भूकम्पले उब्जाएका मेरा स्मृतिहरु – १


पुष २८, २०८२, सोमबार | विहान ०८:३३ बजे | 430


भूकम्पले उब्जाएका मेरा स्मृतिहरु – १

डा. इन्दुल के.सी., भक्तपुर
९८४१३३४११३
१) सन्दर्भ ः
    प्रत्येक वर्ष माघ २ गतेको दिन हामी नेपालीहरु राष्ट्रिय भूकम्प दिवस मनाउछौं । यस दिन वि.सं. १९९० सालमा नेपाल र नेपाली जनताले भूकम्पको ठूलो मार भोग्नु परेको थियो । यसै दिनलाई आधार मानी भूकम्पको कारणले हुने जनधनको नोक्सानी कसरी न्यून गर्न सकिन्छ भनी जनचेतना मूलक कार्यक्रम गरेर मनाइन्छ ।
२) १९९० सालको भूकम्प
    वि.सं. १९९० सालको भूकम्प ८.३ रेक्टर स्केलको थियो रे । छिमेकी राष्ट्र भारतको विहार प्रान्तमा भू–कम्पीय केन्द्र भएको सो भूकम्पले नेपालमा, खासगरी काठमाडौं उपत्यकामा  व्यापक रुपमा धन र जनको क्षति गरेको थियो भनिन्छ । करीब ८,००० नेपालीले जीवन  गुमाउनु परेको थियो । त्यो भूकम्पको कारण भवन, बाटो, मन्दिर, देवल, पाटी–पौवा आदिको नोक्सानीको गणना नै गर्न साध्य थिएन । म जन्मेहुर्केको जिल्ला भक्तपुरमा त्यस समयमा भत्किएकामध्ये कतिपय देवल, मन्दिरहरु र व्यक्तिगत घरहरु आजसम्म पनि पुनः निर्माण गर्न सकिएको छैन । त्यस समयमा नेपालको जनसङ्ख्या करिब ६० लाख भन्दा कम थियो । त्यति थोरै जनसङ्ख्या भएको समयमा ८,००० मानिसको मृत्यु हुनु भनेको कति ठूलो नोक्सानी व्यहोर्नु परेको थियो, कति ठूलो पीडा सहनु परेको थियो त्यो बेला नेपालीले, सहज अनुमान लगाउन सकिन्छ । त्यस्तो पीडा बेर्होर्नु नपरोस भनेर नै भूकम्प दिवस मनाइन्छ । भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक क्षमताको घर निर्माण गर्न जोड दिन्छन् यस दिवसले । म जन्मनुभन्दा ८ वर्ष अगाडि यो भूकम्पीय नोक्सानी व्यहोरेको विवरण मैले त्यस समयका समाचार, पत्रपत्रिका र यस विषयमा लेखिएका पुस्तकहरुबाट जानकारी पाएको हँु ।
३) २०१८ सालमा भूकम्पले मच्चिएको कोलाहल ः
    वि.सं. १९९० को भूकम्प र त्यसपछि पनि समय समयमा नेपाल र नेपालीले भूकम्पीय धक्काहरुको अनुभव गर्दै रहे । इन्डो–टिबेटियन प्लेटमा भइरहेको टकराबको कारण नेपालको उत्तरी सीमानामा पहाड र हिमालहरु बन्न गएको र भूकम्पीय जोखिम युक्त भू–बनोट भएका कारणले गर्दा नेपाल र नेपालीले भूकम्पीय धक्काहरु बेहोर्नु परिनै रहेको छ । यस्तो अनुभव गरिरहनुपर्ने कम्पनले भूमिमा मात्र होइन मानव मनमा समेत भयको कम्पन ल्याइरहने गर्दछ ।    त्यस्तो मानसिकता बोकेको नेपाली समाज वि.सं. २०१८ सालमा कस्तो थियो होला ? पण्डित, ज्योतिष र विज्ञहरुले ग्रहदशा अत्यन्त विपरीत भएकाले २०१८ सालको माघ महिनामा काठमाडौं उपत्यकामा ठूलो अनिष्ट हुनेछ भनियो । १९९० सालको भन्दा पनि ठूलो भँुईचालो आउनेछ भन्ने हल्लाले तत् समयका समग्र नेपालीहरु अत्यन्त पीडाले पिरोलिएका थिए ।
त्यस वर्ष माघ महिनामा काठमाडौंमा हुन सक्नेले आ–आफ्ना बारीको पाटोमा र नसकेकाहरुले खुल्ला चौरमा छाप्रो हालेर बस्न थाले । १ महिना भन्दा बढी समयसम्म प्रायः सबैको छाप्रोमा बास भएको थियो । 
त्यस समयमा मेरा पिताजीले पनि मेरो घर भक्तपुर नगरको मंगलाछें टोलमा आफ्नै बारीमा एउटा टहरो छाप्रो बनाउनुभएको थियो । हाम्रो परिवार सबै त्यस छाप्रो÷टहरोमा एक महिना जति बस्यांै । हुरी बतास, असिना, वर्षा आउदा त डरलाग्दो र कहाली लगाउने थियो त्यस बखत । तर त्यसबेला भूकम्प भने आएन ।
४) २०४५ सालको भूकम्प र राहत वितरण
    भाद्र ५ गते आएको ६.८ रेक्टर स्केलकोे भूकम्पले नेपाली भूमि र नेपाली मनलाई फेरि एकपटक तरङ्गित बनायो । भूकम्पीय तरङ्गले गरेको धनजनको क्षति त छँदै थियो मेरो जिल्ला भक्तपुरमा भने यस भूकम्पले राजनीतिक तरङ्ग समेत सिर्जना गर्न पुग्यो ।
    त्यस समयमा भूकम्पीय चोटमा परेका भक्तपुरमा राहत वितरण गर्ने कार्य भइरहेको थियो । राहत वितरणमा पक्षपात र अनियमितता समेत आफूले बेहोर्नु परेको भन्दै भक्तपुरबासीहरु आन्दोलित हुन पुगे । आन्दोलन हिंसात्मक समेत हुन पुग्यो । उर्लेको नदीले आफ्नो किनारालाई नमाने जस्तै उर्लेको भीडले पनि आफ्नो संवेदनशीलता र आवेगको सीमाना भत्काउन पुग्यो । भीड हिंसात्मक हुन गयो । भक्तपुरमा हिंसाको घटना घट्न गयो । हिंसाको घटनाले थप हिंसा र थप धरपकड जन्मायो । त्यस्तो स्थिति भक्तपुरवासीले नजिकैबाट अनुभव गर्नुप¥यो । मानव भएर जन्मिए पछि नचाहेको भूकम्प, नचाहेको मनोकम्प र नचाहेको हिंसाकम्प पनि भोग्नु प¥यो । 
५) २०७२ वैशाख १२ गतेको भूकम्पको दिन ः
    २०७२ वैशाख १२ गते शनिवार बिहान ११ बजेर ५६ मिनेट जाँदा ७.८ रेक्टर स्केलको भूकम्पले नेपाल र नेपालीलाई फेरि एकपल्ट कम्पायमान बनायो । ८ हजार २ सय भन्दा बढीको मृत्यु गराएको त्यो भूकम्प गोरखा जिल्लामा केन्द्रविन्दु (भ्उष्अभलतभच) भएको भूकम्प थियो ।
    त्यो दिन बिहान काठमाडांैको खुला मञ्चमा भारतका योगगुरु श्री रामदेवजीको योगको प्रवचन सुन्न म त्यहाँ पुगेको थिएँ । योगप्रेमी अपार श्रोताहरुलाई त्यहाँ रामदेवजीले आकर्षक प्रवचन दिनु भयो । यो कार्यक्रमपछि म काठामाडांै स्वयम्भू सीतापाइलामा श्री चम्पा लामाको डेरामा निजलाई प्राकृतिक उपचार “रेकी हिलिङ्ग” गर्न गएको थिएँ । त्यो घर ठूलो थियो । विभिन्न तल्लामा विभिन्न डेरावालहरु थिए । अचानक भुँइचालो आयो घर हल्लिन थाल्यो, कोठामा सजाएर राखेका तस्बिरहरु, टिभी, फ्रिज आदि लथालिङ्ग भए । वरिपरि कोलाहल मच्चियो, घरमा रहेका सबै मानिसहरु घर बाहिर दौडेर निस्किए । चम्पा लामा डराईडराईकन मलाई बुबा बुबा भन्दै अँगालो मार्न आइन्, मैले तिनलाई ढाडस दिंदै हात समाई एक तला मुनि सबै मानिस जम्मा भइरहेको ठाउँमा पु¥याएँ । भेला भएका मानिसहरुले घटनापछि आफूले भोगेका कुरा बताउन थाले । चम्पा लामाले – “आफूलाई वहाँ डा. इन्दुलज्यूले मलाई ज्यान बचाइ दिनु भयो ” भन्दै मेरो कार्यको विवरण सुनाउन थालिन् । 
    एक घण्टा समयपछि मेरो घर भक्तपुरमा मेरा परिवारहरुको गति के भयो होला भन्ने मलाई चिन्ता हुन थाल्यो । त्यसैले म घर फर्कनको लागि स्वयम्भूको मूल सडकमा गएँ । बाटोमा जताततै घर पर्खाल भत्केको, घाउचोट लागी उपचार केन्द्रतिर जान लागेकाहरु दांैडदै थिए । बिचबिचमा भूकम्पको पराकम्पहरु चलि नै रहेको थियो ।
    मूल सडकमा बसको आवतजावत पूरै बन्द भैसकेको थियो । केवल ऐम्बुलेन्स र दमकल (अग्निनियन्त्रण) का सवारीहरु आ–अफ्नो गन्तव्यतिर लागिरहेको थिए । बाहिरी वातावरणमा छाएको कोलाहलले मेरो मन मस्तिष्कलाई कोलाहल नै बनाएको थियो । 
६) काठमाडौं सीतापाइलादेखि मेरो घर भक्तपुरसम्मको त्यो दिनको मेरो यात्रा ः
    सीतापाइलाको त्यो सुनसान सडकमा एक अपरिचित व्यक्ति मोटरबाइकमा आइरहनुभएकालाई मैले रोकेर मलाई पनि साथमा लान अनुरोध गरेँ । उहाँले मेरो अनुरोध स्वीकार्नु भयो । मोटरबाइकको पछिल्लो सिटमा सवार म र बाइक चालक बीचमा कुराकानी हुने क्रममा उनी रेकी सिक्न इच्छुक व्यक्ति रहेको र म रेकी मास्टर तथा उपचारक समेत हँु भन्ने कुरा उहाँलाई बताएँ । अनी उनी म सँग भविष्यमा रेकी सिक्न इच्छा व्यक्त गरे ।
मोटरबाइक यात्रा सहज थिएन । बाटाहरुमा धाँजा फाटेको, उबडखाबड भएको थियो । साच्चैँ भनाँै भने बाटो, बाटो जस्तो नभएर बाटो नै नबनेको स्थानमा बाइक चलाउनु जस्तो थियो । मेरो शरीर थिलथिलो हुने गरी बाइक जोल्टिङ खान्थ्यो । चालक पनि बेला बेलामा बाइक नियन्त्रण गर्न कठिन महसुस गर्दथे । तर के गर्नु ? यात्रा त गर्नै पर्ने थियो । मुस्किलले यात्रा पार ग¥यौं ।
    अपरिचित व्यक्ति छोटो समयमा नै परिचित जस्तै भइहाले । बाइकर आफ्ना,े आफन्तको घर गठ्ठाघर भक्तपुरसम्म जान लागेका रहेछन् । बाइकयात्रा कालमा हामीले भूकम्पका विषयमा भूकम्प पछिको वरवादी, धन जनको क्षति, कोलाहल र रेकी उपचार पद्धतिको बारेमा आफ्ना परिचयहरुका आयतन बढाउँदै र गहिराइमा जाँदै गर्दागर्दै हामी पनि आफन्त जस्तै हुन पुग्यौँ जसको कारण उहाँले मलाई भक्तपुर नगरको नासमना टोलमा रहेको मेरो घरसम्म नै पु¥याइ– दिनु भयो । मेरो परिवारका सदस्यहरु ती व्यक्तिप्रति अनुगृहित भए, धन्यवाद दिएँ र उनको उपकारलाई कहिल्यै नबिर्सने गरी आफ्नो मनको गहिराइमा राखेँ ।
७) त्यो दिन मेरो परिवारको स्थिति
    मेरो सम्झनाले चिन्तातुर भइरहेकी, मेरी श्रीमती सावित्री के.सी.ले मलाई अंकमाल गर्न आइपुगिन् । भूकम्पले भौतिकरुपमा मेरो घरलाई कुनै क्षति गराएको रहेनछ । तर पनि परिवारका सदस्यहरु मानसिक रुपमा भने त्रसित भइरहेको पाएँ । अब पालो थियो त्रसित हुने मेरो । आफ्नो धन र जनको क्षति नभए पनि, मेरो भक्तपुरका आम जनसमुदायको जन धनको क्षतिको मूकदर्शक भइरहेको थिएँ म । भक्तपुरमा निकै नै घरहरु भत्किएका थिए । सीतापाइलाबाट भक्तपुरसम्मको यात्राले दमन गराएको रहेछ मेरा मनभित्रका मानसिक केन्द्रहरुलाई । यसरी भूकम्पले मलाई मनोवैज्ञानिक कार्य प्रणालीको समेत बोध गरायो ।
क्रमश...
    
 

Comments