बालबालिकाको मस्तिष्क विकासका लागि दुई घन्टे ब्रेनपावर तालिम सम्पन्न
माघ ३, २०८२, शनिबार | साँझ ०४:३१ बजे | 240
श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसन र चमेरो बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिकालाई लक्षित गरी मस्तिष्क शक्तिको विकास (ब्रेनपावर) सम्बन्धी दुई घन्टे महत्वपूर्ण तालिम सम्पन्न भएको छ।
उक्त तालिम चमेरो बचत तथा ऋण सहकारी संस्थाको आफ्नै तालिम कक्षमा सञ्चालन गरिएको थियो। तालिम फाउन्डेसनका संस्थापक अध्यक्ष चन्द्रहरी कायस्थद्वारा प्रदान गरिएको थियो। कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट आएका विभिन्न उमेर समूहका २९ जना बालबालिकाको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य बालबालिकामा स्मरण शक्ति, एकाग्रता र सिर्जनशीलताको विकास गराउनु रहेको थियो। कार्यक्रममा दिमाग के हो, दिमागलाई कसरी विकास गर्न सकिन्छ, दिमागलाई क्षति पुर्याउने कारणहरू, संस्कारको महत्व, ध्यान र ज्ञानको दिमागमा पर्ने प्रभाव, दिमागका प्रकार तथा सिकाइका विधिहरूका बारेमा जानकारी प्रदान गरिएको थियो।
तालिममा दायाँ र बायाँ दिमागको कार्यक्षमता, ज्ञानेन्द्रियको प्रयोग, ध्यानको माध्यमबाट सिकाइ, कला, चित्र, फोटो, शब्द, रङ, संगीत तथा भावनाको प्रयोग गरी प्रयोगात्मक, सरल र रमाइलो शैलीमा बालबालिकालाई सिकाइ गरिएको थियो। दायाँ र बायाँ दुवै दिमागको क्षमतालाई एकैसाथ प्रयोग गर्दा सिक्ने क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्न सकिने विषयलाई विशेष रूपमा प्रयोगात्मक ढङ्गले बुझाइएको थियो। साथै, दिमागलाई विकास गर्ने तथा दिमागलाई बिगार्ने खानेकुराहरूका विषयमा पनि सचेतना दिइएको थियो। तालिम चमेरो बचत तथा ऋण सहकारी संस्थाको बाल बचत समूहको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी बालबालिकालाई संस्थाको तर्फबाट कपी, कलम, चकलेट तथा नास्ताको व्यवस्था गरिएको थियो। सहभागी अभिभावकहरूले यस्तो व्यवहारिक र जीवनोपयोगी तालिमले बालबालिकाको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
