कमलविनायक मन्दिर परिसरमा आगलागी नियन्त्रण तालिम


असार २१, २०८३, आइतबार | राति ०९:०९ बजे | 20


कमलविनायक मन्दिर परिसरमा आगलागी नियन्त्रण तालिम

भक्तपुर, २१ असार । भक्तपुर नगरपालिकाले समुदायस्तरमा आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको वडास्तरीय घरेलु तथा सामुदायिक आगलागी नियन्त्रण तालिम आइतबार भक्तपुर नगरपालिका–१० को आयोजनामा कमल विनायक मन्दिर परिसरमा एक समारोहबीच शुभारम्भ भएको छ।

कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १० का अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले आगलागी नियन्त्रणसम्बन्धी आवश्यक सुरक्षा सामग्री तालिमका विज्ञ तथा प्रमुख सहजकर्ता दिनेश वाटीलाई हस्तान्तरण गरी गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष ह्यौमिखाले बढ्दो सहरीकरण, विद्युतीय उपकरणको अत्यधिक प्रयोग, खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको प्रयोगसँगै आगलागीको जोखिम पनि बढ्दै गएको उल्लेख गर्नुभयो। यस्ता विपद्का घटनाबाट मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न समुदायका नागरिकलाई समयमै सचेत र दक्ष बनाउन यस्ता तालिम अत्यन्त आवश्यक रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “विपद् पर्दा उद्धार र नियन्त्रणका आधारभूत सीप भएमा ठूलो मानवीय तथा धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ। अहिले विद्युत्, ग्यास र पेट्रोलियम पदार्थको प्रयोग व्यापक भएकाले सामान्य लापरवाहीले पनि ठूलो आगलागी हुन सक्छ। यस्ता जोखिमबाट जोगिन प्रत्येक नागरिकमा आधारभूत ज्ञान र सीप हुन आवश्यक छ।”

वडा अध्यक्ष ह्यौमिखाले नगरपालिकाले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै सबै वडामा यस्ता व्यवहारिक तथा सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। तालिमबाट प्राप्त ज्ञानलाई आफ्नै घर, टोल तथा समुदायमा व्यवहारमा उतार्दै सुरक्षित समाज निर्माणमा सबैले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन वडा सदस्य कृष्ण नारायण दुमरुले गर्नुभएको थियो।

तालिममा आगलागीका कारण, आगलागी हुन नदिने सावधानी, विभिन्न प्रकारका आगोको पहिचान, आगो नियन्त्रणका आधुनिक विधि, ग्यास सिलिन्डरबाट हुने आगलागी नियन्त्रण, विद्युतीय आगलागी नियन्त्रण, प्राथमिक सुरक्षा उपाय, विपद्का बेला अपनाउनुपर्ने सावधानी तथा उद्धारका आधारभूत विधिबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको छ।

तालिमका प्रमुख सहजकर्ता दिनेश वाटीसँगै राजेश गाइजु र न्हुज किजुले सहभागीहरूलाई सैद्धान्तिक (Theory) तथा प्रयोगात्मक (Practical) अभ्यासमार्फत आगलागी नियन्त्रणका विभिन्न प्रविधि सिकाउनुभएको थियो। प्रयोगात्मक अभ्यासमा अग्नि नियन्त्रक (फायर एक्स्टिङ्गुइशर) को सही प्रयोग, ग्यास सिलिन्डरमा आगो लागेमा नियन्त्रण गर्ने तरिका, प्रारम्भिक उद्धार तथा सुरक्षित रूपमा आगो निभाउने विधिबारे प्रत्यक्ष प्रदर्शन गरिएको थियो।

तालिममा वडा नं. १० का स्थानीय बासिन्दा, महिला, ज्येष्ठ नागरिक, युवा तथा समुदायका विभिन्न समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले व्यवहारिक अभ्यासमार्फत आगलागी नियन्त्रणसम्बन्धी सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता तालिमले समुदायमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।

भक्तपुर नगरपालिकाले स्थानीय समुदायलाई विपद्प्रति सचेत, सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेको यो तालिमले घरपरिवार र समुदायमा आगलागीका घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

कमलविनायक मन्दिर परिसरमा आगलागी नियन्त्रण तालिम

Comments