समाजसेवी शैलेन डंगोलद्वारा टोखाका पत्रकारलाई पोशाक सहयोग
पुष २३, २०८२, बुधबार | राति ०९:२० बजे | 115
काठमाडौँ, २३ पुस । समाजसेवी तथा जेएम–३० ग्रुपका अध्यक्ष शैलेन डंगोलले टोखा क्षेत्रमा क्रियाशील स्थानीय पत्रकारहरूलाई सहयोग प्रदान गर्नुभएको छ । सत्य, तथ्य र जिम्मेवार सूचना समाजसम्म पुर्याउँदै आएका सञ्चारकर्मीहरूको हौसला बढाउने उद्देश्यले उहाँले पोशाक वितरण गर्नुभएको हो । सामाखुसीस्थित जनकुरा डट कमको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच डंगोलले टोखालाईभ डट कम र जनकुरा डट कममा कार्यरत पत्रकारहरूलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डंगोलले पत्रकारहरू समाजका अभिन्न अङ्ग भएको र उनीहरूले खेल्ने भूमिका अमूल्य रहने बताउनुभयो । उहाँले आगामी दिनमा पनि सञ्चार क्षेत्रलाई आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका नेता कुलचन्द्र अधिकारी, नेपाली कांग्रेस टोखा वडा नं. २ का एकाइ सभापति हेराकाजी महर्जन डंगोललगायत जेएम–३० ग्रुपका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । स्थानीय तहमा रहेर पत्रकारिता गर्नेहरूलाई प्रोत्साहन गर्दा समाजमा जिम्मेवार सूचना प्रवाह थप मजबुत हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।
