जोकर राजनीतिबाट राष्ट्रवादी विकल्पतर्फ : नेपालको समकालिन राजनिती


पुष २२, २०८२, मङ्गलबार | विहान ११:०७ बजे | 1055


जोकर राजनीतिबाट राष्ट्रवादी विकल्पतर्फ : नेपालको समकालिन राजनिती

नेपालको समकालीन राजनीतिमा पछिल्ला केही वर्ष यस्ता पात्र र प्रवृत्तिहरूले स्थान लिएका छन्, जसले राजनीतिक गम्भीरता भन्दा पनि ‘मिडिया शो’, भावनात्मक उक्साहट र क्षणिक लोकप्रियतालाई प्राथमिकता दिएका छन्। यो प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउने भन्दा पनि जनताको विवेकलाई अपमान गर्ने दिशातर्फ धकेलिरहेको स्पष्ट देखिन्छ। विशेषतः “म मात्र सही, जनता नै गलत” भन्ने अहंकारी मानसिकताले भरिएको भाष्यले आजको राजनीतिक संकटलाई अझ गहिरो बनाएको छ।

एक समय आशाको रूपमा प्रस्तुत गरिएका कतिपय नेताहरू आज आफैं आफ्ना शब्दका कैदी बनेका छन्। बजेट लेखन, नीति निर्माण वा राज्य संयन्त्रबारे जिम्मेवार ढंगले बोल्नुको सट्टा सार्वजनिक मञ्चलाई व्यङ्ग्य, आरोप–प्रत्यारोप र आत्मप्रशंसाको थलो बनाउँदा राजनीतिले ‘जोकर’ शैलीको झल्को दिन थालेको छ। यस्तो राजनीतिमा नीति होइन, पात्र हाबी हुन्छ; समाधान होइन, सनसनी बिक्छ।

इतिहास साक्षी छ—झुटको खेती एक पटक मात्र फल्छ। २०६४ सालको निर्वाचनले माओवादी आन्दोलनलाई जनसमर्थन दिएको थियो, तर त्यसपछिका वर्षहरूमा त्यही आन्दोलन आफ्नै विरोधाभास र सत्तालिप्साको कारण कमजोर बन्दै गयो। जनताले हरेक युगमा नयाँ आशालाई एक पटक विश्वास गर्छन्, तर जब त्यो आशा व्यवहारमा रूपान्तरण हुँदैन, तब विश्वास टुट्छ। आज देखिएको लोकप्रियतामुखी राजनीतिमा पनि यही नियम लागू हुन्छ।

मिडिया ट्रायलको अति प्रयोगले सत्यलाई उजागर गर्छ भन्ने भ्रम फैलाइएको छ, तर वास्तवमा यसले दुर्गन्ध मात्र फैलाउँछ। खाल्टोमा पुरिएको सडेको वस्तु जस्तै, बारम्बार उचाल्दा झन् गनाउँछ। जनताले त्यस्तो दुर्गन्धलाई अब स्वीकार गर्दैनन्। अन्तर्राष्ट्रिय अनुभवले पनि यही देखाउँछ—पपुलिस्ट नाराले सत्तामा पुगेका नेताहरू दीर्घकालीन नीति र संस्थागत सुधारमा असफल हुँदा छिट्टै पतन भएका छन्।

नेपालको भू–राजनीतिक अवस्थिति अत्यन्त संवेदनशील छ। दुई ठूला शक्तिहरूको बीचमा रहेको देशले भावनात्मक होइन, विवेकशील नेतृत्व खोजिरहेको छ। विदेशी घटनाक्रमले देखाएको छ कि राष्ट्रिय स्वाभिमान र दीर्घकालीन रणनीति बिना सत्तामा पुगेका सरकारहरू बाह्य दबाबका अगाडि कमजोर हुन्छन्। यही सन्दर्भमा, स्वदेशमै उच्च शिक्षा आर्जन गरेको, माटो चिनेको र नेपालको सामाजिक–सांस्कृतिक संरचना बुझ्ने नेतृत्वको आवश्यकता झन् बढेको छ।

आजको राजनीतिमा गठबन्धनहरू सिद्धान्तका लागि होइन, सिट र सत्ताका लागि बन्ने गरेका छन्। पद र पैसाको लोभले निर्देशित राजनीति गर्दा जनतासँगको नैतिक सम्बन्ध टुट्छ। गृह मन्त्रालयजस्तो संवेदनशील जिम्मेवारी सम्हाल्दा देखिएका व्यवहार र निर्णयहरूले यो सत्यलाई अझ उजागर गरिसकेका छन्। सहानुभूति त जनताले दिन सक्छन्, तर अब कुनै पनि नेताले अन्धसमर्थन पाउने समय सकिएको छ।

यस्तो अवस्थामा ‘नेतृत्व’को परिभाषा पुनःनिर्माण गर्न आवश्यक छ। नेता हुनु भनेको मञ्चमा चर्को स्वरमा बोल्नु होइन; संकटमा सही निर्णय लिन सक्ने क्षमता हो। नेता हुनु भनेको भीड उक्साउनु होइन; संस्थाहरू मजबुत बनाउनु हो। यही दृष्टिले हेर्दा, वर्तमान व्यवस्थाभित्र रहेर पनि व्यवस्थालाई सुधार्ने साहस, दूरदृष्टि र नैतिक बल भएको नेतृत्व मात्र देशका लागि कर्मठ हुन सक्छ।

राष्ट्रवादी सोच भनेको संकीर्ण नारा होइन, राष्ट्रिय हितलाई दीर्घकालीन रूपमा सुरक्षित गर्ने रणनीति हो। नेपालवादको भिजन भनेको बहुलता, समावेशिता र स्वाधीनतालाई एकसाथ अघि बढाउने मार्ग हो। यस भिजनलाई व्यवहारमा उतार्न विदेशी उदाहरणहरूबाट सिक्दै, तर अन्धनक्कल नगरी, आफ्नै सन्दर्भअनुसार नीति निर्माण गर्नुपर्छ।

अन्तत ,जनताले अब इतिहासको पाठ बुझेका छन्। हरेक युगमा एक पटक मात्र भ्रम बिक्छ। आजको नेपालले जोकर राजनीतिबाट बाहिर निस्केर गम्भीर, शिक्षित र राष्ट्रप्रेमी नेतृत्वतर्फ उन्मुख हुनुपर्ने मोडमा उभिएको छ। यही मोडमा सही निर्णय गर्न सके मात्र, लोकतन्त्रको यात्रा पुन अर्थपूर्ण बन्न सक्छ।

 

Comments