वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच उत्पन्न असहज परिस्थिति सर्वदलीय छलफल भई समाधान


माघ २, २०८२, शुक्रबार | राति ०९:५० बजे | 130


वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच उत्पन्न असहज परिस्थिति सर्वदलीय छलफल भई समाधान

भक्तपुर, माघ २
चाँगुनारायण नगरपालिकाले नगरभित्र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, छरितो र परिणाममुखी बनाउन जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीचको समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

नगरपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूले प्रचलित नीति, नियम र कानुनी दायराभित्र रही आफ्नो पदिय जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने उल्लेख गरिएको छ। जनप्रतिनिधि र कर्मचारी संयन्त्रबीचको सहकार्यले मात्र आम नागरिकका समस्या सहज रूपमा समाधान गर्न सकिने नगरपालिकाको ठहर छ।

विज्ञप्तिमा जनप्रतिनिधिबाट नागरिकका समस्यामा तत्काल देखिन चाहिने परिणाममुखी नतिजा र कर्मचारी संयन्त्रबाट प्रक्रिया तथा कानुनी दायराभित्र रहेर प्राप्त हुने नतिजाबीच कहिलेकाहीँ असमझदारी देखिने गरेको स्वीकार गरिएको छ। यस्ता असमझदारी र द्वन्द्वलाई संवाद र छलफलमार्फत समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

नगरपालिकाका अनुसार मिति २०८२ पुस २९ गते वडा नं. ५ का वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच उत्पन्न असहज परिस्थितिका सम्बन्धमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका समाचार र विषयवस्तुलाई गम्भीरतापूर्वक लिइएको छ। सो विषयमा मिति २०८२ माघ ३० गते सर्वदलीय छलफल भई विवाद समाधान भएको नगरपालिकाले जनाएको छ।

छलफलका क्रममा वडा अध्यक्षबाट आगामी दिनमा यस्ता अवस्था दोहोरिन नदिने प्रतिबद्धता व्यक्त भएको र प्रमुख प्रशासकीय अधिकृतबाट समेत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले सार्वजनिक सेवा प्रवाहका क्रममा सबै जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रचलित कानुनको पालना गर्दै जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गरेको छ। कुनै पनि अवस्थामा कानुन विपरीत कार्य भएमा कानुनी दायराभित्र ल्याइने स्पष्ट चेतावनीसमेत दिइएको छ।

अन्त्यमा नगरपालिकाले विवाद र असमझदारीलाई छलफल र संवादमार्फत समाधान गर्दै अघि बढ्दा मात्र नगर प्रशासनमा स्थायित्व, परिपक्वता र सुशासन कायम हुने भन्दै सबै पक्षबाट सहकार्यको अपेक्षा गरेको छ।

Comments