भक्तपुर पत्रकार महासंघको स्थापना दिवसः सञ्चारमन्त्रीले नै पत्रकारको आलोचना गरेपछि...
पुष २३, २०८२, बुधबार | दिउँसो ०३:५९ बजे | 335
सागर गुरागाईं
मध्यपुर थिमि – सुचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले सञ्चारकर्मीहरुले सत्यतथ्य र निष्पक्ष समाचारमा जोड दिएर वर्तमान समयमा मतदाता शिक्षा सम्बन्धी जनतालाई सचेत र जागरुक गराउनु पर्ने बताउनु भएको छ । सञ्चारमन्त्री खरेलले नेपाल पत्रकार महासंघ भक्तपुरको २९ औं स्थापना दिवस एवं पत्रकार सम्मान कार्यक्रमलाई संबोधन गर्दै उक्त विचार व्यक्त गर्नुभएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मन्त्री खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि मतदाताहरुलाई जागरुक बनाउने मतदाता शिक्षामा जोड दिदैं स्वतन्त्र, निष्पक्ष र व्यवसायिक पत्रकारिताका लागि सबै सञ्चारकर्मीहरुसँग आग्रह गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका संस्कृति मन्त्री सुरेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उमिद बागचन, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सञ्चारकर्मीहरु टेनिश रोक्का, शोभा अर्याल, रामहरि कार्की, अग्रज पत्रकार कविर राणा, नारायण सुन्दर किलम्बु, सम्मानित पत्रकार पेशल आचार्य लगायतले पत्रकार महासंघ भक्तपुरको २९ वर्षे इतिहास, गतिविधि, विद्यमान समस्या र समाधानका उपाय सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वर्गीय भगवान महर्जन र राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कार बाट अग्रज पत्रकार पेशल आचार्यलाई नगद रु.१५ हजार सहित सम्मानित गरियो । त्यसैगरि स्वर्गीय मैंया देवी शिल्पकार स्मृति पुरस्कारबाट सञ्चारकर्मीहरु लिला श्रेष्ठ र विनोद कोजुलाई जनही नगद २ हजार ५ सय सहित सम्मान गरियो । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले महासंघ भक्तपुरको वार्षिक गतिविधि बुदाँगत रुपमा जानकारी दिदैं सबै सञ्चारकर्मीहरुको पेशा मर्यादित र सुरक्षित बनाउनु महासंघ भक्तपुर प्रतिबद्ध रहेको बताउनु भयो । महासंघ भक्तपुरका सहसचिव हरिसुन्दर छुँकाले संचालन गर्नुभएको कार्यक्रममा महासंघका उपाध्यक्षद्धव नविना खर्बुजा र हेमराज ढकालले महासंघको गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । स्थानीय शंखधर बैंक्वेटमा भएको उक्त कार्यक्रममा पत्रकार आचारसंहिता एवं समाचारको सत्यता र विश्वसनीय आधार तयार गर्न सञ्चारकर्मीहरुले समाचारको स्रोत खुलाउने पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
