दायित्वद्वारा चार स्रष्टाहरू पुरस्कृत


पुष २७, २०८२, आइतबार | राति ०८:२७ बजे | 75


दायित्वद्वारा चार स्रष्टाहरू पुरस्कृत

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा राजधानीमा आयोजित एक समारोहमा साहित्यकार महेश्वर शर्माले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने चार जना स्रष्टाहरूलाई पुरस्कृत सम्मानित गर्नुभयो । सो कार्यक्रममा प्रमुख अतिथि शर्माले आख्यानकार मधुवन पौडेललाई पच्चीस हजार रुपैयाँसहितको शङ्कर कोइराला आख्यान पुरस्कार, प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई पच्चीस हजार रूपैयाँसहितको कुमार–सरस्वती साहित्य पुरस्कार, साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई एकाउन्न हजार एक सय एघार रुपैयाँसहितको चूडामणि भाषाव्याकरण–कोश पुरस्कार तथा साहित्यकार, रङ्गकर्मी तथा साहित्यिक पत्रकार किशोर पहाडीलाई पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहितको रामप्रसाद पन्त वाङ्मय पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा दायित्व पत्रिकाको १५६औँ अङ्कको समेत लोकार्पण गर्दै शर्माले दायित्व वाङ्मय प्रतिष्ठानले लामो समयदेखि योग्य स्रष्टाहरूलाई पुरस्कृत सम्मानित गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य प्रा.डा. लेखप्रसाद निरौलाले अग्रज साहित्यकारहरू शङ्कर कोइराला, प्रा.डा. कुमारबहादुर जोशी, चूडामणि गौतम तथा रामप्रसाद पन्त र चारै जना पुरस्कृत स्रष्टाहरूका बारेमा परिचयात्मक मन्तव्य व्यक्त गर्दै अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । सो अवसरमा रोचक घिमिरे, मधुवन पौडेल, किशोर पहाडी र प्रा. डा. लक्ष्मणप्रसाद गौतमले आफूहरू पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै पुरस्कारले अझै दायित्व थपेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा पन्तले शङ्कर कोइराला, कुमारबहादुर जोशी र चूडामणि गौतमको साहित्यिक योगदानबारे चर्चा गर्दै पुरस्कृत स्रष्टाहरूलाई बधाई ज्ञापन गर्नुभयो। साथै प्रतिष्ठानका महासचिव यादव भट्टराईले दायित्व वाङ्मय प्रतिष्ठानले गर्दै आएको गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

दायित्वद्वारा चार स्रष्टाहरू पुरस्कृत

Comments