फूलका फिलिङ्गामा कवि इन्दुल
पुष २३, २०८२, बुधबार | दिउँसो ०२:४२ बजे | 160
विष्णु ओली
झापा, मेची अञ्चल
यो इन्दुलको हालै प्रकाशित कविता संग्रह को नाम हो ।
चौरासी वसन्त पार भइसकेका इन्दुलमा अहिले पनि बाल सुलभता यौवनको चञ्चलता र बुढौलिको ज्ञानको भण्डार पाइन्छ । कुनै पनि कुरालाई सकारात्मक दृष्टिले हेर्ने उहाँको वानी रहेको छ । उहाँ सबैलाई केहि गरौ त्यसै नवसौ भनेर घचघच्याई रहनु हुन्छ । त्यसैको प्राप्ती माथि उल्लिखित कविता संग्रह हामीले पाएका छौ ।
फूलमा पनि फिलिङगा देख्छन् इन्दुल
पवित्र मनले वाग्मती लाई गङगा देख्छन् इन्दुल
हो उनि पिर व्यथाको जीवन भुलेर
व्रह्माण्डलाई नै उडने चङ्गा देख्छन् इन्दुल ।
हो उनी पनि चरा झै कविता, संगीत भजन पत्रकारिता संस्कृति विविध क्षेत्रमा सक्रियताका साथ उडन लागिपरेका छन् । भक्तपुरमा उहाले कला संस्कृतिका लागि धेरै कार्यहरू गर्नु भएको छ । कानूनका ज्ञाता इन्दुल वरिष्ठ प्रशासक पनि हुन । शान्त परोपकारी स्वभावका इन्दुल अत्यन्त मिलनसार छन् ।
प्रा. डा. कृष्णप्रसाद दाहालको भनाइमा यिनी श्रीखण्ड हुन चनौटोमा नघोटेसम्म यिनको व्यक्तित्वको सुवास थाहा पाउन सकिन्न । हो बहुआयामिक व्यक्तित्वका धनि डा इन्दुलको फूलका फिलिङ्गा प्रकाशित भएर पुस्तक प्राप्त हुनासाथ उहाँले मलाई बोलाएर तपाईलाई उपहार भन्दै पुस्तक दिनुभयो ।
प्रस्तुत पुस्तकमा एउटा अंग्रेजी एउटा नेवारी र निर्गुण भजन सहित ३० वटा कविता रहेका छन् । विविध विषयका धेरै पुस्तक लेखिसकेका डा इन्दुल प्रस्तुत संग्रहमा पनि जे देख्छन् त्यही लेख्छन् । सच्चा कवि त्यही हो जसले समाजलाई सत्य कुराको जानकारी गराउँछ नकि चाकरी गर्छ । उनका कविताका केही पंक्तिहरू ः
पत्रपत्रिकामा समाचारको वर्षा हुन्छ
कार्यविधि र मापदण्डको पर्खाल भत्कन्छ
तक्मा र विभूषणको गरिमा धूलिसात हुन्छ
हो उनले यर्थाथ झल्काएका छन् । याहा राम्राले हैन हाम्राले तक्मा विभूषण पुरष्कार प्राप्त गर्दछन् राम्राको कुनै कदर छैन भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्
त्यस्तै उनी लेख्छन्
नेपाली हरूको यो देशमा के छैन सवथोक छ
अनैतिक अत्याचार व्यभिचार सर्वत्र व्यापक छ
भनेर वर्तमानप्रति असन्तुष्टि पोखेका छन् ।
झिना मसिना अरुका नजर नपर्ने विषयवस्तुलाई टप्पक टिपेर फूलका माला बनाउन खप्पिस इन्दुल केसी वर्तमान समयमा धनी वाउका छोराछोरीहरूले समाजमा देखाएका चरित्रहरूको राम्रो चित्रण गरेका छन् । यसले वर्तमान समयमा भ्रष्टाचार गरी वाउआमाले कमाएको सम्पति छोराछोरीले कसरी उडाउछन् र इजी मनीका कारण कसरि युवा पुस्ता अनावश्यक कुलतमा लागेर समय शरिर स्वास्थ सबै वर्वाद गरिरहेका छन् भन्ने जानकारी गराउछ । यसरी उनले भ्रष्टाचार गरी अकुत धनसम्पति आर्जेका नवधनाढ्यहरूका वारेमा यसरी व्यङ्ग्य पस्केका छन् ।
कोही आफ्ना बैभव घर वंगला निजी घर प्रर्दशनमा
कोही आफ्नो अकुत कालोधन जुटाउन र लुकाउनमा
भन्दै कविले समाजमा मौलायको भ्रष्टाचारको जरामा प्रहार गरेका छन् । मानिस कतिसम्म भ्रष्ट र अनैतिक बनेको छ भन्ने कुरा हालै घटेका घटनावाट थाहा पाउन सकिन्छ । घरभित्र लुकाएर राखेको अरबौ अरबको सम्पति आज जलेर खरानी भएको छ । कवि त्यही भएर मान्छेलाई नविन चेतना दिन चाहन्छन् । यदि मान्छे इमान्दार भए कालोधन लुकाउन र जोगाउने चिन्ता मा परिरहन नपर्ने बताउँछन् । सादा जीवन उच्च विचारलाई आफ्नो मूलमन्त्र ठान्ने कवि इन्दुल आफैमा अत्यन्त सरल र सहयोगी मनकारी रहेका छन् ।
उनले समाजमा देखिएका विसंगति लाई उजागर गरेका छन् । कोही सधै कमाउन धन्धामा रहेका छन् भने कोही एउटा जावो पेटपाल्न देहव्यापारमा संलग्न हुनुपरेको विडम्बनापूर्ण यथार्थलाई प्रकट गर्छन् कमसल वस्तुपनि आकर्षक प्याकिङ गरेर विकाउन सकिन्छ भन्ने मान्यता लाई आत्मसात गर्दै बोल्नेको पिठो विक्छ नबोल्नेको चामल पनि विक्दैन भन्ने उखानलाई दर्शाउन पछि परेका छैनन् । कवि इन्दुलका पुर्खा मिथिलावासी हुन् तरपछि पुर्खाहरू भक्तपुर आई बसोवास गरेकाले उनी स्थानीय रैथाने भएका छन् र स्थानीय भाषामा पनि राम्रो दखल रहेको छ त्यहि भएर प्रस्तुत संग्रहमा एउटा नेवारी र एउटा अंग्रेजी कविताको पनि आयोजन गरेका छन् । यी दुवै कवितामा कवि व्यङ्ग्यात्मक शैलिमा प्रस्तुत भएका छन् ।
त्यस्तै आज समाज अत्यन्त व्यावसायिक बन्दै गएको छ, जहा कसैले कसैको कदर गर्दैनन् । कवि लेखकहरू मेहनत गर्छन् पुस्तक प्रकाशित गर्छन् तर पढ़ने पाठक छैनन् । किताव विक्री हुदैन । निःशुल्क प्राप्त भएका पुस्तकहरू पनि पाठकहरूले पढदैनन् । तसर्थ सृजनाहरू लोप हुने अवस्थामा पुगेको र कवि लेखकहरू के लेख्ने किन लेख्ने भन्ने अवस्था सृजना भएको दुखेसो पनि व्यक्त गर्छन् । यसरी प्रस्तुत कविता संग्रह सामाजिक विकृति विसंगतीका वारेमा खरो प्रश्न उठाउँदै तपाईहाम्रो हातमा आइपुगेको छ उनी भन्छन् ः
अनाथ असहाय कोही कसैलाई अन्याय नहोस्
न्याय मन्दिरका न्याय मुर्तिहरू विवेकशील होउन
भनेर सुझाउनु हुन्छ ।
प्रा. डा.कृष्णप्रसाद दाहालको सम्पादनमा प्रस्तुत पुस्तक नेपाली साहित्य आकाशमा एउटा नवीनतम प्रयोगको रूपमा आएको छ । सन्तुलित आकारको प्रस्तुत पुस्तक एकै बसाइमा पढी सकिन्छ । यहाँ पुस्तकका बारेमा धेरै लेख्नुभन्दा पाठकहरूले पढेर आफ्ना विचार राख्नुहुने नै छ । धेरै के लेखांै, अझै अरु कृतिहरू पनि नेपाली साहित्य जगतले पाओस्, उहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
