काभ्रे २ मा तारा नै किन ?
पुष २९, २०८२, मङ्गलबार | दिउँसो ०१:०६ बजे | 365
काभ्रे । काभ्रे क्षेत्र नं २ मा आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विभिन्न उम्मेदबारहरुले रुचि देखाइरहेका छन् । त्यसमा पार्टी काभ्रे जिल्ला सभापतिदेखि अन्य विभिन्न व्यक्तिहरुको नाम पनि चलेकै छ । अर्का तारा बहादुर कुँवर पनि दावेदारका रुपमा रहेका छन् । कुँंवरले उम्मेदवारमा रुचि देखाएसँंगै स्थानीय राजनीतिमा चासो बढेको छ । परम्परागत दलहरूको पकड बलियो मानिने यस क्षेत्रमा रास्वपाले किन कुँवरलाई नै अघि सार्नुपरेको हो भन्ने प्रश्नले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।
स्थानीय समाजसेवा, इमानदार छवि र जनसम्पर्कलाई आधार बनाउँदै राजनीतिमा प्रवेश गरेका तारा बहादुर कुँवर काभ्रे क्षेत्र नं २ मा चिनिएका व्यक्तित्व हुन् । लामो समयदेखि स्थानीय तहमा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कुँवरलाई ‘जनताको आवाज बोकेर हिँड्ने नेता’का रूपमा धेरैले चिन्छन् । यही कारण रास्वपाले जनआधारित र स्वच्छ छविको उम्मेदवार आवश्यक ठानेर कुँवरलाई प्राथमिकतामा राखेको बुझिन्छ ।
रास्वपाको केन्द्रीय नीति अनुसार पुराना राजनीतिक अभ्यासभन्दा फरक ढंगले काम गर्नसक्ने, दलीय स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा बोल्न सक्ने उम्मेदवार खोज्ने क्रममा कुँवर उपयुक्त पात्रका रूपमा देखिएका हुन् । पार्टी स्रोतका अनुसार स्थानीय समस्या नजिकबाट बुझेका, युवादेखि वृद्धसम्मसँग सहज संवाद गर्न सक्ने र विकासका मुद्दामा स्पष्ट दृष्टिकोण राख्ने व्यक्ति भएकाले उनलाई उम्मेदवार बनाउने निर्णयतर्फ पार्टी उन्मुख भएको हो ।
काभ्रे क्षेत्र नं २ मा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी र कृषिमा आधारित विकास प्रमुख मुद्दा हुन् । कुँवरले यी विषयमा विगतदेखि नै आवाज उठाउँदै आएका छन् । ‘काभ्रेको विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्ने उनको धारणा मतदातामाझ लोकप्रिय बन्दै गएको छ । यसले पनि रास्वपाले उनलाई उम्मेदवार बनाउँदा जनसमर्थन पाउने अपेक्षा गरेको देखिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि र नयाँ विकल्पको खोजी भइरहेका बेला तारा बहादुर कुँवरजस्ता स्थानीय रूपमा स्वीकारिएका उम्मेदवार रास्वपाका लागि बलिया आधार बन्न सक्छन् । काभ्रे क्षेत्र नं २ मा रास्वपाले आफ्नो उपस्थिति मजबुत बनाउन कुँवरको उम्मेदवारी निर्णायक हुन सक्ने आँकलन गरिएको छ ।
यसरी हेर्दा, स्वच्छ छवि, स्थानीय पकड, सामाजिक योगदान र रास्वपाको वैकल्पिक राजनीतिक एजेन्डासँग मेल खाने व्यक्तित्व भएकै कारण काभ्रे क्षेत्र नं २ मा रास्वपाका तर्फबाट तारा बहादुर कुँवर नै उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ । खासमा पहिलादेखि नै एमाले, अझ एमाले नेता गोकुल बास्कोटाको पकड क्षेत्रको रुपमा रहेको यस क्षेत्रलाई भत्काएर रास्वपाको झण्डा हल्लाउने हो भने ताराको विकल्प हुनै सक्दैन ।
