लोमश वाङ्मय प्रतिष्ठानको मासिक रचना वाचन


पुष २६, २०८२, शनिबार | राति ०९:३५ बजे | 200


लोमश वाङ्मय प्रतिष्ठानको मासिक रचना वाचन

जयराम बिडारी

लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो मासिक रचना वाचन तथा कृति परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको चौँथो शनिबार बिहान ११:०० बजे आयोजना हुने शृङ्खलाबद्ध कार्यक्रममध्ये सत्रौँ कार्यक्रमका प्रमुख अतिथि मूर्धन्य साहित्यकार महेश प्रसाई हुनुहुन्थ्यो भने विशेष अतिथि हुनुहुन्थ्यो- नवप्रज्ञापन त्रैमासिकका सम्पादक तथा चर्चित बालसाहित्यकार नवराज रिजाल । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रसाईले लोमश वाङ्मय प्रतिष्ठान, मनोहरा साहित्य समाज, नागार्जुन साहित्यिक प्रतिष्ठान लगायत केही सीमित साहित्यिक संस्थाहरूको नाम लिएरै नेपाल प्रज्ञाप्रतिष्ठानले गर्नुपर्ने कर्म गर्दै आएकामा सन्तोष व्यक्त गर्नुभयो । एक फरक प्रसङ्गमा उहाँले नागार्जुन साहित्यिक प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले गरेका साहित्यिक कर्महरूको मुक्तकण्ठले सराहना गर्नुभयो । साहित्य सेवालाई नितान्त समाज सेवा भएको बताउँदै यसको चेहरा सधैँ प्रगतिशील र पिँधको वर्ग उत्थान गर्न उत्प्रेरित गर्ने खालको हुनुपर्ने राय व्यक्त गर्नुभयो । मैमत्ता साम्राज्यवादलाई लल्कार्दै प्रसाईंले जसले जसरी विश्लेषण गरेपनि अमेरिकाले ओछ्यानबाट उठाएर एउटा सार्वभौम राष्ट्रप्रमुखलाई हतकडी लगाई अपराधी करार गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताउनुभयो । वाचित रचनाहरूको साङ्गोपाङ्ग शल्यक्रिया गर्दै प्रसाईले एकाध रचनामा परिष्कारको खाँचो भए पनि अधिकांश सिर्जना समसामयिक र खारिएका भन्ने अभिमत राख्नुभयो । विशेष अतिथि बालसाहित्यकार एवम् काबिल सम्पादक नवराज रिजालले बालसाहित्य लेखनको प्रसङ्ग कोट्याउँदै या त तिनीहरू वृद्ध सर्जकहरूले आफ्नो अनुभव उजागर गर्ने या कुनै गैरसरकारी संस्थाले आफ्नो स्वार्थ अनुकूल लेखाएर बालमस्तिष्कमाथि लाद्ने खालका भएको भन्दै वास्तविक बालसाहित्य अत्यन्त न्यून मात्र लेखिएको दाबी गर्नुभयो । साहित्यमा साधना हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै पठन संस्कारलाई समृद्ध बनाउँदै खोज अनुसन्धानलाई तीव्र विस्तार गर्नुपर्ने खाँचो औँल्याउनुभयो । यदि साहित्यलाई मनैदेखि अघि बढाउने हो भने मौलिक बालसाहित्य लेखनलाई प्रश्रय दिनु आजको आवश्यकता भएको उहाँको प्रस्टोक्ति थियो । वरिष्ठ पत्रकार तथा कवि तेजेन्द्र प्रसाईले आफ्नो पुरानो मित्रको संस्थामा आएर सिर्जना प्रस्तुत गर्न पाउनु सुखद संयोग भन्दै यसको निरन्तरताको कामना गर्नुभयो। कवि तथा गजलकार जीत कार्कीले आफ्ना जीवनका ऊहापोहले लेखनमा आएको आरोह अवरोहबारे खुलासा गर्दै एकजना नेताले मुक्तछन्दका कविता त आफूले एक रातमा पच्चीसवटा लेख्न सक्ने भनेर हेपेपछि छन्द तथा बहरतिर आकर्षित भएको बताउनुभयो । सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल, पुस्तक प्रकाशन सङ्घ, बहुआयामिक साहित्यकार केशरी अम्गाई, गोपालकृष्ण अधिकारी लगायत प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सुसम्पन्न उक्त कार्यक्रममा रामहरि अधिकारी, गङ्गा खतिवडा, नवीन पल्लव, अप्सरा स्मृति, आल्फी फोहेन फाक्लुप्पा,जीत कार्की,माधव घिमिरे 'अटल', तेजेन्द्र प्रसाई, सञ्जय सोतीसहित डेढ दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए । गोङ्गबूँ स्थित महर्षि कलेजमा आयोजित सो कार्यक्रममा प्रतिष्ठानका सचिव नवीन पल्लवले सहजीकरण गरेको तथा सदस्य अप्सरा स्मृतिले अतिथिहरूलाई स्वागत गरेको सो कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष 'अटल'ले लोमश वाङ्मय प्रतिष्ठानले गर्दै आएका कामबारे सङ्क्षिप्तमा प्रकाश पारे । उनले कुनै पनि सार्वभौम राष्ट्रप्रमुखलाई बाजले चल्ला छोपेझैँ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएकाले यस्तो कुकृत्यको क्षमा याचना गर्दै बन्दी बनाइएका मादुरोलाई नि:सर्त रिहा गर्न माग गरे । यस्ता हरकत चाहे आन्तरिक हुन् वा अन्तर्राष्ट्रिय- यी सबैको विपक्षमा स्वतन्त्र साहित्यकार एकजुट हुन आग्रह गर्दै कार्यक्रमको समापन गरेका थिए ।

Comments