श्रीमान–श्रीमतीको सम्बन्धको मूल आधारशिला संवाद


पुष २१, २०८२, सोमबार | साँझ ०५:०० बजे | 1170


श्रीमान–श्रीमतीको सम्बन्धको मूल आधारशिला संवाद

कविता न्यौपाने महत

श्रीमान–श्रीमतीको सम्बन्धको मूल आधारशिला संवाद हो। जग बलियो भयो भने घर बलियो हुन्छ भनेझैँ, आपसी सम्बन्ध प्रगाढ रहन खुला मनले गरिएको संवाद अत्यन्त आवश्यक हुन्छ। इमान्दारीपूर्वक गरिएका योजना, भावना र अपेक्षाको स्पष्ट अभिव्यक्तिले दाम्पत्य जीवनलाई सुखमय र सफल बनाउँछ। जहाँ खुलेर बोलिन्छ, त्यहाँ गलतफहमी टिक्न सक्दैन। जसले खुला र इमान्दार जीवनशैली अपनाउँछ, त्यही परिवारको दाम्पत्य जीवन मजबुत हुन्छ।

भावना र हृदयबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। मनका कुरा एक–अर्कासँग बाँड्नु, दुःख–सुख साट्नु र भावना दबाएर नराख्नु स्वस्थ दाम्पत्य जीवनको पहिलो सर्त हो। सम्बन्धमा सम्मानको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। श्रीमान–श्रीमतीबीच सबैभन्दा पहिले आत्मीयता र विश्वास हुनुपर्छ, किनकि विश्वास बिना माया अर्थहीन हुन्छ। विश्वास नै त्यस्तो आधार हो जसले सम्बन्धलाई आँधी–हुरीमा पनि ढल्न दिँदैन।

जीवनमा आर्थिक समस्या, पारिवारिक दबाब, स्वास्थ्य समस्या र सामाजिक चुनौतीहरू आउन सक्छन्। यस्ता कठिन घडीमा एक–अर्काको हात समातेर अघि बढ्नु नै साँचो सम्बन्धको परीक्षा हो। सुखमा मात्र होइन, दुःखमा पनि साथ दिन सक्नु, दबाबमा परेको बेला “हामी सँगै छौँ” भन्ने भरोसा दिलाउनु दाम्पत्य जीवनको वास्तविक सुन्दरता हो। समस्या भाग्यको अभिशाप होइन, भविष्यको चुनौती हो—सामना गरेपछि नै सफलता मिल्छ भन्ने हौसला दिनु दुवै दाम्पतीको कर्तव्य हो।

श्रीमान–श्रीमतीको सम्बन्ध कुनै प्रतिस्पर्धा होइन, यो त सहकार्य हो। यहाँ हार–जितको होइन, समझदारी, माफी र मायाको मूल्य हुन्छ। यही सम्बन्धले समाजमा पहिचान दिन्छ र आत्मीय रूपमा जीवनलाई अर्थपूर्ण बनाउँछ। विश्वास, सम्मान र सहकार्यमा आधारित दाम्पत्य जीवन नै मानव जीवनको सबैभन्दा सुन्दर अध्याय हो। 

लेखक कविता न्यौपाने महत अग्रेजी विषयमा MA त्रि.वि. Richhills International Consultancy Pvt. Ltd (CEO)

Comments