर्तमान समाजको सर्वत्र फैलिँदो कुसंस्कार र अनैतिक व्यवहारमा पनि हरबखत चित्त दुखाउनुहुन्छ । समाज अहिले वास्तविक समाजजस्तो छैन, अपेक्षित व्यवहार कसैको पनि सन्तोषजनक छैन भन्ने कुरालाई उहाँ तीखो व्यंग्य प्रहार यसरी गर्नुहुन्छः
उद्योगी, व्यापारीहरू धेरै अनुचित मुनाफामा छन्
भारी छूटको प्रलोभनमा÷आकर्षक विज्ञापनको प्रभावमा 
उपभोक्ताहरू निरन्तर झुक्किइरहन्छन् । (पृ. ९)
यसैगरी डा. केसी महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्तै कहिलेकाहीँ पागलको पगरी गुथ्नुपर्ने त होइन भन्ने कुराबाट चिन्तित हुनुहुन्छ । ‘म जरुर पागल साथी, म जरुर पागल’ भनेर आजभन्दा असी वर्षअघि नै लेखेका थिए देवकोटाले । तर त्यो रोग, त्यो रबैया अहिले पनि निरन्तर छ हाम्रो समाजमा । त्यसैले डा. केसी व्‘यथाको कथा’ कविता (पृ. १२) मा वर्तमान समाजलाई यसरी प्रहार गर्नुहुन्छः
घाउ छ मुटुमा उपचारै नलाग्दो रहेछ
आगोझैँ बल्दोरहेछ, निभाउनै नसकिने रहेछ 
दुनियाँको रीतिरिवाज यहाँ यस्तै रहेछ
पालन नगरे ‘पागल’ मा दरिँदो रहेछ ! (पृ. १२)
समाजलाई कता डो¥याउनुपर्छ र आफू कतातिर डोरिनुपर्छ भन्ने कुरामा पनि डा. केसी स्पष्ट हुनुहुन्छ । उहाँले आफ्नो जीवनचर्यालाई एक सरल यात्रीले जस्तै सफा बाटोमा सललल यात्रा गराउन चाहनुहुन्छ । ‘मेरो यात्रा’ शीर्षकको कवितामा त्यो भाव स्पष्ट प्रतिविम्बन भएको छ र यसमा आफ्नो प्रतिबद्धतासमेत झल्काउनुहुन्छ उहाँ । हेरौँ केही पंक्तिहरूः
अनाथ, असहाय कोही कसैलाई 
अन्याय नहोस्
न्याय मन्दिरका न्यायमूर्तिहरू 
विवेकशील होऊन्
यो इन्दुल आफ्नो इच्छा 
केवल मनमा राखी
एक बटुवा भई सधैँ 
सत्य बाटोमा यात्रा गरिरहन्छ
जीवन एक यात्रा हो
यो यात्रा चलिरहन्छ । (पृ. १६)
नेपालको राजनीतिका मुख्य खेलाडीहरूले देशमा बेथिति र भ्रष्टाचार निम्त्याएको, भ्रष्टलाई कार्वाही गर्नुको साटो झन् प्रश्रयता दिएको, बारम्बार अवसर दिएको, दण्डहीनता बढाएको सन्दर्भले पनि डा. केसीलाई नराम्ररी घोच्दछ । उहाँमा राजनीतिक चेत उच्च छ । विसंगतिप्रतिको प्रहारशीलता पनि गरिष्ठ छ । यसै सन्दर्भको आक्रोश र पीडा उहाँ ‘शान्तिभित्रको जलन’मा यसरी पोख्नुहुन्छः
नक्कली भुटानी शरणार्थी काण्ड
नक्कली रातो पासपोर्ट काण्ड
अबैध अकुत धन–सम्पत्तिको काण्ड
काण्डैकाण्ड कोलाहल जताततै काण्ड ! (पृ. ३२)
यसरी डा. केसीले देश, काल र परिस्थितिको समसामयिक मूल्याङ्नकन र पर्यावलोकन गर्दै आफ्नो मनमा लागेका कुराहरूलाई कवितात्मक भावमा प्रकट गर्नुहुन्छ । यो उहाँको नियमित अभ्यासजस्तो हो । पहिले प्रकाशित ‘भुइँचालो’ कविता सङ्ग्रहमा पनि उहाँ यसरी नै पूर्ण राजनीतिक तथा सामाजिक चेतका साथ पोखिएको पाएको थिएँ । करिब डेढ दशकअघि उक्त पुस्तकको पनि समीक्षा मैले गरेको थिएँ । 
उहाँका कविता सरल हुन्छन्, तर समाजमा भिजेका सन्दर्भ हुन्छन्, समाजको आँखा खोलिदिने सन्देशले भरिपूर्ण हुन्छन् । राजनीतिक सन्दर्भका मात्र होइन, जीवन, जगत र सामाजिक सम्बन्ध दर्शाउने केही कविता तथा गीतिभावका अभिव्यक्ति पनि यस पुस्तकमा छन् । अझ उहाँ एक आद्यात्मिक व्यक्तित्व भएका कारण केही भजन पनि यसमा परेका छन् । कतिपय मायाप्रेमको सन्दर्भमा लेखिएका रचना पनि यसमा छन् । पुस्तकमा तीसवटा रचनामा एउटा अंग्रेजी कविता पनि परेको छ । तर त्यो कविता यस पुस्तकमा नराखेको भए पनि हुन्थ्यो भन्ने मलाई लाग्यो । त्यस्तै पुस्तकको मूल्य पनि अलिक अस्वाभाविक लाग्छ, ६८ पृष्ठको लघुपुस्तकको रु. ३०१ छ । यसमा प्रकाशकहरूको विशेष ध्यान जानुपर्छ । पुस्तकमा सहयोग राशि भनिए पनि पुस्तक खरिद गर्न चाहनेले किन ‘सहयोग’ भनियो भन्ने स्पष्ट बुझ्दैन । आजकाल पुस्तकमा महँगो मूल्य राखेर बजारमा नपु¥याउने, तर हात–हातमा बेच्ने वा सित्तैमा बाँड्ने चलन पनि बढ्दो छ । चौरासीको दिव्ययात्रामा हिँडिरहेका डा. केसी त्यस्तो कर्मबाट अलिक् टाढै रहनु राम्रो । योग्य छोरा बुहारी र छोरीहरू अनि ज्वाइँहरू, अनि असल मित्र र हितैषीहरू नै उहाँका अमूल्य धन हुन्, अक्षय सम्पत्ति हुन् । यो कुरा एक कवितामार्फत् आफैं पनि भन्नुभएको छ । ‘तपार्ईं जति लेख्नुहुन्छ लेख्नोस्, हामी छाप्छौं’ भन्ने खालका सन्तान भएपछि त्यहाँभन्दा सुखको यात्रा एक वरिष्ठ र ज्येष्ठ स्रष्टाका लागि अरु के हुन सक्ला ? जीवनाभूतिजन्य अन्तस्करणका लेखाइ र छपाइले नै उहाँका पीडा पनि कम हुँदै जानेछन् । साहित्यिक कर्म र क्रियाशीलताले नै उहाँका अन्तर्मनका जलन कम हुँदै जानेछन् । विश्वप्रसिद्ध स्रष्टा पुबलिलियस साइरसले पनि भनेका छन्, ‘काम गरिरहनु नै दुःख बिर्सने सर्वोत्रम उपाय हो ।’ निश्चय नै डा. साबको अथक कर्मले गर्दा समाजले पनि उच्च लाभ लिनेछ ।
अन्त्यमा एक विशेष शुभकामना र शुभ–आकाङ्क्षा,
डा. इन्दुल केसीको अबको जीवन दौडधूपै दौडधूप र अनेक कार्यक्रमहरूमा भाग लिनका लागि हतारिनेतर्फ उन्मुख गराउने भन्दा पनि आरामका साथ, तर सक्रिय चिन्तन र धैर्यका साथ लेखेर अर्थात् अझ दह्रिलो कलम चलाएर यो समाजलाई सुसभ्य, गतिशील र मतिशील बनाउनमा योगदान पु¥याउनेतर्फ नै केन्द्रित होस् भन्ने शुभकामना छ मेरो,  असीम हार्दिक शुभ–आकाङक्षा छ मेरो । शतम् वर्ष जीवेत् डा. साब ! भवतु सब्ब मङ्गलम् डा. साब !!
 

फाेटाेमा हेर्नुहाेस्...

डा. इन्दुलका फूलका फिलिङ्गामा आँखा लगाउँदा

Comments