सत्ता–४
पुष २८, २०८२, सोमबार | राति ०७:४१ बजे | 230
प्रकाशचन्द्र खतिवडा
खोलाहरु उर्ली रहे
जसरी उर्लन्छ बैंस
यात्रुहरु लम्की रहे
जसरी लम्किन्छन कमिला ताँती ।
तिमी त्यो यात्रु हौ
जसलाई यात्रा विमुख हुने छुट छैन
आमाका सपना बोकेर
तिमी संगै म पनि छु
सपना बोक्नेहरु तिमी र म मात्रै हैनौ
अवोध नानीहरु
हराएका आमाहरु खोजी गर्न
हाम्रै यात्रामा सामेल छन
बास उठाइएका
भोकले क्लान्त
अज्ञात मान्छेहरु
हाम्रै यात्रामा समाहित हुँदै छन
पारिवेशिक परिस्थितिलाई समायोजन गर्दै
ऐतिहासिक मानिएको हाम्रो यात्रा
गन्तव्य नटेके सम्म
अधुरै रहने छ
हामीले खनेको मूल बाटोमा
जब यात्रा सहज हुन्छ
यात्रीहरु अवीस्मरणीय संस्मरणहरु संगालेर
क्रमशः नेटो काट्दै
सपनाका जुलुस बोकी
सपनाकै चुचुरो चुम्वन गर्छन ।
हाम्रो यात्रा जुलुसमा परिणत हुन्छ
हामी नारा बाजी गर्छौ
हाम्रो नारा सुनेर
दलाल तर्सन्छ
सरकार हच्कन्छ
आपतकालीन बैठक बसी
हामीलाई आतंककारी घोषणा गर्दै
निषेधाज्ञा जारी गरिन्छ ।
हामी रोकिन्नौ महाशय !
निषेधाज्ञा जारी गर्दैमा
हाम्रो खोसिएको सपना फिर्ता देउ
मानिसहरु अज्ञात छन
तिनीहरुलाई नागरिकता देउ
भोकालाई खान देउ
नाङ्गालाई लाउन देउ
बेघरबारलाई घरबार देउ
नानीहरु रोइरहेछन
नानीहरुलाई आमा देउ ।
हाम्रा माग पूरा गर्न नसक्ने सत्तासीनहरु
सत्तामा बस्नुको कुनै तुक छैन
हामी तिम्रो सत्ता माथि धावा बोल्दै
तिमीलाई सत्ताच्युत गर्छौ
विनम्रतापूर्वक हामी भनि रहेछौ
तिमी सडकमा ओर्ल
हामी सत्तामा बस्छौ ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
(11)(1)(1)(1)(2)(1)(1)(1)_(1).jpg)