अन्तर सहकारी जिल्लास्तरीय भेन्ट्रान्स डबल ब्याडमिन्टन प्रतियोगितामा अनमोल साकोस प्रथम
असार २१, २०८३, आइतबार | साँझ ०६:५७ बजे | 75
भक्तपुर, २१ असार । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को खेलकुद उपसमितिको आयोजनामा अन्तर सहकारी जिल्लास्तरीय भेन्ट्रान्स डबल ब्याडमिन्टन प्रतियोगितामा अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
आइतबार सम्पन्न सेमिफाइनल र फाइनल खेलको अवलोकन गर्दै प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा र स्वास्थ्यलाई सँगसँगै लानुपर्ने बताउनुभयो । उहाँले खेलकुदले शरीर स्वस्थ रहने बताउँदै भक्तपुर नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई क्षेत्रमा उल्लेखनीय कार्य गर्नुका साथै खेलकुद क्षेत्रलाई पनि माथि उकास्न विभिन्न खेलकुद गतिविधि गरिरहेको स्पष्ट पार्नुभयो । यस्तो कार्यमा नगरपालिका र सहकारीबीच एकआपसमा सहयोग गर्दै अगाडि बढ्नुपर्ने उहाँको जोड छ । उहाँले अन्य सहकारीहरुले पनि भक्तपुर बचतले जस्तै अतिरिक्त क्रियाकलापहरु गर्दै जानुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले कुनै पनि संस्था अग्रगामी भई अगाडि बढ्न संस्थाको आर्थिक गतिविधिले मात्र नपुग्ने बताउँदै समाज र देशको विकासमा तेवा पुग्ने गतिविधिहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । संस्थाले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, सांस्कृतिक क्षेत्रसँग सम्बन्धित गतिविीधहरु गर्दै आएको र आगामी दिनमा पनि सञ्चालन गर्दै जाने उहाँको भनाइ छ ।
भक्तपुर नगर खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रलाई माथि उकास्न आवश्यक भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले सहकारी संस्थाहरुले खेलकुद गतिविधिहरु सञ्चालन गर्नु उदाहरणीय रहेको बताउनुभयो । देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने एउटा माध्यम खेलकुद भएकाले स्थानीय युवा र विद्यार्थीहरुलाई समेटी यस्तो गतिविधिलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।
असार २० र २१ गते भएको उक्त प्रतियोगितामा २१ वटा टिम सहभागी रहेको छ । ४५ वर्षमाथि उमेरसमूहका डबल भेन्ट्रान्स प्रतियोगितामा अनमोल साकोसका खेलाडी दिपक बस्नेत र युवराज श्रेष्ठले उत्कृत खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । खेलाडी टिका बहादुर थापा मगर र देन राज घिसिङको प्रदर्शनमा चण्डेश्वरी साकोसले द्धितीय स्थान हासिल गरेको छ भने शुभकामना साकोसका रण बहादुर एरी र नारायण थापाको सहभागीतामा तेस्रो स्थान हासिल गरेको छ । त्यस्तै संगम साकोसबाट राधेश्याम ख्याजु र राजेश घेमोजुको सहभागीतामा सान्त्वना बन्न सफल भएको छ ।
प्रमुख अतिथि प्रजापतिले प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल टोलीलाई ट्रफी र मेडलसहित क्रमशः रु.१०,०००÷–, रु.६,०००÷–, रु.४,०००÷– र रु.२,०००÷– को नगद पुरस्कारबाट पुरस्कृत गरेको उक्त कार्यक्रममा सहभागी टोलीलाई प्रमाणपत्र वितरण गरेको थियो ।
खेलकुद उपसमितिका संयोजक राजेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य क्यारिन्डा खयरगोली, अन्तर्राष्ट्रिय ब्याडमिन्टन रेफ्री राधेश्याम मचामसीले पनि बोल्नु भएको थियो ।
