विनयमुख भाग ३
पुष २२, २०८२, मङ्गलबार | साँझ ०५:१४ बजे | 130
विनयमुुख पुस्तक ३ भागमा प्रकाशित भएको पूरा वर्षदिनपछि मात्र आएर त्यसको भाग ३ को परिचय प्रस्तुत गर्ने जमर्को गर्न सकियो । कारण स्पष्ट छ, त्यो हो हामीहरूमा अधिकांश धर्मावलम्बीहरू वर्णव्यवस्थामा बाँधिएको धार्मिक समाजमा अभ्यस्त हुनु र दैनिकरूपले ईष्टदेवता वा भगवान्को पूजा अर्चना घरभित्र मात्र सीमित हुनु । खुल्ला समाजमा आचरण गरिने बाैद्ध धार्मिक परम्परासँग परिचित नहुनु । बुद्ध भगवानले त आफ्नो धर्म वा शिक्षाको प्रचारप्रसारको जिम्मा यसको चिन्तन, मनन र अभ्यास गरिबसेका वर्णरहित गृहत्यागी अर्थात् भिक्षुहरूको समूह वा संघलाई दिनुभएको थियो । भिक्षुसंघको अस्तित्व नेपालको अधिकांश भागमा हीन भइसकको थियो । अहिले देशका मध्यपहाडी भाग र तराईक्षेत्रमा देखिने भिक्षुसंघ भनेको हाम्रा हिमालीक्षेत्रबाट र विदेशबाट आएको प्रभाव हो । बुद्ध नेपालमा जन्मेको हो भन्नु बाहेक अधिकांश नेपालीहरू अझै बुद्धधर्मका सामाजिक व्यवहारमा अभ्यस्त हुन सकेका छैनन्। तिनकरोड नेपालीले दस -एघारहजारजति बाैद्ध त्यागीहरूको उपस्थितिमा चित्त बुझाउनु परिरहेको छ, जुन कि धेरै थोरै हो । अझ उनिहरूको समेत उचित व्यवस्थापन हुन सकिरहेको छैन । अहिले मैले चर्चा गर्न लागेको पुस्तक विनयमुख भाग ३ केही विद्वानहरूका साथै ती त्यागीहरूलाई शैक्षिक तथा धार्मिक व्यवस्थाको क्षेत्रमा नयाँ पाइला हो ।
लेखकले विनयमुख भाग १ को प्रस्तावनामा लेखेका छन् कि "हामी भिक्षुहरूको समाज वा संघ अरू अरू बलियो जातससमूह वा समुदायहरू जस्तो नै नियम, विनियम तथा चलनहरूद्वारा नियन्त्रित एउटा बलियो समाज हो ।" यस्तो हुनाले म नेपाली समाजमा एउटा अपरिचित समाजको व्यवस्थाका नियमहरू सम्बन्धमा लेख्नलागेको छु जुन कि सजिलो छैन ।
यस पुस्तकमा विशेष गरि बुजुर्ग वा नेतृत्व तहमा बसेका भिक्षुहरूले जान्नुपर्ने विषयहरू संकलित छन् । के के छन्, विषयसूचीबाट केही प्रस्तुत छ- संघकर्महरू, सीमा वा उपोसथागार मन्दिर निर्माणका नियमहरू, संघकाअधिकारीहरूको चयन विधि, कठिनचीवरदान विधि, प्रब्रज्या तथा उपसम्पदा दिने तरिकाको विकासक्रम, मुद्दाहरू सुल्झाउने तरिका, अभियोगहरूको अध्ययन र समाधान तरिकाहरू, आपत्ति (विनयगत दोष) मुक्तिका तरिकाहरू, दण्डविधान र विविध उल्लेख छन् । परिशिष्टमा उल्लिखित भिक्षुणीहरू शीर्षकमा पर्याप्त विवरण छ जुन कि पाठकलाई ज्ञानवर्धक छ र शंका समाधान हुन्छ । अझ अनुवादकहरूका टिप्पणीहरूले मूल लेखकमा रहेका केही कमीहरूलाई समेत पूरा गरिदिएको छ।
बाकी परिशिष्टमा भिक्षुहरूको संघकर्ममा आवश्यक कर्मवाचाका विधिवाक्यहरू रहेका छन् । यसले गर्दा यसका अध्येतालाई भिक्षुसंघको व्यवस्थासम्बन्धी सांगोपांग ज्ञान दिन्छ । यसरी भिक्षुसंघमा गरिने सबै थरिका क्रियाकलापका नियमहरूको ज्ञान यसको पाठकलाई हुन्छ, जसले बुद्धको ज्ञान निरन्तर समाजमा प्रचार भईरहन्छ । यो विनयमुख भाग ३ संकलनबाट प्राप्त पुण्यराशी लेखकले आफ्ना पूर्वाचार्यहरूलाई समर्पित गरिएको छ, जसले उनको आध्यात्मिक विश्वास प्रकट हुन्छ । रु. ४०० मूल्यको यो पुस्तक थोरै मात्र बाकी रहेको जानकारी मुनि विहारले दिएको छ। तसर्थ इच्छुकले आफ्नो प्रति शीघ्र सुरक्षित गर्नु उचित छ ।
