सकियो मध्यपुर थिमि नगरसभाको १३ औँ बैठकः बजेट संशोधनदेखि पर्यटन बोर्ड गठनसम्म छलफल
पुष २४, २०८२, बिहीबार | साँझ ०५:३२ बजे | 200
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको १३ औँ नगर सभा बैठक विहीबार भएको छ । थिमि बैक्वट थिमि भक्तपुरको सभाहलमा दिउँसो १२ः३० बजेबाट सुरु भएको बैठकमा बजेट तथा कार्यक्रम संशोधन, आर्थिक ऐन संशोधन, पर्यटन बोर्ड गठनलगायत स्थानीय विकाससँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल भएको छ ।
नगर सभाको कार्यसूचीअनुसार बैठकको सुरुवात नगर सभा उपाध्यक्ष तथा सदस्यहरूको आगमनसँगै भएको थियो । विहान ८ बजे राखिए पनि कार्यक्रम भने १० बजे मात्रै सुरु हुन पाएको थियो । त्यसपछि नगर प्रमुखको औपचारिक प्रवेश, राष्ट्रिय गान, नगर प्रमुखद्वारा स्वागत मन्तव्य तथा कार्यसूची प्रस्तुत गरिएको थियो ।
बैठकमा आर्थिक ऐन २०८२ संशोधन, विनियोजन ऐन २०८२ संशोधन, मध्यपुर थिमि पर्यटन बोर्ड गठन तथा सञ्चालन सम्बन्धी ऐन २०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, तथा मध्यपुर थिमी नगरपालिका सहकारी दोस्रो संशोधन ऐन २०८२ माथि छलफल गरी निर्णय लिने कार्यसूची थियो । यसैगरी, घर नक्सा पास सम्बन्धी व्यवस्था, जग्गा एकीकरण, तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको म्याद थप जस्ता विषय पनि नगर सभामा प्रस्तुत भएका थिए ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ का कार्यक्रम तथा बजेटको हालसम्मको प्रगति विवरण पनि नगर सभामा प्रस्तुत गरिएको थियो । सो अवसरमा नगर सभा सदस्यहरूले आफ्ना सुझाव तथा धारणा राखेका थिए । स्थानीय विकास, वित्तीय अनुशासन, सहकारी क्षेत्रको सुधार तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै नगरपालिकाले ऐन संशोधन तथा नयाँ संरचना निर्माण गर्न लागेको नगरपालिकाको भनाइ छ ।
