वोदेमा निःशुल्क प्रजनन स्वास्थ्य तथा नसर्ने रोग परीक्षण शिविर
असार २१, २०८३, आइतबार | राति ०८:५१ बजे | 65
वोदे, असार २१ – भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं–८ स्थित वोदे स्वास्थ्य चौकीमा आइतबार निःशुल्क प्रजनन स्वास्थ्य, पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन परीक्षण तथा नसर्ने रोग स्क्रिनिङ सम्बन्धी स्वास्थ्य शिविर भएको छ । शिविर बिहान ७ बजेदेखि सुरु भएको थियो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा सञ्चालन भएको शिविरको समन्वय सूर्यविनायक नगरपालिकाले गरेको हो ।
शिविरमा महिलाहरूका लागि स्तन क्यान्सर परीक्षण, भीआईए विधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्त्रीरोगसम्बन्धी स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । साथै, नसर्ने रोगको प्रारम्भिक पहिचानका लागि रक्तचाप, मधुमेह (रक्तमा चिनीको मात्रा), शरीरको तौल र उचाइका आधारमा विएमआई तथा पिसाबमा प्रोटिन परीक्षण समेत गरिएको आयोजकले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यस्ता स्वास्थ्य शिविरले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा मधुमेह, उच्च रक्तचापजस्ता नसर्ने रोगहरूको समयमै पहिचान गर्न सहयोग पुग्ने भएकाले लक्षित समुदायलाई शिविरबाट लाभ लिन आग्रह गरिएको छ ।
स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य परीक्षणले जटिल रोगहरूलाई प्रारम्भिक चरणमै पत्ता लगाई समयमै उपचार गर्न सकिने भएकाले विशेषगरी महिलाहरू र नसर्ने रोगको जोखिम समूहमा रहेका नागरिकलाई शिविरमा सहभागी हुन अनुरोध गरेका छन् ।
