प्रधानमन्त्री को हुने भन्ने गणनाले देशलाई कुनै निकास दिँदैन
माघ ५, २०८२, सोमबार | विहान १०:२८ बजे | 310
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीति फेरि पनि पुरानै रोगले ग्रस्त देखिन्छ विचारभन्दा सत्ता, मुद्दाभन्दा भागबन्डा र परिवर्तनभन्दा व्यक्तिको होड। नयाँ भनिएका दल र शक्तिहरू पनि यही प्रवृत्तिमा फस्दै जानु चिन्ताजनक संकेत हो। केवल चुनाव जित्नका लागि गरिने ध्रुवीकरण, ‘सबै मिलौँ’ भन्ने सतही नारा र प्रधानमन्त्री को हुने भन्ने गणनाले देशलाई कुनै निकास दिँदैन भन्ने तथ्य पछिल्लो बहसले फेरि स्पष्ट पारेको छ।
मेरो विचारमा समस्या निर्वाचन प्रणालीभन्दा बढी राजनीतिक संस्कृतिमा छ। विचार, सिद्धान्त र दीर्घकालीन एजेन्डामा स्पष्ट नहुने हो भने नयाँ दलहरू पनि पुरानै शैलीको पुनरावृत्ति मात्र हुन्छन्। २०७९ को चुनावपछि देखिएको अनुभवले पनि यही देखायो – संख्या भए पनि दृष्टिकोण नहुँदा दुई तिहाइको सरकार समेत निराशाजनक बन्यो। त्यसैले ‘नयाँ अनुहार’ मात्र परिवर्तन होइन, राजनीति गर्ने तरिका बदलिनु आवश्यक छ।
आज नयाँ शक्तिहरूबीच देखिएको एकताको चर्चा पनि सतही देखिन्छ। एकता जनताको मुद्दा, सामाजिक न्याय, समावेशिता, संविधानको रक्षा र सुशासनका स्पष्ट आधारमा हुनुपर्ने हो। तर बहस त्यसतर्फ छैन – बार्गेनिङ, सिट बाँडफाँट र पदको गणितमै सीमित छ। यस्तो एकताले न त राजनीतिक विश्वास बढाउँछ, न त समाज रूपान्तरणको आधार तयार गर्छ।
अर्को गम्भीर पक्ष ‘मसिहा’ खोज्ने प्रवृत्ति हो। कुनै एक व्यक्तिलाई उद्धारकर्ता बनाएर राजनीति चलाउने संस्कृतिले संस्थागत विकासलाई कमजोर बनाएको छ। नेपालको विविध समाजका लागि सामूहिक, समावेशी र उत्तरदायी नेतृत्व नै दीगो विकल्प हो। साथै, विकासको नाममा वातावरण र भविष्य पुस्तालाई बेवास्ता गर्ने राजनीति अब स्वीकार्य हुन सक्दैन।
यसर्थ, मेरो निष्कर्ष स्पष्ट छ – विचारविहीन ध्रुवीकरणले होइन, स्पष्ट एजेन्डा, नैतिक राजनीति र सामूहिक नेतृत्वले मात्र देशलाई निकासतर्फ लैजान सक्छ। चुनाव जित्नु लक्ष्य होइन, देश बनाउनु उद्देश्य हुनुपर्छ। यही पाठ नबुझे नेपाली राजनीति फेरि पनि उही घेराभित्र घुमिरहनेछ।
नवीन कुमार महत
बिस्लेषक
.jpg)