जगदीश घिमिरेको जन्मघरलाई सङ्ग्राहलय बनाउन मन्थली नगरपालिका सकारात्मक


माघ ३, २०८२, शनिबार | राति १०:१९ बजे | 135


जगदीश घिमिरेको जन्मघरलाई सङ्ग्राहलय बनाउन मन्थली नगरपालिका सकारात्मक

मन्थली नगरपालिकामा रहेको साहित्यकार जगदीश घिमिरे जन्मनुभएको घरलाई जगदीश घिमिरेको सम्मानमा सङ्ग्रहालयकाे रूपमा विकसित गरिने भएको छ ।साहित्यकार एवं समाजसेवी जगदीश घिमिरेको एघारौं स्मृति दिवस मनाउने क्रममा मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले हाल सरकारी स्वामित्वमा रहेको उक्त घरलाई जगदीश घिमिरेको सम्मान र स्मरणमा सङ्ग्राहलयको रूपमा विकसित गर्न मन्थली नगरपालिका सकारात्मक रहेको बताउनुभयो । जगदीश घिमिरे प्रतिष्ठान, मन्थली, रामेछापको आयोजनामा मन्थलीमा भएको उक्त कार्यक्रममा स्रष्टाद्वय पवन आलोक र मीना चौलागाईंलाई क्रमश २०८१ र २०८२ सालको 'जगदीश घिमिरे स्मृति पुरस्कार'ले सम्मानित गरिएको थियो । प्रमुख अतिथि मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले स्रष्टाद्वयलाई क्रमशः ५१ हजार नगदराशिको चेक र 'जगदीश घिमिरे प्रतिष्ठान'की अध्यक्ष एवं श्रीमती दुर्गा घिमिरेले सम्मानपत्र अर्पण गर्नुभएको थियो । उक्त अवसरमा साहित्यकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रीॐ श्रेष्ठ रोदन,ज्ञानु पाण्डे लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । गुञ्जबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै शुरू भएको उक्त कार्यक्रममा साहित्यकार माधव शयपत्रीले जगदीश घिमिरेको व्यक्तित्वमाथि चर्चा गर्दै समाजमा पछि पारिएका भुइँमान्छेहरूको पक्षमा सशक्त रूपमा कलम चलाउने घिमिरेको यसरी स्मृति दिवस मनाउनु सकारात्मक भएको बताउँदै रामेछापमा जन्म लिएर राष्ट्रियस्तरमा योगदान पुर्‍याएका अन्य विभिन्न दिवंगत स्रष्टाहरूलाई पनि रामेछाप जिल्लाले यसैगरी स्मरण गरेर सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो । डा.सुमन कर्माचार्यको उद्घाेषणमा सञ्चालित उक्त समारोहमा उनैद्वारा लिखित 'जगदीश घिमिरेको संक्षिप्त जीवनी' पनि लोकार्पण गरिएको थियो । उक्त समारोहमा हिरालाल आचार्य (अनार बाजे), गङ्गा चापागाईं, गौरव बोहोरा, डा.उमेश घिमिरे, बद्री नयाँघरे, देविकानन्द तिमल्सिना, मधु पाठक, प्रेम घिमिरे, राजेश उपाध्याय, सुषमा आचार्य अंशु, कुमार दाहाल, वसन्त रिजाल, नगेन्द्रराज शर्मा, प्रतीक घिमिरे , डा. सुमन कर्माचार्य लगायतका कविहरूले आआफ्ना रचना वाचन गरेका थिए । उक्त अवसरमा 'साहित्यिक र सामाजिक योगदानमा जगदीश घिमिरेको उपस्थिति' शीर्षक वक्तृत्व प्रतियोगितामा विजयी विभिन्न विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो । नेपाली साहित्यको विशेषगरी आख्यान विधामा जगदीश घिमिरेको विश्व र सशक्त उपस्थिति रहेको छ । २०७० साल कात्तिक १४ गते माइलोमा क्यान्सरको कारण ६८ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको कृति 'अन्तरमनको यात्रा'ले मदन पुरस्कार प्राप्त गरेको थियो । साहित्यकार घिमिरेले २०४५ सालमा रामेछाप जिल्लामा 'तामाकोसी सेवा समिति' नामक गैरसरकारी संस्था स्थापना गरी अस्पताल, खानेपानी, शौचालय निर्माण, शिक्षा र सिंचाइजस्ता क्षेत्रमा अविस्मरणीय सामाजिक योगदान पनि दिएका छन् ।

Comments