यहाँको नायकहरू बहादुर होइनन्—स्वार्थी, लोभी र ढोंगी छन्


माघ ४, २०८२, आइतबार | साँझ ०४:५७ बजे | 160


यहाँको नायकहरू बहादुर होइनन्—स्वार्थी, लोभी र ढोंगी छन्

देशको राजनीति अहिले एउटा रंगमञ्च जस्तो भएको छ, जहाँ जनता दर्शक मात्र हुन् र पार्टीहरू नायक। तर यहाँको नायकहरू बहादुर होइनन्—स्वार्थी, लोभी र ढोंगी छन्। यी दलहरूले जनताको सेवा गर्नुको साटो, आफ्नै सत्ता, पैसा र प्रभावको लागि खेल खेल्छन्। चुनाव नीतिको नाटक हो, भाषण प्रचारको भ्रम हो, र सडक र फेसबुकको भीड केवल दृश्य सजावट मात्र हो । पुराना दलहरूले आफ्नो पावर कायम राख्न जनताको अधिकारलाई बेवास्ता गर्छन्। नेताहरूले घोषणापत्रमा दावी गर्छन् उनीहरू जनताको लागि छन्, तर हरेक कदममा देखिन्छ कि उनीहरूको वास्तविक लक्ष्य स्वार्थ, लाभ र भविष्यका व्यापारिक योजना मात्र हो। राप्रपा जस्तो पार्टी पनि अब पुराना अनुशासन र सिद्धान्तलाई फालेर ओकिलहरु भित्र्याउदै छ यसो गर्नु भनेको नयाँ खतरा भित्र पस्नु हो । अब पार्टी स्थिर देखिए पनि, वास्तविकता नागरिकको आँखामा स्पष्ट छ यो पार्टी  पनि केवल स्वार्थको झुण्ड हो। अन्य दलहरू पनि फरक छैनन्। कुनै पार्टी पैसा र भीड भेला गरेर चुनाव जित्ने रणनीति खेल्छ, तेस्रो पार्टी विदेशी प्रभाव र निर्देशनमा आफ्नो राजनीति संचालन गर्छ, र कतिपय पार्टीहरू मात्र संरचना परिवर्तन गरेर पुरानो भ्रष्ट प्रणालीलाई नयाँ नाम दिन्छन्। जनता भ्रममा पार्छन,  जनता  सोच्दछ कि कुनै दल सही छ, तर नाटकको पर्दा हटाउने वित्तिकै वास्तविकता देखिन्छ। सबैभन्दा ठूलो समस्याको मूल हो नेतृत्वको कमी, जिम्मेवारीको अभाव र नैतिकताको विनाश। जबसम्म जनता जागृत हुँदैनन् र इमानदार, स्वतन्त्र व्यक्तिलाई समर्थन गर्दैनन्, तबसम्म देश पार्टीहरूको स्वार्थ, लोभ र ढोंगीपनको खेलमै फसिरहनेछ। यो स्पष्ट छ देशका वास्तविक मालिक पार्टीहरू होइनन्, जनता हुन्। सडक, फेसबुक, वा भीडको नाटकले परिवर्तन ल्याउँदैन; परिवर्तन तब मात्र सम्भव छ जब नागरिकले आफ्नो विवेक प्रयोग गरेर निर्णय गर्छन्। यही चेतना नआएसम्म, राजनीतिमा ढोंगी नेतृत्व, स्वार्थी रणनीति र लोभी खेल जारी रहनेछ, र देशको लोकतन्त्र मात्र प्रदर्शनको नाटकमा सीमित हुनेछ।  

Comments