क्यामेराको आँखा, जनताको आवाज
माघ ९, २०८२, शुक्रबार | राति ०७:५० बजे | 615
भक्तपुर क्षेत्र नम्बर २ को आगामी निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र होइन, जनभावना, पुस्तान्तरण र राजनीतिक चेतनाको परीक्षण बन्ने संकेत देखिन थालेको छ। यही परिवेशमा स्वतन्त्र उम्मेदवार नवीन कुमार महत क्यामेरा चुनाव चिन्ह लिएर मैदानमा उत्रनु केवल उम्मेदवारी घोषणा होइन, बरु स्थापित दलमुखी राजनीतिमाथि गम्भीर प्रश्न हो। उहाँको मूल एजेन्डा—राष्ट्रियता, नागरिकतन्त्र र नेपालवाद—आजको अन्योलग्रस्त राजनीतिमा वैकल्पिक बाटो खोजिरहेका मतदाताका लागि अर्थपूर्ण देखिन्छ।
नवीन महतको राजनीतिक भाष्य लोकप्रिय नारामा सीमित छैन। उहाँ जनताले अब “मिडिया ट्रायल” भन्दा क्षमता, इमान्दारी र अनुशासन हेरेर मत व्यक्त गर्ने विश्वासमा ढुक्क हुनुहुन्छ। यो भनाइ आफैंमा गम्भीर सन्देश हो—राजनीति अब चम्किलो भाषण र बनावटी छविले होइन, व्यवहार र परिणामले मूल्यांकन हुने चरणमा प्रवेश गर्दैछ। लामो समयदेखि दलगत स्वार्थ, आपसी आरोप–प्रत्यारोप र सत्ताको खेलले हैरान भएका मतदातामा यो सोचले भरोसा जगाएको छ।
भूगोल र समाज बुझ्ने आत्मविश्वास नवीनको अर्को बलियो पक्ष हो। गुन्डु इलाकाको माथिल्लो बेल्ट—बाल्कोट, गाम्चा, कटुन्जे—बाट अग्रता लिन सकिने उहाँको आकलन केवल अनुमान होइन, निरन्तर सम्पर्क र स्थानीय जीवनसँगको निकटतामा आधारित छ। त्यसैगरी राधे–राधे, ठिमी र निकोसेरा क्षेत्रमा दुई दशकभन्दा बढीको परिचय र विश्वासलाई उहाँले राजनीतिक पूँजीका रूपमा होइन, जिम्मेवारीका रूपमा लिनुभएको छ। “त्यहाँका जनताले मलाई चिन्छन्, म तिनको समस्या चिन्छु”—यो सम्बन्ध कृत्रिम होइन, समयले बनाएको हो।
क्यामेरा चुनाव चिन्ह रोज्नु पनि प्रतीकात्मक मात्र होइन, वैचारिक छनोट हो। क्यामेराले नेताको असली रूप खिच्छ, लुकेको कुरा उजागर गर्छ र जनताको लोकप्रियता र उम्मेदवारबीचको सम्बन्ध स्थापनामा सेतु बन्छ भन्ने विश्वास नवीनको छ। आजको विश्व छिनभरमै जोडिने माध्यम क्यामेराले खिचेको तस्वीर नै हो। यही सन्दर्भमा क्यामेरा र उहाँको एजेन्डाबीचको मेल अर्थपूर्ण देखिन्छ—पारदर्शिता, जवाफदेहिता र सत्यको अभिलेखन। क्यामेरा झूटलाई सजाउन होइन, यथार्थ देखाउन प्रयोग हुन्छ; यही कारणले यो चिन्ह आजको परिवेशसँग मेल खान्छ।
राजनीतिक प्रतिस्पर्धाको सन्दर्भमा नवीन महत यथार्थवादी देखिन्छन्। उहाँको स्पष्ट भनाइ छ—मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेससँग हुनेछ। तर यो प्रतिस्पर्धा गाली–गलौज वा आरोपमा सीमित हुने छैन; नीति, निष्ठा र जनसम्बन्धको आधारमा हुनेछ। २५ हजारभन्दा बढी मत प्राप्त गर्न सकिने विश्वास उहाँको व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, बदलिँदो जनमूडको संकेतका रूपमा बुझ्न सकिन्छ। दलप्रति निराश मतदाता स्वतन्त्र र जिम्मेवार विकल्प खोजिरहेको यथार्थ भक्तपुरमा पनि देखिन थालेको छ।
यो निर्वाचन विशेष अवस्थामा हुँदैछ। राष्ट्रिय राजनीतिमा अस्थिरता, स्थानीय तहमा अपेक्षाअनुसारको नेतृत्वको अभाव र जेन्जी (Gen Z) पुस्ताको भावना बुझ्ने नेताको कमी—यी सबै कारणले भक्तपुरमा वैकल्पिक नेतृत्वको माग बढेको छ। नवीन महतले यही शून्यतामा आफ्नो उम्मेदवारी आवश्यक ठानेको खुलासा गरेका छन्। सामाजिक सञ्जालमा सीमित नारा होइन, रोजगारी, शिक्षा, सीप, स्थानीय उद्यम, संस्कृति र पहिचान जोगाउने ठोस दृष्टि उहाँको भनाइमा झल्किन्छ।
नागरिकतन्त्रको कुरा गर्दा, उहाँ नागरिकलाई केवल मतदाता होइन, निर्णायक साझेदारका रूपमा हेर्नुहुन्छ। राष्ट्रियताको अर्थ सीमित भाषणमा होइन, स्वाधीन निर्णय, आत्मसम्मान र राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिनुमा रहेको उहाँको तर्क छ। नेपालवाद भनेको न नक्कल हो न त अन्ध विरोध—यो आफ्नै माटो, इतिहास र भविष्यप्रतिको प्रतिबद्धता हो।
स्वतन्त्र उमेदवार नवीन कुमार महत भन्छन म नेता हैन सेवक बनेर काम गर्छु क्यामेरा चिन्हमा स्वस्तिक छाप लगाउन भक्तपुर–२ का मतदातालाई गरिएको हार्दिक अनुरोध केवल भोट माग्ने शैली होइन; विश्वासको आह्वान हो। यो चुनाव जित–हारको गणितभन्दा ठूलो छ—यो स्थानीय चेतनाको परिक्षा हो। यदि मतदाताले साँच्चै क्षमता, इमान्दारी र अनुशासनलाई रोज्ने हो भने, क्यामेराको आँखाले यसपटक जनताको चाहना स्पष्ट रूपमा खिच्नेछ। भक्तपुर–२ को निर्णयले केवल एक प्रतिनिधि होइन, सेवक पाउने छ ।
फाेटाेमा हेर्नुहाेस्...
