स्वामी आनन्द अरुणलाई माघ १० मा ‘शिखर अभिनन्दन’ गरिने


पुष २४, २०८२, बिहीबार | राति ०९:४५ बजे | 365


स्वामी आनन्द अरुणलाई माघ १० मा ‘शिखर अभिनन्दन’ गरिने

काठमाडौँ । ओशो तपोवनका सञ्चालक बोधिसत्त्व स्वामी आनन्द अरुणलाई शिखर अभिनन्दन प्रदान गरिने भएको छ । अध्यात्ममार्फत समाजमा चेतना, शान्ति र सकारात्मक मूल्य स्थापित गर्न दिनुभएको योगदानको कदरस्वरूप सूचक प्रकाशनले उहाँलाई आगामी माघ १० गते तपोवनमै गएर अभिनन्दन गर्न लागेको हो । वि.सं. २००१ असार ३ गते धनुषामा जन्मनुभएका स्वामी अरुणले पाँच दशकभन्दा बढी समयदेखि ओशोको दर्शनलाई नेपाली भूमिमा रोपेर हजारौँ साधकहरूको जीवनमा चेतनाको दीप प्रज्वलित गर्दै आउनुभएको छ । उहाँले स्थापना गर्नुभएको ओशो तपोवन आज सामाजिक रूपान्तरणको पवित्र तीर्थका रूपमा स्थापित भएको छ । अभिनन्दन समारोहलाई व्यवस्थित बनाउन समाजसेवी रामकुमार बानियाँ कौशिकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । संयोजक कौशिकले यो अभिनन्दनलाई केवल औपचारिक कार्यक्रम नभई समाजले विशिष्ट योगदान गर्ने व्यक्तिप्रति देखाउने सामूहिक श्रद्धा र कृतज्ञताको अवसरका रूपमा अघि बढाइने बताए । सूचक प्रकाशनले हरेक तीन वर्षमा कला, संस्कृति, साहित्य, समाजसेवा, स्वास्थ्य, शिक्षा र अध्यात्मजस्ता क्षेत्रमा योगदान गर्ने ७० वर्ष नाघेका व्यक्तिलाई शिखर अभिनन्दन अर्पण गर्दै आएको छ । यसअघि सत्यमोहन जोशी, माधवप्रसाद घिमिरे, डा. निरन्जन पौडेल, भद्रकुमारी घले, प्रा.डा. प्रकट पोख्रेल तथा समाजसेवी दम्पती केदारनाथ र लीलादेवी श्रेष्ठ सम्मानित भइसकेका छन् । सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) का अनुसार, `स्वामी आनन्द अरुणको जीवन, लेखन र मार्गदर्शनले समाजमा शान्ति, प्रेम र चेतनाको उज्यालो भरेको छ, त्यसैले उहाँ साँचिकै ज्ञान र चेतनाका नायक हुनुहुन्छ ।´शिखर अभिनन्दनलाई नेपाली साहित्य, संस्कृति र सामाजिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको जीवनकर्मप्रति उच्च सम्मान व्यक्त गर्ने प्रतिष्ठित अवसरका रूपमा लिइने गरिएको छ । साथै शिखर अभिनन्दनका क्रममा एक दर्जन कविहरुका रचना समेत प्रस्तुत गरिने भएको छ । रचना प्रस्तुतिका लागि प्रतिभा समन्वय समितिमा माइण्ड प्लसका प्रबन्ध निर्देशक नवीन पल्लव र प्रचारप्रसार समितिमा पत्रकार जयराम बिडारीलाई जिम्मेवारी दिइएको छ ।

Comments